Close This

नेपाल र भारतका प्रधानमन्त्रीले गरे ६६९ मेगावाट तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास

सोमबार मङ्सिर ८, २०८३/ Monday 11-23-26
Paschim Today

काठमाडौं । नेपाल र भारतको संयुक्त लगानीमा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास गरिएको छ ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले आइतबार नयाँ दिल्लीबाट डिजिटल माध्यम मार्फत संयुक्त रूपमा आयोजनाको शिलालेख अनावरण गर्दै शिलान्यास गरेका हुन् ।

संखुवासभा चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा निर्माण हुने आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रुपैयाँ छ । आयोजना निर्माणका लागि लगानी बोर्ड नेपाल र भारतीय कम्पनी एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनीबीच २०८० जेठ १८ मा परियोजना विकास सम्झौता (पीडीए) भएको थियो ।

आयोजना निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा अघि बढाइने छ । पीडीए अनुसार पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाबाट उत्पादित कुल विद्युत्को २१ प्रतिशत नेपालले नि:शुल्क प्राप्त गर्ने छ ।

व्यावसायिक उत्पादन सुरु भएको २५ वर्षपछि आयोजना चालु अवस्थामै नेपाल सरकारलाई हस्तान्तरण गरिने व्यवस्था छ ।

आयोजना निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण तथा मुआब्जा वितरणको काम पनि भइरहेको छ । आयोजनाबाट प्रभावित स्थानीयलाई हालसम्म ९९ करोड ९८ लाख ३९ हजार रुपैयाँ मुआब्जा वितरण गरिएको छ । उक्त रकम करिब २ सय ५३ परिवारले प्राप्त गरेका छन् ।

आयोजनाका लागि कुल १ अर्ब ४० करोड रुपैयाँ मुआब्जा वितरण गर्ने योजना छ । निर्माणस्थलमा पर्ने ६ सय ५६ जनाले मुआब्जा पाउनेछन् भने आयोजना निर्माणबाट २ सय ६८ घरपरिवार प्रत्यक्ष प्रभावित हुनेछन् ।

तल्लो अरुण आयोजनाको संरचना चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा रहने छ । निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनपछि निस्कने पानीलाई खाँदबारी नगरपालिका–२ चेवाबेँसीबाट करिब १७.३ किलोमिटर लामो सुरुङ मार्फत तल्लो अरुणको विद्युत्गृहमा पुर्‍याइने छ ।

एउटै नदी प्रणालीमा निर्माण भइरहेका अरुण तेस्रो र तल्लो अरुण आयोजनाले उपलब्ध जलस्रोत उपयोग गर्दै विद्युत् उत्पादन गर्नेछन् । तल्लो अरुण निर्माण सम्पन्न भएपछि राष्ट्रिय विद्युत् उत्पादनमा थप योगदान पुग्नुका साथै संखुवासभा र समग्र कोशी प्रदेश पूर्वाधार विकास तथा आर्थिक गतिविधिमा टेवा पुग्ने अपेक्षा छ ।