कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीमा श्रेष्ठ
काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई दिइएको छ ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी मन्त्री श्रेष्ठलाई दिइएको जानकारीसहितको पत्र पुगेको छ ।
प्रधानमन्त्री शाह आइतबार दिउँसो दुईदिने राजकीय भारत भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री वालेन्द्र शाहसँगै दोस्रो वरीयतामा रहेका अर्थमन्त्री स्वर्णिम वाग्ले र तेस्रोमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत भ्रमणमा जाने भएकाले मन्त्रीपरिषद्मा चौथो वरीयतामा रहेका ऊर्जामन्त्री श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।
प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत जान लागेका हुन् । उनी प्रधानमन्त्री भएपछि पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा जान लागेका हुन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ भने समकक्षी नरेन्द्र मोदीसँग सोमबार प्रतिनिधिमण्डलस्तरीय र एक्लाएक्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सम्पन्न गरेर सोमबार साँझ नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।







तपाईको प्रतिक्रिया