एमालेको स्थायी कमिटी बैठक सुरु
काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ। राष्ट्रिय भेला अगाडि आज केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बसेको हो। एमालेले आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारीका लागि मंसिर २ र ३ गते राष्ट्रिय भेला आयोजना गरेको छ। राष्ट्रिय भेलामा प्रस्तुत गरिने विषयवस्तुमाथि आवश्यक सुझाव र छलफल गर्न अध्यक्ष केपीशर्मा ओलीले बैठक बोलाएका हुन्।
प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार भेलालगत्तै ४ गते स्थानीय तहका जनप्रतिनिधि भेला र ५ गते केन्द्रीय कमिटीको बैठक बस्ने तय भएको छ।
एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा पार्टीका केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटी र विभिन्न तहका जनप्रतिनिधिसम्म गरी ३ हजार ४ सय १४ जना सहभागी हुने भएका छन्।
एमालेले पार्टीको इतिहासमै पहिलोपटक पालिका तहका कमिटीदेखि केन्द्रीय नेतृत्व र संघीय संसद्देखि स्थानीय तहसम्मका जनप्रतिनिधिलाई एकै ठाउँमा सहभागी गराएर राष्ट्रिय भेला आयोजना गर्न लागेको जनाएको छ।
भेलाको उद्घाटन मंसिर २ गते बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ। पार्टीका वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि भेलामा विशेष सम्बोधन गर्नेछिन्। भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, केन्द्रीय प्रतिनिधि, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष सहभागी हुनेछन्। त्यस्तै, संघीय सांसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको सहभागिता रहनेछ।
एमालेले भेलालाई महाधिवेशनभन्दा बढी संख्यामा सहभागी हुने र पार्टीका सबै तहको प्रतिनिधित्व रहने राष्ट्रिय कार्यक्रम भनेको छ।




2026-11-17-03-44-09.jpeg)


तपाईको प्रतिक्रिया