जनकपुरमाथिको जितले सुदूरपश्चिमसँगै काठमान्डु गोर्खाज प्ले अफमा

मंगलबार कार्तिक २५, २०८३/ Tuesday 11-10-26
Paschim Today

काठमाडौँ — निकै कसिलो बलिङ गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग क्रिकेटमा मंगलबार ‘लो स्कोरिङ’ खेलमा जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिमले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २० रनमात्र बनाएको थियो । जवाफमा आएको जनकपुर १९.५ ओभरमा ९३ रनमा अलआउट भयो ।

जनकपुरमाथिको जितले सुदूरपश्चिमसँगै काठमान्डु गोर्खाजको पनि प्ले अफ निश्चित भएको छ । दुवै टोलीको समान ८ अंक छ । राम्रो रन रेटमा काठमान्डु शीर्ष स्थानमा छ । सुदूरपश्चिमको यो लगातार तेस्रो विजय हो ।

दुई वर्ष अघिको पहिलो सिजनमा जनकपुरले सुदूरपश्चिमलाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो । तर यस हारपछि जनकपुर बाहिरिने खतरामा पुगेको छ । टोलीको ६ खेलमा ४ अंकमात्र छ र टोलीले १ खेलमात्र खेल्न बाँकी छ ।

सुदूरपश्चिमका तीब्र गतिका ओपनिङ जोडि स्कट कुग्लेन र हेमन्त धामीले ६ ओभरको पहिलो स्पेलमा उत्कृष्ट बलिङ गर्दै जनकपुरलाई पूर्ण रुपमा दबाबमा राखेका थिए । कुग्लेनले सबैभन्दा खराब फर्ममा रहेका अनिल साहलाई २ रनमा आउट गरे । हेमन्तले आदित्य महतालाई १० रनमा आउट गरे ।

तृतराज दास २१, हृयारी ट्रक्टर १, रायन बर्ल ८, विशाल सुस्लिङ २, जिम्मी निसम २०, कप्तान हरमित सिंह ४, अभिषेक तिवारी २ र राहुल यादव ११ रनमा आउट भए । ललित राजवंशी ५ रनमा अविजित रहे । कुग्लेनले ४ ओभरमा १३ रनमात्र खर्चेर ३ विकेट लिए ।

दीपेन्द्रले ४ ओभरमा १५ रनमात्र खर्चेर १ विकेट लिए । दीपेन्द्र र हेमन्तसहित अनिल खरेल, इशान पाण्डे र थारिन्दु रत्नायकेको नाममा १–१ विकेट रह्यो ।

यसअघि जनकपुरका कप्तान हरमितले उत्कृष्ट बलिङ गरेपछि जनकपुरले सुदूरपश्चिमलाई ठुलो स्कोर बनाउन दिएको थिएन । पहिलो पटक सुदूरपश्चिम रोयल्सविरुद्ध खेलिरहेका हरमितले ४ ओभरमा १७ रनमात्र खर्चेर ४ विकेट लिएका हुन् । अघिल्लो दुई सिजन हरमितले सुदूरपश्चिमबाट खेलेका थिए र आफ्नो प्रभावशाली प्रदर्शनमा दुबै पटक टोलीलाई फाइनलमा पुर्याएका थिए । 
पहिलो पटक प्रतियोगितामा खेलिरहेका आइरिस अलराउन्डर ट्रक्टरले ४ ओभरमा ९ रनमात्र खर्चेर १ विकेट लिए । आदित्य, अभिषेक र राहुलले १–१ विकेट लिएका थिए ।

ललित राजवंशीको सिधा थ्रोमा ओपनर विनोद भण्डारी १० रन बनाई रनआउट हुनु सुदूरपश्चिमका लागि दुर्भाग्य बन्यो । राहुल यादवले अर्का ओपनर सैफ जैबलाई १० रनमा बोल्ड गरी जनकपुरलाई दोस्रो सफलता दिलाए ।

इशान पाण्डेलाई कप्तान हरमितले ३ रनमा बोल्ड गरे । कप्तान दीपेन्द्रसिंह ऐरी १ रनमात्र बनाई आदित्य महताको बलमा कट एन्ड बोल्ड भए । ब्रान्डन म्याकमुलेनले सुदूरपश्चिमबाट सर्वाधिक ३३ रन बनाए । उनले २३ बल खेली समान २ चौका र छक्का प्रहार गरे ।

आरिफ शेखले १६ बल खेली २ चौकासहित ११ रन बनाए । स्कट कुग्लेन ६ रनमा पेभेलियन फर्किए । कुग्लेनलाई आउट गरेपछि हरमितले लगातार बलमा अनिल खरेललाई ३ रन र हेमन्त धामीलाई शुन्यमा आउट गरे । थारिन्दु रत्नायके २७ रनमा अविजित रहे । उनले २८ बल खेली १ चौका र २ छक्का प्रहार गरे । अविनाश बोहरा २ बलमा २ रन बनाई अविजित रहे ।

शीर्ष चारमा परेर प्ले अफ पुग्नका लागि दुबैका लागि यो खेल जित्नै पर्ने दबाब रहेको छ । २–२ खेल खेल्न बाँकी रहेको अवस्थामा सुदूरपश्चिमको ६ र जनकपुरको ४ अंक छ । पराजय बेहोर्ने टोली बाहिरिने अवस्थामा पुग्न सक्छन् । यस खेल जितेमा सुदूरपश्चिम कम्तिामा दोस्रो स्थानमा पुग्ने छ भने जनकपुरको हकमा यो खेल जितेमा तेस्रो स्थानमा उक्लने छ ।