प्रहरीका प्रवक्तालाई प्रश्न : सांसद सुनारको भनिएको अडियोमाथि अनुसन्धान हुन्छ कि हुँदैन ?
काठमाडौं : एक महिलासँगको अश्लील र आपत्तिजनक अडियो बाहिरिएपछि रास्वपा सांसद खगेन्द्र सुनार विवादमा तानिएका छन् । त्यो अडियोमा उनकै आवाज रहेको दाबी गरिए पनि यसको पुष्टि भइसकेको छैन। यही विषयमा सत्तारुढ रास्वपाले आन्तरिक छानबिन सुरु गरिसकेको छ।
प्रहरीले भने यो घटनालाई कसरी लिएको छ? कान्तिपुरका किरण पौडेलले नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेसँग गरेको संक्षिप्त कुराकानी :
सामाजिक सञ्जालमा भइरल भइरहेको रास्वपाका एक सांसदको आवाज भनिएको अडियोलाई प्रहरीले कसरी हेरिरहेको छ ?
प्रहरीले आफ्नो संगठनभित्र भएका कानुनी दायराभित्र रहेर र कानुन बमोजिम अध्ययन गर्ने र हेर्ने काम गरिरहेको छ । उक्त अडियोमा विभिन्न गालीजन्य विषयवस्तु र नेपालको कानुनले अपराध भनेका क्रियाकलापका विषयलाई लिएर पनि धाकधम्की दिएको जस्तो पनि सुनिन्छ ।
उक्त विषयलाई नेपाल प्रहरीले अनुसन्धानको दायरमा ल्याएको छ sl छैन ?
यस्तो विषयमा पीडितले न्यायको माग गर्नुपर्छ । पीडितले कानुनबमोजिम प्रहरी कार्यालयमा उजुरी वा गुनासो गरेको हुनुपर्छ । हालसम्म कहि कतै प्रहरी युनिटमा उजुरी गरेको अवस्था नभएकोले हामी यसलाई बुझ्ने काम मात्रै गर्दैछौं ।
विगतमा विभिन्न घटनाहरूको सामाजिक सञ्जालमा सम्प्रेषित विषयलाई लिएर पनि प्रहरीले मुद्दाको प्रक्रियामा अनुसन्धान अगाडि बढाउने गरेको थियो । अहिले यस घटनमा त्यो किन आकर्षित नभएको होला ?
प्रहरीले आफ्नो हिसाबले आफ्ना संयन्त्र र टिमहरूको परिचालन गरी कानुनबमोजिम यस्ता निगरानी सुक्ष्म ढंगबाट विगतदेखि नै गर्दै आएको छ । र, अहिले पनि यो विषयमा बुझ्ने काम भइरहेको छ ।
विगतमा ट्राफिक नियम उल्लंघनका र धाकधम्कीका घटनामा टिप्पणी उठाएर प्रहरी आफैं इनिसियसन लिएर अघि बढेका घटना पनि छन् । यसमा किन त्यसो नगरेको होला ?
यसमा पनि प्रहरीले इनिसियसन लिएर गर्नुपर्ने काम गरिररहेको छ । तर यस्तो विषयमा पीडित पक्षबाट पीडित व्यक्ति न्याय माग्न कानुनबमोजिम प्रहरी कार्यालयहरूमा उजुरी लिएर आएपछि थप अनुसन्धान र प्रहरी सक्रियताका विषय आउँछन् । अहिले हामीले आफ्नो हिसाबले अध्ययन गरिरहेको छ । बुझिरहेका छौं, बुझ्ने काम गरिरहेको छ ।






तपाईको प्रतिक्रिया