महाकालीको जोखिमसँग जुध्दै अनुकूलनको अभ्यासमा कुतियाकवरवासी
कैलाली : महाकाली नदीबाट झन्डै ५०–६० मिटरको दूरीमा छ सुक्मादेवी सुनारको घर। बर्खाका दिनमा नदीको बहावसँगै सुक्मादेवीको धड्कन पनि बढ्छ। जति पानी पर्छ, मनमा उति नै चिन्ता थपिन्छ। वर्षौंदेखि नदी किनारको जोखिम झेल्दै आएकी सुक्मा अहिले बदलिँदो परिस्थितिअनुसार आफ्नो घरपरिवारलाई सुरक्षित राख्ने उपाय खोजिरहेकी छन्।
बाढीको त्रास सुक्मादेवीका लागि नयाँ होइन। नदीमा पानीको सतह बढ्न थालेपछि घरमा भएका सामान र खानेकुरा तयार पारेर सुरक्षित आश्रयस्थलतर्फ जाने तयारी गर्नुपर्छ। घरमा बालबालिका भएकाले बाढी आइहाले उनीहरूलाई कसरी जोगाउने भन्ने चिन्ताले उनलाई सधैं सताउँछ।
बाढीले खेतीयोग्य जमिन बगाएपछि परिवारको खानपानका लागि अन्न किनेर खानुपर्ने अवस्था छ। ‘भएको जमिन नदीले बगाइसक्यो। अन्न उत्पादन नहुँदा किनेरै खानुपर्छ,’ सुक्मा भन्छिन्। घरमै रहेको सानो पसल र परिवारका सदस्यको कमाइबाट गुजारा चलाइरहेकी उनी नदीको जोखिमसँगै जीवन चलाउने उपाय खोजिरहेकी छन्।
दोधारा चाँदनी नगरपालिका–१० मा पर्ने कुतियाकवरका सबै बासिन्दाको दैनिकी उस्तै छ। महाकाली र जोगबुढा नदीको दोभानमा रहेको यो बस्ती वर्षायाममा बाढी र नदी कटानको जोखिममा पर्छ। भारतीय बस्तीसमेत रहेको कुतियाकवरको नेपालतर्फ करिब २० बिघा क्षेत्रफल छ। चारैतिर नदी र भारतीय सीमाले घेरिएको बस्तीका बासिन्दा जोखिमसँग जुध्दै सुरक्षित रहने र जीविकोपार्जन गर्ने अभ्यासमा छन्।
स्थानीय खड्के बुढाका अनुसार विसं २०२२ तिरदेखि बसोबास सुरु भएको कुतियाकवरमा कुनै समय करिब २४० परिवारसम्म थिए। नदीले बस्ती र खेतीयोग्य जमिन कटान गर्दै लगेपछि धेरै परिवार विस्थापित भएका छन्। अहिले कुतियाकवरमा करिब ४२ घरपरिवार मात्रै रहेको उनले जानकारी दिए। घरजग्गा गुमाएका कतिपय परिवार भारततर्फ गएका छन्।
खड्के बुढा २०३९ सालदेखि कुतियाकवरमा बस्दै आएका छन्। ५६ वर्षीय उनको घर बाढीले तीन पटकसम्म बगाएको छ। अहिले उनी अरूको जमिनमा आश्रय लिएर बसेका छन्। नदीले घर मात्रै होइन, खेती गरेर जीविका चलाउने आधारसमेत खोसेको उनी बताउँछन्। ‘पहिले खेतीका लागि जमिन धेरै थियो, अहिले नदीले कटान गर्दै लग्यो,’ उनले भने। कुनै बेला घर भएको उनको जमिन अहिले महाकालीको मध्यभागमा पर्छ।
बुढाका अनुसार बाढीले खेतमा पहिले हिलो र पाँगो माटो थुपार्दा खेतीलाई केही फाइदा हुन्थ्यो। अहिले भने बालुवा थुप्रिने र जमिन बगरमा परिणत हुने समस्या छ। थोरै पानी पर्दासमेत डुबानको चिन्ता हुने गरेको स्थानीय बताउँछन्।
२०७४ मा जोगबुढा नदीमा झोलुंगे पुल बनेपछि मात्रै यो बस्ती नेपालसँग औपचारिक रूपमा जोडियो। त्यसअघि नदी पार गर्न ढुंगाको सहारा लिनुपर्ने बाध्यता थियो। तर पुल बने पनि खेतीका लागि आवश्यक ट्याक्टर तथा अन्य सवारीसाधन ल्याउन र उत्पादन बजारसम्म पुर्याउन अझै कठिनाइ छ। विद्यालय र स्वास्थ्य सेवा लिन पनि बस्तीका बासिन्दाले समस्या भोगिरहेका छन्।
कुतियाकवरमा बाढीले धानखेतीमा क्षति पुर्याउन थालेपछि स्थानीयले परम्परागत कृषि प्रणाली नै परिवर्तन गरेका छन्। कुतियाकवर परबल खेतीका लागि पनि प्रख्यात छ। तर पछिल्लो समय भारतीय बजारमा परबल बेच्न नपाउँदा खेती खुम्चिएको स्थानीय बताउँछन्। यहाँका किसान अहिले बेसार खेतीतर्फ आकर्षित भएका छन्। धान बाढीमा डुब्ने र बग्ने जोखिम बढी हुने भएकाले तुलनात्मक रूपमा कम क्षति हुने बाली रोज्नुपरेको स्थानीय किसानहरू बताउँछन्।
स्थानीय देवशरा सुनार तीन वर्षदेखि बेसार खेती गर्दैछिन्। अहिले उनले करिब डेढ बिघाभन्दा बढी जमिनमा बेसार लगाएकी छन्। उनका अनुसार बेसार खेतीमा लागत तुलनात्मक रूपमा कम लाग्छ। बालुवा भएको जमिन र चिस्यानयुक्त माटोमा पनि उत्पादन गर्न सकिन्छ।
छाडा पशुचौपायाले समेत बेसार नखाने भएकाले पनि किसानलाई केही सहज भएको छ। बाढीको जोखिमबीच बेसारलाई किसानले आम्दानीको आधार बनाउन थालेका छन्। ‘पछिल्ला वर्ष आम्दानीको आधार बेसार खेती नै भएको छ। पोहोर साल मात्रै मैले १०० क्विन्टल बेसार बेचेँ,’ देवशराले सुनाइन्। कुतियाकवरका प्रायः सबै बासिन्दाले बेसार खेती थालेका छन्।
बाढीबाट बच्न खेतीको विकल्प खोजेर मात्रै स्थानीयको समस्या समाधान भएन। बेसार उत्पादन भए पनि बजारसम्म पुर्याउन चुनौती छ। पहिले भारतीय बजारमा बेसार बेच्दै आएका किसान अहिले त्यहाँ बिक्री गर्न नपाउँदा समस्यामा परेका छन्।
नेपालतर्फ यातायातको व्यवस्था नहुँदा उत्पादन बजारसम्म पुर्याउन कठिन छ। ‘पहिले भारतमा बेच्थ्यौँ, अहिले बजारको समस्या छ,’ खड्के बुढा भन्छन्, ‘नेपाली बजारमा पुर्याउन मोटर बाटो छैन।’ उनका अनुसार बेसार बिक्रीको सुनिश्चितता नहुँदा किसानलाई आम्दानीको भरपर्दो आधार बनाउन कठिन भइरहेको छ।
अहिले कुतियाकवरमा कृषि ज्ञान केन्द्र कञ्चनपुर, गैरसरकारी संस्था परस्पर ग्लोबल र एनएनएसडब्ल्यूको सीआरसी परियोजनाको अनुदान तथा किसानको आफ्नै प्रयासमा करिब १५ बिघा क्षेत्रफलमा बेसार खेती गरिएको छ। यसबाहेक परबल खेती पनि ५ बिघामा गरिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ।
केन्द्रका प्रमुख हरिप्रसाद पनेरु व्यावसायिक बेसार खेती गर्न थाले पनि किसानलाई बजारको मुख्य समस्या भएको स्वीकार्छन्। ‘कुतियाकवरको उत्पादनका लागि अनौपचारिक बजार भारत नै हो। नेपालतर्फ ल्याउन मोटरबाटो नभएकाले चुनौती छ,’ पनेरु भन्छन्, ‘त्यहाँको उत्पादनलाई नेपाली बजारसँग जोड्न पुल आवश्यक छ।’
यद्यपि नेपाली बजारमा प्रबल र बेसार नआउने होइनन्। तर बाटो नहुँदा बोकेर पारि लैजानुपर्ने बाध्यताका कारण सानो परिमाण मात्रै जाने स्थानीय बताउँछन्। कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार कुतियाकवरमा वार्षिक रूपमा बेसार ५० देखि ६० मेट्रिक टन उत्पादन हुन्छ। यस्तै, परबल पनि ४ देखि ५ मेट्रिक टन उत्पादन हुने तथ्यांक छ।
यता, दोधारा चाँदनी नगरपालिकाका मेयर किशोरकुमार लिम्बू कुतियाकवरका किसानलाई बेसारलगायत स्थानीय उत्पादन बजारसम्म पुर्याउन सहजीकरण गर्ने बताउँछन्। बाटोको समस्याका कारण कृषि उपज ढुवानीमा कठिनाइ भइरहेको भन्दै मेयरले किसानले सवारीसाधनको विवरण उपलब्ध गराए भारततर्फ लैजाँदा सीमा क्षेत्रमा समन्वय गरिने बताए। साथै, कृषि एम्बुलेन्स र बन्द रहेको मसला उद्योग पुनः सञ्चालनका लागि बजेट व्यवस्था गरिएको लिम्बू बताउँछन्। उद्योग सञ्चालनमा आए स्थानीयस्तरमै बेसार प्रशोधन र बजारीकरणमा सहयोग पुग्ने उनको भनाइ छ।
कुतियाकवरमा खेती जोगाउने प्रयाससँगै बाढीको पूर्वतयारीलाई पनि स्थानीयले अनुकूलनको उपाय बनाएका छन्। बस्तीमा पूर्वसूचना दिने साइरनको व्यवस्था छ। नदीको अवस्था बुझ्न स्थानीयलाई सम्पर्क नम्बर दिइएको छ।
पानीको सतह बढ्न थालेको सूचना पाएपछि वा साइरन बजेपछि उनीहरू आवश्यक सामान तयार पारेर सेफ हाउसतर्फ जाने तयारी गर्छन्। बस्तीमा नेपाली सेना, स्थानीय सरकार र गैरसरकारी संस्थाको साझेदारीमा दुईवटा सुरक्षित आश्रयस्थल बनाइएको दोधारा चाँदनीका विपद् फोकल पर्सन अमृत बिक बताउँछन्।
उनका अनुसार बाढीको जोखिम बढ्दा सुरक्षित ठाउँमा जान स्थानीयलाई साइरन, फोन, मेसेन्जर र ह्वाट्सएप ग्रुपमार्फत पूर्वसूचना दिइन्छ। आश्रयस्थलमा पनि राहत सामग्री तयारी अवस्थामा राखिने गरेको छ।
स्थानीय विपद् व्यवस्थापन समितिको पूर्वसूचना कार्यदलकी सदस्य कल्पना सुनार पनि बाढीको सूचनाप्रति बालबालिकासमेत सचेत रहेको बताउँछिन्। उनका अनुसार साइरन बज्नासाथ बालबालिका, ज्येष्ठ नागरिक र वयस्क सबै सेफ हाउसमा आश्रय लिन्छन्। तर सुरक्षित आश्रयस्थल र पूर्वसूचना प्रणालीले बाढीबाट हुने सबै क्षति रोक्न सक्दैन। घरका सामान कहाँ राख्ने, पशुचौपायालाई कसरी जोगाउने र खेती डुबानमा परे परिवारको जीविका कसरी चलाउने भन्ने समस्या कायमै छ। तर पनि महाकाली र जोगबुढाको जोखिमबीच कुतियाकवरका बासिन्दाले आफूलाई जोगाउने र जीवन चलाउने विभिन्न उपाय अपनाइरहेका छन्।







तपाईको प्रतिक्रिया