ट्रम्पसँग ७९ प्रतिशत युवा असन्तुष्ट, ७० प्रतिशतको झुकाव डेमोक्रेटिक पार्टीतर्फ

शनिबार कार्तिक ८, २०८३/ Saturday 10-24-26
Paschim Today

वसिङ्टन । अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै जाँदा राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैलीप्रति युवा मतदाताको असन्तुष्टि बढेको देखिएको छ । ‘न्युयोर्क टाइम्स’ र ‘सिएना युनिभर्सिटी’को सर्वेक्षणअनुसार १८ देखि २९ वर्ष उमेर समूहका ७९ प्रतिशत युवा ट्रम्पको कार्यसम्पादनप्रति असन्तुष्ट छन् ।

७० प्रतिशत युवा आफूलाई डेमोक्रेटिक पार्टीको समर्थक मान्छन् वा उक्त पार्टीतर्फ झुकाव राख्छन् । अर्थतन्त्रको अवस्था र बढ्दो महँगी युवाको असन्तुष्टिका प्रमुख कारणका रूपमा देखिएका छन् । अमेरिकी युवा मतदाता राष्ट्रपति ट्रम्प र उनको रिपब्लिकन पार्टीबाट टाढिँदै डेमोक्रेटिक पार्टीतर्फ आकर्षित भइरहेको सर्वेक्षणले देखाएको छ ।

१८ देखि २९ वर्ष उमेर समूहका ७० प्रतिशत मतदाताले आफूलाई डेमोक्रेटिक पार्टीको समर्थक मानेका छन् वा उक्त पार्टीतर्फ झुकाव रहेको बताएका छन् । सन् २०२४ को राष्ट्रपतीय निर्वाचनअघि यस्तो झुकाव राख्ने युवा मतदाताको अनुपात ५५ प्रतिशत थियो । यसअनुसार दुई वर्षको अवधिमा डेमोक्रेटिक पार्टीतर्फ युवा मतदाताको झुकाव १५ प्रतिशत अंकले बढेको छ ।

सर्वेक्षणअनुसार प्रतिनिधिसभा निर्वाचनमा युवा मतदातामाझ रिपब्लिकन उमेदवारको तुलनामा डेमोक्रेटिक उमेदवारले ४४ प्रतिशत अंकको अग्रता लिएका छन् । दुई वर्षअघि यस्तो अन्तर १० प्रतिशत अंक थियो । ट्रम्पको कार्यसम्पादनप्रति युवा मतदाताको असन्तुष्टि पनि उच्च देखिएको छ । १६ प्रतिशत युवा राष्ट्रपतिका रूपमा उनको कार्यसम्पादनबाट सन्तुष्ट छन् भने ७९ प्रतिशतले असन्तुष्टि जनाएका छन् ।

युवा मतदाता ट्रम्पबाट टाढिँदै गएको संकेत एउटै सर्वेक्षणमा सीमित छैन । अन्य सर्वेक्षणहरूले पनि सन् २०२४ मा ट्रम्पलाई मतदान गरेका युवामाझ उनीप्रतिको समर्थन घटेको देखाएका छन् । सीएनएनका अनुसार डेमोक्रेटिक पार्टीले युवा मतदातामाझ ३१ प्रतिशत अंकको अग्रता हासिल गरेको छ । ‘येल युथ पोल’को प्रतिवेदनअनुसार १८ देखि २२ वर्ष उमेर समूहका ६८ प्रतिशत र २३ देखि २९ वर्ष उमेर समूहका ७२ प्रतिशत युवा ट्रम्पका नीतिप्रति असन्तुष्ट छन् ।

‘न्युयोर्क टाइम्स’ र ‘सिएना युनिभर्सिटी’को सर्वेक्षणमा सहभागी ९४ प्रतिशत युवाले देशको वर्तमान आर्थिक अवस्था खराब वा औसतभन्दा कमजोर रहेको बताएका छन् । त्यस्तै, ८६ प्रतिशतले अर्थतन्त्र व्यवस्थापन गर्ने ट्रम्पको तरिकाप्रति असहमति जनाएका छन् ।

सर्वेक्षणमा सहभागी ७७ प्रतिशत युवाले रिपब्लिकन पार्टीले गलत मुद्दाहरूमा ध्यान केन्द्रित गरिरहेको बताएका छन् । उनीहरूको बुझाइमा पार्टी अत्यधिक कट्टर, अभिजात वर्गको हितमा केन्द्रित र भ्रष्ट बन्दै गएको छ । १८ देखि २९ वर्ष उमेर समूहका युवाले अधिकांश प्रमुख मुद्दामा डेमोक्रेटिक पार्टीलाई बढी सक्षम ठानेका छन् ।

यद्यपि, युवा मतदातामाझ डेमोक्रेटिक पार्टीप्रति पूर्ण समर्थन रहेको भने देखिँदैन । सर्वेक्षणमा सहभागी ५४ प्रतिशत युवाले पार्टीले सही मुद्दाहरू उठाइरहेको बताएका छन् । ४१ प्रतिशतले पार्टीका प्राथमिकता गलत रहेको धारणा व्यक्त गरेका छन् ।

अक्टोबर २०२६ सम्म आइपुग्दा ट्रम्पको लोकप्रियता घटेको विभिन्न सर्वेक्षणले देखाएका छन् । बढ्दो महँगी, इन्धनको मूल्यवृद्धि र इरान युद्धका कारण उत्पन्न तनावप्रति युवा मतदातामा गहिरो असन्तुष्टि रहेको बताइएको छ ।

ट्रम्पका परम्परागत समर्थकमध्ये केहीले पनि उनीप्रतिको समर्थन घटाएको सर्वेक्षणले देखाएको छ । सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा उनलाई मतदान गरेकामध्ये अहिले करिब दुईतिहाइले मात्र समर्थन कायम राखेका छन् । निर्वाचनपछि सुरुआती चरणमा उनलाई समर्थन गर्नेको अनुपात ९५ प्रतिशत रहेको बताइएको थियो । त्यस्तै, रिपब्लिकन समर्थकमाझ पनि ट्रम्पको लोकप्रियता ८८ प्रतिशतबाट घटेर ७४ प्रतिशतमा झरेको छ ।

मध्यावधि निर्वाचनमा ट्रम्प र रिपब्लिकन पार्टी पराजित भए के हुन्छ ?

यदि, डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभामा बहुमत हासिल गर्‍यो भने ट्रम्पले आफ्नो कार्यकालका अन्तिम दुई वर्षमा विधायकी काम अघि बढाउन थप चुनौती सामना गर्नुपर्नेछ । यसले उनलाई रक्षात्मक अवस्थामा पुर्‍याउन सक्ने विश्लेषण गरिएको छ ।

त्यस्तै, सरकारी कामकारबाहीमाथि निगरानी बढ्न सक्छ । बजेट, सरकारी खर्च र प्रशासनका निर्णयमाथि डेमोक्रेटिक पार्टीको निगरानी बढ्नेछ । प्रतिनिधिसभाका समितिहरूले ट्रम्प प्रशासनका नीति, खर्च र निर्णयमाथि कडा छानबिन गर्न सक्छन् । बजेट तथा विधेयक पारित गर्न राष्ट्रपतिले थप राजनीतिक सहमति जुटाउनुपर्ने हुन सक्छ ।

यद्यपि, प्रतिनिधिसभामा बहुमत गुमाउँदैमा राष्ट्रपति पूर्ण रूपमा शक्तिहीन हुने छैनन् । उनीसँग विधेयक रोक्न सक्ने भिटो अधिकार कायम रहनेछ । त्यस्तै, संविधान र कानुनले दिएको सीमाभित्र रहेर उनले कार्यकारी अधिकार प्रयोग गर्न सक्नेछन् । नियुक्ति तथा बजेटसम्बन्धी कतिपय निर्णयमा भने सिनेटको भूमिका महत्वपूर्ण रहनेछ ।

मध्यावधि निर्वाचनमा पराजय भोगेमा रिपब्लिकन पार्टीभित्र ट्रम्पको नेतृत्वमाथि प्रश्न उठ्न सक्ने बताइएको छ । यसले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनको राजनीतिमा समेत असर पार्न सक्छ । उनको उत्तराधिकारीबारे बहस तीव्र हुन सक्छ ।

अर्कोतर्फ, डेमोक्रेटिक पार्टीलाई आफ्ना नीतिगत विकल्प मतदातासमक्ष प्रस्तुत गर्ने अवसर मिल्नेछ । क्यालिफोर्नियाका २७ वर्षीय ट्रक चालक इसाक जुआरेजले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई मतदान गरेका थिए । ट्रम्पका नीतिले अर्थतन्त्रमा सुधार ल्याउने उनको आशा थियो । तर, पेट्रोलको बढ्दो मूल्य र आप्रवासन अधिकारीहरूको कडा कारबाहीले उनको धारणा बदलिएको छ ।“अब मलाई आफैँ थाहा छैन, मैले किन ट्रम्पलाई मतदान गरेको थिएँ,” उनले भने ।

जर्जिया राज्यको एथेन्स सहरमा बस्ने २१ वर्षीया मेडिकल असिस्टेन्ट केलिन हिचककलाई पनि मासिक खर्च धान्न कठिन भइरहेको छ । प्रतिघण्टा १७ डलर कमाउने उनी महँगो आवास, इन्धनको मूल्यवृद्धि र तलबमा पर्याप्त वृद्धि नहुनुलाई प्रमुख समस्या मान्छिन् । उनले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा मतदान गरेकी थिइनन् । तर, आगामी मध्यावधि निर्वाचनमा भने डेमोक्रेटिक पार्टीलाई मतदान गर्ने योजना बनाएकी छन् ।