छठ पूजाका लागि मोहना घाट सिँगारिँदै

बिहीबार कार्तिक २७, २०८३/ Thursday 11-12-26
Paschim Today

धनगढी। कैलालीको धनगढीस्थित मोहना नदी किनारमा छठ पर्वको तयारी तीव्र पारिएको छ । छठ पूजालाई लक्षित गर्दै घाट क्षेत्रमा सरसफाइ, सजावट तथा पूजास्थल व्यवस्थापनको काम भइरहेको छ । अहिले मोहना घाटलाई सिँगारिँदै छ ।

छठ पूजा सेवा समितिका अध्यक्ष सन्तोष मण्डलका अनुसार मोहना घाटमा पूजाका लागि आवश्यक तयारी करिब ७५ प्रतिशत पूरा भएको छ । घाटको सरसफाइ, सजावट र पूजाका सामग्री व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको उनले बताए ।

उनका अनुसार छठ पर्वका अवसरमा धार्मिक पूजाआराधनासँगै भजनकीर्तन, झाँकी, नृत्य तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ । कात्तिक २९ गते डान्डिया नृत्यसहित विभिन्न सांस्कृतिक कार्यक्रम हुनेछन् । साथै, रातभर भजनकीर्तन र झाँकी प्रस्तुत गरिनेछ ।

‘यो आस्थाको ठूलो पर्व हो । धनगढीको मोहना घाटमा करिब पाँच दशकदेखि छठ पर्व मनाउँदै आएका छौँ । मलाई पनि छठ पर्व मनाउन थालेको ४० वर्ष भइसक्यो । यस वर्ष पनि भगवान्सँग जोडिएका विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमको तयारी गरेका छौँ’, मण्डलले भने ।

छठ पर्व व्यवस्थापनका लागि आवश्यक खर्च भक्तजन तथा श्रद्धालुबाट प्राप्त सहयोगमार्फत जुटाइँदै गरेको उनले बताए ।

यस वर्ष कात्तिक २९ गते साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पूजा सुरु हुनेछ । त्यसपछि रातभर भजनकीर्तन र पूजाआराधना गरी व्रतालु जाग्राम बस्नेछन् । कात्तिक ३० गते बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पूजा सम्पन्न हुनेछ ।

छठ पर्वमा व्रतालुहरू निर्जल व्रत बसेर अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गर्छन् । सूर्यलाई अर्घ दिएर परिवारको सुख, शान्ति, समृद्धि र मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।