उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

आइतबार कार्तिक २, २०८३/ Sunday 10-18-26
Paschim Today

डडेल्धुराः महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मेला लागेको छ। डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा उत्तरतर्फ रहेको मन्दिरमा अष्टमी मेला भर्न दर्शनार्थीको घुइँचो लागेको छ।

उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार अष्टमी मेलासँगै राँगा र बोकाको बलि दिई पूजाआजा गरिन्छ। दसैँको दिन पनि भव्य पूजाआजा गरिन्छ। मेलामा सुदूरपश्चिमका नौ वटै जिल्ला तथा अन्य क्षेत्रबाट धार्मिक भक्तजन पुग्ने गरेको उनको भनाइ छ।

यो मन्दिरलाई नेपालको सूदूरपश्चिमका नौ भगवतीका मन्दिरहरूमा एक मन्दिर मानिन्छ। किंवदन्तीअनुसार करिब दुई हजार ५०० वर्षपहिले हालको अमरगढी नगरपालिका–८ लटाउली गाउँ बस्ने साँकी जातिका स्थानीयले बारीमा हलो जोत्दै गर्दा हलोको फाली लागेर शिलाबाट रगत बगेपछि देवी उत्पन्न भएर दर्शन मिलेको थियो। 

त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको छ। तिनै लटाउली गाउँका साँकी र भट्ट जातिका पण्डित अहिले पनि पुजारी रहनुभएको छ। उग्रतारा मन्दिर विशाल फाँटमा छ। डाँडामाथि मन्दिर अवस्थित रहेकाले मन्दिरसम्म पुग्न ओरालो झर्नु पर्दैन। यसकारण पनि मन्दिरको गरिमा बढेको अध्यक्ष साँकीको भनाइ छ। 

उग्रतारा भगवती मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाको दिन महापूजा तथा ठूलो मेला लाग्ने गर्दछ। कार्तिक शुक्ल पूर्णिमामा लाग्ने प्रसिद्ध मेला देइजातमा प्राचीनकालमा गर्खा, गर्खाबाट लडाकुहरुले आ–आफ्नो विरतासाथ लडाइँ हुँदा रगतको खोला बग्ने जसलाई यहाँ न्वाखोलाका रुपमा नामाकरण गरिएको छ।