'सुदूरपश्चिम साहित्य महोत्सव' मंसिर २६ र २७ गते
काठमाडौँ- सुदूरपश्चिम प्रदेशको साहित्य, कला, संस्कृति, भाषा, सभ्यता र सामाजिक विविधतालाई राष्ट्रिय विमर्शको केन्द्रमा ल्याउने उद्देश्यले नेपाल प्रज्ञा–प्रतिष्ठानले धनगढीमा दुईदिने 'सुदूरपश्चिम साहित्य महोत्सव–२०८३' आयोजना गर्ने भएको छ।
मंसिर २६ र २७ गते कैलाली बहुमुखी क्याम्पसको परिसरमा आयोजना हुने महोत्सवमा सुदूरपश्चिमको साहित्य, सिर्जना, पर्या–पर्यटन, शिक्षा, सेती–महाकालीका कथा, भूगोल, इतिहास, समाज र संस्कृतिलगायतका विषयमा अन्तरसंवाद तथा विमर्श गरिनेछ।
महोत्सवमा डेढ दर्जनभन्दा बढी सत्र सञ्चालन हुनेछन् । सुदूरपश्चिमका मौलिक ज्ञान, लोकसाहित्य, भाषा, संस्कृति र सामाजिक अनुभवलाई उजागर गर्नुका साथै यहाँको साहित्यिक सिर्जनालाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
महोत्सवमा प्रदेशका नौवटै जिल्लाका कवि तथा गजलकारको सहभागितामा कविता र गजल साँझ आयोजना गरिनेछ। यस्तै, हुड्केली, छलिया, होरी, देउडा र सखियालगायतका मौलिक सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिने कार्यक्रम छ। साहित्य लेखन कार्यशाला, पुस्तक विमोचन तथा साहित्य, इतिहास र संस्कृतिसम्बन्धी कार्यपत्र प्रस्तुति पनि महोत्सवका आकर्षण रहनेछन्।
महोत्सवमा लेखक, साहित्यकार, बुद्धिजीवी, संस्कृतिकर्मी, शिक्षाविद्, पत्रकार तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहनेछ। गोपाल हमाल, हेमराज पन्त, लोकबहादुर विष्ट, पद्मराज जोशी, गोकर्ण अवस्थी, उमादेवी वादी, रक्षा बम, इन्दु थारू, राज सरगम, तुलसी शर्मा, मिलन पाण्डे, महेशविक्रम शाह, केशव दाहाल, विप्लव प्रतीक, राजकुमार बानियाँ, अस्मिता विष्ट, शैलेन्द्र अधिकारी, बाबु त्रिपाठी, विश्व सिग्देल र प्रज्वल अधिकारी लगायतको उपस्थिति रहने आयोजकले जनाएको छ।
महोत्सवमा आख्यानकार नारायण ढकालले 'नेपाली साहित्य हिँडेको बाटो' शीर्षकमा विद्वत् प्रवचन दिने कार्यक्रमसमेत रहेको छ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ तथा महोत्सवका केन्द्रीय संयोजक दीपक सापकोटाले महोत्सवले सुदूरपश्चिमका सांस्कृतिक सम्पदाको संरक्षण, संवर्धन र प्रवर्धनमा योगदान पुर्याउने बताए । प्रदेशको मौलिक पहिचान र सम्भावनालाई राष्ट्रियस्तरमा परिचित गराउन महोत्सव कोशेढुंगा बन्ने उनको भनाइ छ ।






तपाईको प्रतिक्रिया