अपि हिमाल : जहाँ पहाडले परीक्षा लिन्छन्, मानिसले मन जित्छन्
दार्चुलाको अपि आधार शिविरसम्मको यात्रा । हिउँ, लेक लाग्ने समस्या र हिमालको दर्शनका लागि प्रतीक्षा गर्नुपरेका पाँच अमूल्य मिनेट । अनि सुदूरपश्चिमको प्राकृतिक सौन्दर्यसँगै त्यहाँका मानिसको आत्मीयताले मनमा छाडेको अमिट छाप ।
प्रशान्त रोस्यारा
बिहान करिब चार बजेको थियो । म अपि आधार शिविरको होटलबाट बाहिर निस्किएँ । अघिल्लो दिनदेखि लगातार परेको हिउँ रोकिएको छ कि छैन भन्ने जिज्ञासा थियो ।
बाहिर निस्कँदा आकाश खुलिसकेको थियो । अघिल्लो दिनसम्म हिमाललाई बाक्लो बादलले छोपेको थियो । आज भने आकाशमा हजारौँ तारा टल्किरहेका थिए । ती ताराको उज्यालोमुनि हिमालका चुचुरा स्पष्ट देखिन्थे । केही क्षण म त्यही दृश्यमा हराएँ । त्यसपछि सम्झिएँ, यो दृश्य हेर्न म मात्रै तीन दिन हिँडेर यहाँ आइपुगेको थिइनँ । मेरा साथीहरू पनि यही प्रतीक्षामा थिए । म फर्किएँ र सबैलाई उठाउन थालेँ ।
म कुनै अतिशयोक्ति गरिरहेको छैन । सायद यो मेरो जीवनकै सबैभन्दा सुन्दर क्षण थियो ।
पारिवारिक भेटघाटबाट हिमाल यात्रासम्म
तिहार मनाउन म अमेरिकाबाट नेपाल आएको थिएँ । परिवारसँग केही समय बिताउने उद्देश्यले सुरु भएको मेरो नेपाल बसाइले अन्ततः हिमालयको एउटा अद्भुत र कमै पुगिने भूभागको यात्राको रूप लियो ।
हामी छ जना थियौँ । मेरो दाजु तीर्थ रोस्यारा, उहाँकी श्रीमती पुष्पा अवस्थी, भतिजी प्रिन्सी जोशी, कल्पना जोशी, कपिल अवस्थी र म । हामीमध्ये कसैले पनि यो यात्राले कस्तो अनुभव गराउनेछ भन्ने ठ्याक्कै अनुमान गरेका थिएनौँ ।
हामी धनगढीबाट दार्चुलाको गोकुले बजारतर्फ लाग्यौँ । डडेल्धुरा र बैतडी हुँदै अघि बढ्दा बाटोभरि टाढाटाढा हिमालका सेता चुचुरा देखिन्थे । बैतडीले मलाई विशेष रूपमा आकर्षित गर्यो । बाटोमा देखिने डाँडाकाँडा, गाउँबस्ती र प्राकृतिक सौन्दर्यले मन लोभ्याइरहेको थियो । झ्यालबाट बाहिर हेर्दै मलाई लाग्यो, यहाँ त एक साता बिताउँदा पनि पुग्दैन । बैतडी फेरि घुम्न आउने इच्छा त्यही बेला पलायो ।
गोकुले बजार पुगेपछि हामीले महिन्द्रा बोलेरो भाडामा लियौँ र काफलधारातर्फ लाग्यौँ । झरनाको छेउमा बसेर खाना खायौँ । त्यहीँबाट गाडीको यात्रा टुङ्गियो र पैदल यात्रा सुरु भयो ।
हाम्रो यात्राको सुरुमै घुसाको उकालोले कठिनाइको आभास गरायो । ठाडो र थकाइलाग्दो उकालो चढ्दै गर्दा यो यात्रा सामान्य पदयात्रा होइन भन्ने बुझ्न धेरै समय लागेन । एकअर्कालाई हौसला दिँदै हामी विस्तारै अघि बढ्यौँ । पहिलो दिन मात्रै हो, अझै लामो बाटो बाँकी छ भन्दै आफूलाई सम्झाउँदै सिथी गाउँतर्फ लाग्यौँ ।
त्यस रात हामी कृष्ण होमस्टेमा बस्यौँ । खानामा रोटी, दालभात, तरकारी, घरमै बनाएको अचार र शुद्ध भैँसीको घिउ थियो । दिनभरको थकानपछि त्यो खाना असाध्यै स्वादिलो लाग्यो । होमस्टेका सञ्चालकसँग केहीबेर कुराकानी गरेँ र उहाँको अनुभव पनि सुनेँ । पाहुनाप्रतिको उहाँको आत्मीय व्यवहारले मलाई यो यात्राको वास्तविक विशेषता हिमाल मात्रै होइन, यहाँका मानिस पनि हुन् भन्ने पहिलो सङ्केत दियो ।
चौलानी नदीसँगैको यात्रा

दोस्रो दिन बिहान चौलानी नदीको आवाजले हामीलाई स्वागत गर्यो । नदी नदेखिँदै त्यसको सुसाइ सुनिन्थ्यो । दिनभरजसो हामी यही नदीको किनारैकिनार अघि बढ्यौँ । साँघुरा खोँचबाट तीव्र गतिमा बगिरहेको सफा पानी ठूला चट्टानमा ठोक्किँदै अघि बढ्थ्यो । बाटोमा भेटिने साना खोलानाला पनि त्यसैमा मिसिँदै जान्थे ।
यात्राका क्रममा ठाउँठाउँमा झरना देखिन्थे । दृश्य यति मनमोहक थिए कि फोटो र भिडियो खिच्न हामी बारम्बार रोकिन्थ्यौँ । यति धेरै ठाउँमा रोकिँदा पनि हामीले यति लामो दूरी कसरी पार गर्यौँ भन्ने अहिले सम्झँदा अचम्म लाग्छ ।
दिउँसो खाना खान हामी चिरचिरे पुग्यौँ । त्यहाँ इन्टरनेट चलिरहेको थियो । डेढ दिनदेखि राम्रो मोबाइल नेटवर्क नपाएका हामीलाई इन्टरनेट देखेपछि खुसीको सीमा रहेन । यात्राका क्रममा देखेका दृश्य र अनुभव साथीभाइसँग बाँड्न हामी हतारिएका थियौँ । त्यहाँको खानामा स्थानीय चटनीसँगै च्याङ्ग्राको सुकुटी थियो । स्वाद पनि उत्तिकै उत्कृष्ट ।
यात्राको यही चरणमा मैले आफूभित्र एउटा परिवर्तन महसुस गरेँ । अमेरिकामा मेरो दिन बैठक, कामको चाप, समयसीमा र मोबाइलका सूचनाहरूबीच बित्छ । यहाँ न कुनै बैठकको चिन्ता थियो, न कामको हतारो, न मोबाइलको सूचनाको झन्झट । साथमा प्रियजन, अगाडि पदमार्ग र छेउमा कलकल बगिरहेको नदी । त्यो क्षण मलाई स्वर्गको अनुभूतिभन्दा कम लागेन ।
राति करिब साढे आठ बजे हामी भल्लेखोला पुग्यौँ । शरीर थाकेको थियो, चिसो पनि उत्तिकै थियो । तर होमस्टे सञ्चालकहरूले हाम्रो स्वागतका लागि आगो ताप्ने व्यवस्था मिलाइसकेका थिए । त्यहाँका सुविधा सामान्य थिए । दुर्गम ठाउँमा बसेर व्यवसाय सञ्चालन गर्नु आफैँमा चुनौतीपूर्ण थियो । तर पाहुनालाई न्यानो बनाउन उनीहरूले कुनै कसर बाँकी राखेनन् । पूर्वाधार र सुविधाको अभावलाई यहाँका मानिसको आत्मीयताले पूरा गरिदिएको थियो ।
हिमपात र अपि हिमालको पहिलो झलक
भल्लेखोलामा बिताएको तेस्रो दिनको बिहान हामी उठ्दा बाक्लो हिमपात भइरहेको थियो ।
केही समयमै वरिपरिका सबै ठाउँ सेताम्मे भए । अग्ला हिमाललाई बाक्ला काला बादलले ढाकेका थिए । हामीमध्ये कसैले पनि सुरुमा मुख खोलेनौँ । तर सबैको मनमा एउटै प्रश्न थियो—अब अघि बढ्ने कि फर्किने ?
हामीसँग खानेकुरालगायतका सामग्री सीमित थिए । मौसम पनि अनुकूल थिएन । यस्तो अवस्थामा अघि बढ्नु जोखिमपूर्ण हुन सक्थ्यो । केही घण्टा मौसम खुल्ने प्रतीक्षा गर्यौँ । अन्ततः जोखिम हुँदाहुँदै पनि अघि बढ्ने निर्णय गर्यौँ । यति टाढा आइसकेपछि अपि हिमालको एक झलक नहेरी फर्कन मनले मानेन ।
हिउँले पदमार्ग पुरिएको थियो । कतिपय ठाउँमा घुँडाभन्दा माथिसम्म हिउँ जमेको थियो । त्यसैलाई छिचोल्दै हामी उकालो लाग्यौँ । उकालो चढ्दै जाँदा मौसम झन् प्रतिकूल हुँदै गयो ।
तर आधार शिविर पुग्नै लाग्दा अचानक बादल फाट्यो । घामका किरण देखिए । अनि हाम्रा अगाडि अपि हिमाल र बाबै हिमाल देखापरे ।
त्यो दृश्य करिब पाँच मिनेट मात्रै देखियो । तर ती पाँच मिनेट हाम्रो जीवनकै अविस्मरणीय क्षण बने । लामो समयदेखि मौसमले साथ नदिएपछि एकाएक हिमाल देख्दा हामीले संसार नै जितेजस्तो महसुस गर्यौँ । अब यो यात्राभरि हिमालको दर्शन यही पाँच मिनेट मात्रै होला भन्ने मलाई लागेको थियो ।
हामी धौली ओडार पार गर्दै अघि बढ्यौँ । दिउँसोको खाना खान ग्रिन होटलमा रोकियौँ । त्यहाँको सेवा उत्कृष्ट थियो । होटल सञ्चालकको व्यवहार पनि उत्तिकै आत्मीय र विनम्र थियो ।
साँझसम्म हामी अपि आधार शिविर पुग्यौँ । स्थानीय बासिन्दाहरूले हाम्रो स्वागत गरे । राखेश ठकुरे भाइले हामीलाई वरिपरि घुमाउँदै विभिन्न हिमाल र त्यहाँको भौगोलिक अवस्थाबारे जानकारी गराए ।
त्यस दिन फर्किने सट्टा आधार शिविरमै रात बिताउने निर्णय गर्यौँ । भोलिपल्ट बिहान मौसम खुल्यो भने अपि हिमालको ३६० डिग्री दृश्यावलोकन गर्न पाइने आशा थियो ।
गीत, सङ्गीत, आगो र औषधि
आधार शिविरमा बिताएको रात भने सहज रहेन । हामीमध्ये तीन जनामा लेक लाग्ने लक्षण देखिए । साथमा ल्याएको औषधि सेवन गरेपछि अवस्था सहज भयो । उनीहरूले केही घण्टा आराम गर्न पाए ।
तर त्यो रातको सबैभन्दा स्मरणीय पक्ष कठिनाइ होइन, स्थानीयको आत्मीयता थियो । स्थानीय गाइड र होटल सञ्चालकहरूले हामीलाई सहज बनाउन हरसम्भव प्रयास गरे । खानपान, स्थानीय गीतसङ्गीत, नाचगान र आगो ताप्ने व्यवस्था थियो । केही घण्टाका लागि चिसो र थकानसमेत बिर्सियौँ ।
त्यसपछि आयो बिहानको चार बजेको त्यो अविस्मरणीय क्षण र आकाशभरि टल्किरहेका तारा ।
सबै साथीहरू उठेपछि हामी एकै ठाउँमा उभिएर आकाश उज्यालो हुने प्रतीक्षा गर्न थाल्यौँ । बिहानको पहिलो घामले हिमालका अग्ला चुचुरालाई स्पर्श गर्यो । बिस्तारै घामको उज्यालो हिउँले ढाकिएका पहाड र आसपासका भूभागमा फैलिँदै गयो ।
त्यो दृश्य बयान गर्न मसँग शब्द थिएनन् । सायद मेरा साथीहरूसँग पनि थिएनन् ।
अघिल्लो दिनभरि हाम्रो परीक्षा लिएको अपि हिमालले अन्ततः हामीलाई आफ्नो सुन्दरता देखाउने अनुमति दिएजस्तो लाग्यो ।
अपि आधार शिविर केवल दृश्यावलोकनको ठाउँ होइन
त्यो बिहान हामीले आधार शिविरमा केही घण्टा बितायौँ । प्रशस्त फोटो खिच्यौँ र ड्रोन उडाएर वरिपरिको दृश्य कैद गर्यौँ ।
त्यहाँ पुगेपछि एउटा कुरा स्पष्ट भयो—धेरैजसो पदयात्री आधार शिविर पुग्छन्, मुख्य दृश्यावलोकन स्थलमा केही समय बिताउँछन् र फर्किन्छन् । तर अपि क्षेत्रको वास्तविक सौन्दर्य त्यतिमा मात्रै सीमित छैन ।
घुँडाभन्दा माथिसम्म जमेको हिउँका कारण हामीले कालीढुङ्गा ताल र रिन्जेपानी ताल पुग्ने अवसर पाएनौँ । ती दुई ताल हेर्ने मेरो इच्छा थियो । आधार शिविरमा क्रिकेट खेल्ने मैदानसमेत रहेछ । यति अग्लो हिमाली क्षेत्रमा क्रिकेट मैदान देख्दा मलाई आश्चर्य लाग्यो ।
त्यहाँ अर्को एउटा दृश्यले झन् आकर्षित गर्यो । हामीले चौलानी नदीको मुहान ठानेको स्थानमा अपि हिमालको फेदीबाट पानी बुलबुल गर्दै बाहिर निस्किरहेको थियो । त्यही पानी केही तल पुगेपछि नदीको रूप लिँदै हामीले यात्रा गरेको पदमार्गसँगै बग्छ । मैले हात डुबाएर हेरेँ । पानीको बहावसँगै त्यसमा एउटा कम्पन महसुस हुन्थ्यो । त्यो अनुभूति म कहिल्यै बिर्सने छैन ।
अपिलाई पदयात्राको गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने हो भने यी सबै स्थानलाई पनि प्रचारप्रसारको विषय बनाउनुपर्छ । मुख्य दृश्यावलोकन स्थल मात्रै अपि क्षेत्रको सम्पूर्ण परिचय होइन । यहाँ हेर्न र अनुभव गर्न सकिने धेरै कुरा छन् ।
बाटोमा भेटिएको अर्को आकर्षण : कायाकोर हिमाल
फर्किने क्रममा हामी फेरि धौली ओडारमा खाना खान रोकियौँ । यसपटक आकाश खुला थियो । त्यहाँबाट एउटा यस्तो हिमाल देखियो, जसलाई मैले यसअघि त्यति ध्यान दिएको थिइनँ । त्यो थियो-कायाकोर हिमाल ।
त्यसको बनावट र स्वरूपले मलाई असाध्यै आकर्षित गर्यो । म लामो समयसम्म त्यसलाई हेरिरहेँ । आधा घण्टाभन्दा बढी समय त्यहीँ बसेर हिमालको सुन्दरता नियालिरहेँ । त्यो क्षण मलाई अपि हिमालभन्दा पनि कायाकोर बढी आकर्षक लागिरहेको थियो ।
भल्लेखोलातर्फ फर्किने पदमार्गमा पनि कायाकोर हिमालले साथ छोड्दैन । कतै एकातिर अपि हिमाल देखिन्छ भने अर्कोतिर कायाकोर हिमाल । एउटै दृश्यमा दुई फरक स्वरूपका हिमाल देखिनु आफैँमा अद्भुत अनुभव हो ।
कायाकोर हिमाल यस क्षेत्रको लुकेको प्राकृतिक सम्पदा हो । अपि आधार शिविरबाट फर्किंदा यसलाई हेर्न र केही समय बिताउन नबिर्सनुहोला ।
हिमालभन्दा पनि मनमा बस्ने दार्चुलाका मानिस

हामी दार्चुला गएका थियौँ हिमाल हेर्न । तर फर्किएपछि पनि मेरो मनमा सबैभन्दा धेरै सम्झना यहाँका मानिसहरूको आइरहेको छ ।
होमस्टे सञ्चालक, होटल व्यवसायी, गाइड र गाउँलेहरू—जहाँ पुगे पनि हामीले आत्मीय स्वागत पायौँ । स्थानीय उत्पादनबाट तयार पारिएका खाना स्वादिला थिए र मूल्य पनि उचित थियो । परिवारले नै सञ्चालन गरेका होमस्टे र साना होटलमा बस्दा स्थानीय जीवनशैली, संस्कृति र परम्परालाई नजिकबाट बुझ्ने अवसर मिल्यो । व्यावसायिक पर्यटकीय गन्तव्यमा सहजै नपाइने आत्मीयता यहाँ अनुभव गर्न पाइयो ।
यात्राका क्रममा हामीले वडाध्यक्ष र अन्य स्थानीय जनप्रतिनिधिसँग पनि कुराकानी गर्यौँ । उनीहरू आफ्नो क्षेत्रको सम्भावना र पर्यटन विकासबारे खुलेर कुरा गर्न उत्साहित थिए । आधार शिविरबाट फर्किरहेका अन्य पदयात्रीसँग पनि भेट भयो । उनीहरूको अनुभव लगभग एउटै थियो—प्राकृतिक, अछुतो र असाध्यै सुन्दर ।
हामी फर्किने बेला एक होटल सञ्चालकले हाम्रो समूहलाई फूलमालासहित बिदाइ गरे । त्यो सामान्य देखिने व्यवहार थियो । तर त्यसले हाम्रो मनमा गहिरो छाप छाड्यो ।
मलाई सबैभन्दा प्रभावित पारेको पक्ष के थियो भने यहाँको पर्यटन व्यवसाय स्थानीय समुदायकै हातमा थियो । स्थानीय मानिस प्रत्यक्ष रूपमा पर्यटन गतिविधिमा सहभागी थिए र त्यसबाट प्राप्त हुने लाभ पनि स्थानीय समुदायकै बीचमा पुगिरहेको थियो ।
सुदूरपश्चिमको मानिस हुनुका नाताले आफ्नै माटो, भाषा र संस्कृतिले पर्यटकलाई यसरी स्वागत गरेको देख्दा गर्व लाग्यो । यहाँ कसैको रङ, लिङ्ग, धर्म, जात वा राष्ट्रियताका आधारमा फरक व्यवहार गरिँदैनथ्यो । सबैले समान आत्मीयता र सम्मान पाउँथे ।
नेपालका केही चर्चित पदयात्रा क्षेत्रमा विदेशी पर्यटकलाई बढी प्राथमिकता दिइने र नेपाली पर्यटकलाई कम महत्त्व दिइने गरेको गुनासो मैले सुन्दै आएको छु । कतिपय ठाउँमा नेपाली र विदेशीका लागि फरक मूल्य निर्धारण गरिने गरेको कुरा पनि सुनिन्छ । सबै गन्तव्यका बारेमा म टिप्पणी गर्न चाहन्नँ । तर अपिमा हामीले त्यस्तो कुनै भेदभाव महसुस गरेनौँ । नेपाली भएकै कारण हामीले आफूलाई कम महत्त्व पाएको अनुभव गर्नुपरेन ।
सायद अपि क्षेत्रको सबैभन्दा ठूलो विशेषता यही हो ।
अपि क्षेत्रलाई के चाहिन्छ ?
अपि आधार शिविरसम्मको पदमार्ग मैले अपेक्षा गरेभन्दा राम्रो पाएँ । तर यस क्षेत्रले आफ्नो वास्तविक सम्भावना हासिल गर्न अझै धेरै काम गर्नुपर्ने देखिन्छ । त्यसका लागि सरकारको ध्यान, लगानी र योजनाबद्ध पहल आवश्यक छ ।
सबैभन्दा पहिले पदयात्रीको सुरक्षालाई प्राथमिकता दिनुपर्छ । पदमार्गका महत्त्वपूर्ण स्थानमा सरकारी सुरक्षा तथा सूचना केन्द्र स्थापना गर्न सकिन्छ । यसले पदयात्रीको आवागमनको अभिलेख राख्न, आपत्कालीन अवस्थामा सहयोग गर्न र उद्धार कार्यलाई सहज बनाउन मद्दत पुर्याउँछ । भरपर्दो उद्धार प्रणालीको व्यवस्था भए धेरै पर्यटक ढुक्क भएर यहाँ आउन सक्छन् ।
दोस्रो, आवास तथा आतिथ्य सेवाको विस्तार आवश्यक छ । अहिले सञ्चालनमा रहेका होमस्टे र होटलले सीमित स्रोतसाधनका बाबजुद प्रशंसनीय सेवा दिइरहेका छन् । तर पर्यटन विस्तारका लागि आवासका विकल्प पनि बढाउनुपर्छ । होमस्टे, मोटेल र होटल थपिनुपर्छ । तीनतारेदेखि पाँचतारेसम्मका होटल निर्माण गर्न सकिए फरक आर्थिक क्षमता र रुचि भएका पर्यटकलाई आकर्षित गर्न सकिन्छ । सबै पर्यटकलाई विलासी सुविधा चाहिन्छ भन्ने होइन । स्थानीय आतिथ्य र मौलिकता यस क्षेत्रको पहिचानका रूपमा कायम रहनुपर्छ । तर विभिन्न बजेट र अपेक्षाका पर्यटकका लागि विकल्प हुनु आवश्यक छ ।
तेस्रो, सडक पूर्वाधार सुधार गर्नुपर्छ । गोकुले बजारदेखि काफलधारातर्फ जाने सडक, विशेषगरी काफलधारा आसपासको खण्ड कालोपत्रे तथा स्तरोन्नति गर्न आवश्यक छ । सडक राम्रो भए यात्रा सुरक्षित र सहज हुन्छ । यसले पर्यटकको आवागमनसमेत बढाउँछ ।
चौथो, प्रभावकारी प्रचारप्रसार आवश्यक छ । अपि क्षेत्र भारतसँग नजिक छ । यो आफैँमा ठूलो सम्भावना हो । सडक, आवास र पर्यटन सेवाको सुधारसँगै योजनाबद्ध प्रचारप्रसार गर्न सकिए भारतबाट मात्रै होइन, भारत हुँदै नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय पर्यटकलाई समेत दार्चुला आकर्षित गर्न सकिन्छ ।
यी सबै काम गर्दा यस क्षेत्रको प्राकृतिक वातावरण र मौलिक पहिचानमा असर पर्नु हुँदैन । पूर्वाधार विकाससँगै स्थानीय समुदायको स्वामित्व र सहभागिता कायम राख्नुपर्छ । पर्यटन विकासको उद्देश्य स्थानीय रोजगारी सिर्जना गर्ने, साना व्यवसायलाई सहयोग गर्ने, प्राकृतिक सम्पदाको संरक्षण गर्ने र त्यसको लाभ स्थानीय बासिन्दासम्म पुर्याउने हुनुपर्छ । अर्थात्, यहाँ दिगो र जिम्मेवार पर्यटन विकासको अवधारणा अपनाउन आवश्यक छ ।
फर्किंदा साथमा आएका अमूल्य सम्झना
लामो पैदल यात्रा गरेर फर्किंदै गर्दा मैले यात्राका अनेक क्षण सम्झिएँ ।
ती हिमालको काखमा बिहान उठेर वरिपरि फैलिएको प्राकृतिक सौन्दर्य नियाल्दा आफू निकै सानो भएको अनुभूति भयो । तर त्यो अनुभूति निराशाको थिएन । बरु प्रकृतिको विराटतासामु मानिसको अहंकार कति सानो रहेछ भन्ने बोध थियो ।
हामी जीवनको ठूलो हिस्सा लक्ष्य पछ्याउन, जिम्मेवारी पूरा गर्न र अनेक चिन्तामा बिताउँछौँ । कहिलेकाहीँ प्रकृतिको अनुपम सुन्दरता अनुभव गर्न हामीले आफ्नै सहज जीवनको सीमाभन्दा केही पाइला पर पुग्नुपर्ने रहेछ ।
ती पाइला सहज भने छैनन् । मौसम जुनसुकै बेला बदलिन सक्छ । सुविधाको अभाव हुन्छ । शरीरले साथ नदिन सक्छ । कतिपय क्षणमा फर्किनु नै बुद्धिमानी निर्णय हो कि भन्ने लाग्न सक्छ ।
तर त्यहाँबाट लिएर फर्किने सम्झनाहरू जीवनभर साथमा रहन्छन् ।
म फर्किंदा आफूसँग फोटो र ड्रोनबाट खिचिएका दृश्य मात्रै लिएर आएको थिइनँ । प्रकृतिप्रतिको नयाँ सम्मान, परिवारसँग बिताएका अविस्मरणीय क्षण, सरल जीवनशैली र आफ्नै जन्मभूमिका मानिसप्रतिको गहिरो आत्मीयता पनि लिएर आएको थिएँ ।
यदि तपाईं हिमाली पदयात्राको योजना बनाउँदै हुनुहुन्छ भने मेरो सुझाव सरल छ—एकपटक अपि हिमाल पुग्नुहोस् ।
अनि सुदूरपश्चिमका मेरा साथीभाइ र दाजुभाइ दिदीबहिनीलाई मेरो एउटा आग्रह छ—हिमाल र प्राकृतिक सुन्दरता खोज्दै हजारौँ किलोमिटर टाढा जानुअघि आफ्नै आँगनमा रहेको यो अमूल्य सम्पदालाई पनि चिनौँ ।
अपि हिमाल पदयात्राको सूचीमा नाम थप्ने एउटा गन्तव्य मात्रै होइन । यहाँका हिमाल भव्य छन्, नदी र झरना मनमोहक छन्, पदमार्ग साहसिक छ । तर यहाँ आउने जोकोहीलाई आफ्नै घरमा पुगेको अनुभूति गराउने यहाँका मानिस हुन् ।
कहिलेकाहीँ संसारका सुन्दरतम् सम्पदा खोज्दै हजारौँ किलोमिटर यात्रा गर्नुपर्छ । तर यात्रा पूरा भएपछि थाहा हुन्छ—त्यस्तो अमूल्य सम्पदा त आफ्नै जन्मभूमिमा पर्खिरहेको रहेछ ।

.jpg)
.jpg)
.jpg)



-1200x5602026-11-23-02-40-40.jpeg)


तपाईको प्रतिक्रिया