नाउपा अध्यक्ष रन्जिता श्रेष्ठलाई प्रश्न : रेशम चौधरीलाई तपाइले पक्राउ गर्न लगाउनु भएको हो ?

कैलाली । नागरिक उन्मुक्ति र जनमत पार्टीबीच १७ गते एकता हुने अन्तिम तयारी भइरहेको थियो । तर, सोही दिन अचानक नाउपा संरक्षक रेशम चौधरी पक्राउ परे र एकता घोषणा कार्यक्रम नै बिथोलियो ।
पक्राउ परेको साढे पाँच घण्टामै रेशम रिहा भए, तर पनि अहिलेसम्म पार्टी एकता भएको छैन । बरु एकताका संवादहरू नै अवरुद्ध बनेका छन् । एकता घोषणा कार्यक्रमकै दिनदेखि अस्वस्थ रहेकी रञ्जिता अझै अस्पतालमा छिन् ।
रन्जिता अस्पतालमा र रेशम अन्योलमा पर्दा पार्टी एकता तत्काललाई टरेको हो । यता जनमत पार्टी भित्र भने एकताबारे पूर्ण तयारी छैन । एकता घोषणकै दिन रेशम चौधरी पक्राउको विषय रहस्यमयलाई कतिपयले रहस्यमय मानेका छन् । रेशम पक्राउ परेकैले एकता नभएको हो वा एकता हुने भएपछि रेशम पक्राउ परेका हुन् ? यी दुवै खाले प्रश्नहरू सुनिएका छन् ।
दुई दलको एकता सरेको हो कि टरेको छ ? रेशमको पक्राउ र आगामी रणनीतिकारे प्रस्तुत छ अस्पतालको शय्यामै रहेकी नाउपा अध्यक्ष समेत रहेकी रेशम पत्नी रन्जिता श्रेष्ठसँग गरिएको संवाद :
रेशम चौधरी पक्राउ परेपछि पार्टी एकता अन्तिम चरणमा बिथोलियो । एकता बिथल्नकै लागि पक्राउ प्रकरण रचिएको त होइन भन्ने आशंकाहरु उब्जिएका छन् नि ?
पार्टी एकता कुनै एक दिनको कुरा होइन । यो दीर्घकालीन प्रक्रिया हो, जसमा सैद्धान्तिक र व्यवहारिक पक्षहरूलाई सन्तुलनमा राख्नुपर्छ । वैशाख १७ गते एकता घोषणा गर्ने पूरा तयारी थियो । तर त्यसै दिन संरक्षक रेशम चौधरीज्यू पक्राउ हुनु एकदमै दुर्भाग्यपूर्ण र अनपेक्षित घटना भयो ।
यो कुरा म स्पष्ट पार्न चाहन्छु- उहाँको रिहाइका लागि मैले व्यक्तिगत रूपमा सम्माननीय महान्यायाधिवक्ता, प्रधानमन्त्रीज्यू र गृहमन्त्रीज्यूसँग तत्काल पहल गरेकी थिएँ । त्यो पहल सफल भयो, र साँझपख उहाँ रिहा हुनुभयो ।
यसले निश्चित रूपमा त्यो दिनको कार्यक्रमलाई प्रभाव पार्यो । तर, न उहाँलाई एकता रोक्नकै लागि पक्राउ गरिएको हो, न एकता त्यो कारणले स्थगित गरिएको हो । यो दुवैलाई जोडेर हेरिनु अति सरलीकृत बुझाइ हो ।
१७ गते एकता गर्ने तपाईँहरूको तयारी थियो भने रिहा भएपछि पनि त घोषणा हुन सक्थ्यो नि, किन भएन ?
रेशमजी साँझ पुनः रिहा हुनुभयो, तर त्यो समय परिस्थिति, कार्यक्रमको तयारी, र नेताहरूको समन्वयको हिसाबले घोषणा गर्न सम्भव भएन । एकता केही घण्टाको कार्य होइन, यो प्रक्रिया र सम्मानको कुरा हो ।
रेशम चौधरीलाई तपाईँले नै पक्राउ गर्न लगाएको भन्ने आरोपहरू समेत सुनिन्छन् नि ?
यो आरोप, कि मैले रेशम चौधरीज्यूलाई पक्राउ गर्न लगाएँ, केवल असत्य मात्र होइन, अमानवीय र गम्भीर रूपमा अपमानजनक छ । रेशमजी मेरो श्रीमान् हुनुहुन्छ । हामीबिच २७ वर्षको वैवाहिक सम्बन्ध छ, उहाँ मेरो छोराका पिता हुनुहुन्छ । यस्तो सम्बन्ध भएको व्यक्तिले उहाँको गिरफ्तारीका लागि षड्यन्त्र गर्छ भन्नु आफैँमा हास्यास्पद र पीडादायी हो ।
मैले उहाँको रिहाइका लागि २०८० साल जेठ १९ गते आममाफी प्रक्रियामा पनि सक्रिय भूमिका खेलेकी थिएँ । मन्त्री हुँदा पनि कानुनी र मानवीय दुवै आधारमा पहल गरेको हुँ । त्यो बेला पनि मेरो ध्येय उहाँको स्वतन्त्रता र न्यायको पक्षमा उभिनु थियो, जसको समय र घटनाक्रमहरू नै छन् ।
यस पटक पनि वैशाख १७ गते उहाँ पक्राउ परेपछि मैले तत्कालै प्रधानमन्त्री, गृहमन्त्री र महान्यायाधिवक्तासँग सम्पर्क गरी उहाँको रिहाइको पहल गरेँ । फलस्वरूप उहाँ साँझपख रिहा हुनुभयो ।
राजनीतिक मतभेद, आलोचना स्वाभाविक हो । तर व्यक्तिगत जीवन, पारिवारिक सम्बन्ध र मानवीय संवेदनालाई तोडमोड गरेर आरोप लगाउनु गलत मात्र होइन, दुर्भावनायुक्त पनि हुन्छ ।
म स्पष्ट भन्न चाहन्छु- रेशम चौधरीज्यूप्रति मेरो निष्ठा, सम्मान र प्रेम अटुट छ, राजनीतिक जीवनमा पनि, व्यक्तिगत सम्बन्धमा पनि ।
रेशम चौधरी रिहा भएपछि सनलाइट क्याफेमा कार्यक्रम राख्नु भयो, तर त्यहाँ सिके रावत आउनु भएन । जनमतका उपाध्यक्ष, प्रवक्तासहितका नेता आउँदा एकता नहुँदै खटपट सुरु भएको आशंका गर्न सकिँदैन ?
उहाँ पार्टीको अध्यक्षको हैसियतमा विभिन्न जिम्मेवारीमा व्यस्त हुन सक्नुहुन्छ । उहाँका प्रतिनिधिका रूपमा उपाध्यक्ष र प्रवक्ताको उपस्थिति थियो । पार्टीको आधिकारिक सहभागितालाई गलत रूपमा नबुझ्नु राम्रो हुन्छ ।
एकता घोषणा गर्ने भनिएको दिन तपाईँ अस्पताल हुनुहुन्थ्यो । अहिले पनि अस्पताल भर्ना हुनुभएको छ । केहीले एकता टार्नकै लागि अस्पताल बसिरहेको त होइन पनि भन्न थालेका छन् नि ?
अस्पताल भर्ना हुनु र १७ गते डिस्चार्ज लिएर उपस्थित हुनु मेरा लागि राजनीतिक हैसियतभन्दा बढी मेरो जनताप्रतिको कर्तव्य थियो । एकता रोक्नकै लागि अस्पताल भर्ना भएको भन्नु कपोलकल्पित र अमानवीय आरोप हो ।
एकता अब हुन्छ कि हुँदैन ?
हामी अझै प्रतिबद्ध छौँ । केही व्यवहारिक र साङ्गठनिक विषयमा थप संवादको आवश्यकता छ, जुन अगाडि बढिरहेको छ । हामी छिट्टै त्यसको घोषणा गर्नेछौँ ।
एकताको टिकाउपन सम्बन्धी आशङ्का स्वाभाविक हुन् । तर नेतृत्वमा आत्मालोचना र सुधारको इच्छाशक्ति भए टिकाउ एकता सम्भव छ भन्ने हाम्रो विश्वास छ । विगतमा जे–जस्ता मतभेद थिए, हामी त्यसलाई पाठ बनाएर, अब जनताका मुद्दामा एकसाथ अघि बढ्ने तयारीमा छौँ ।’
सम्झौताका नाममा आफू अध्यक्षबाट सहअध्यक्षमा झर्न तयार हुनुभएको छ, यो त पार्टी नै सिके राउतलाई जिम्मा लगाएजस्तो भएन र ?
पार्टी मेरो ‘स्वामित्व’ मा थिएन र छैन । यो त जनताको आकांक्षा र आन्दोलनबाट जन्मिएको संस्था हो । मैले अध्यक्ष भएर नेतृत्व गर्दा त्यो जनताको अधिकारका लागि थियो, सह–अध्यक्ष भएर पनि त्यही लडाइँ जारी हुनेछ ।
एकतामा मेरो उद्देश्यभन्दा अघि जनताको अपेक्षा र आन्दोलनको दीर्घकालीन हित राखिएको छ । नेतृत्वको जिम्मेवारी बाँडेर लिँदा पार्टी कमजोर होइन, अझ बलियो हुन्छ । त्यसैले आज म सह–अध्यक्षको रूपमा काम गर्न तयार छु ।
पार्टी चलाउने कुरा पदको मात्र होइन, दृष्टिकोण, प्रतिबद्धता र योगदानको हो । नेतृत्व परिवर्तन हुँदैमा पार्टी अर्कैको भयो भन्ने सोच पुरानो राजनीतिक संस्कार हो । हामी त्यो सोचबाट माथि उठेर नयाँ सहकार्यको संस्कृति विकास गर्न चाहन्छौँ ।
म आज पनि त्यत्तिकै जिम्मेवार छु । बरु अब हामी दुई नेतृत्व मिलेर अझ प्रभावकारी रूपमा जनता र कार्यकर्ताका पक्षमा उभिनेछौँ ।
पार्टी एकतापछि १० सांसदसहित मधेशको सबैभन्दा ठुलो पार्टी बन्दै छ । अहिलेसम्म मदेशवादी दलहरू जुट्नेभन्दा फुट्ने कुरामा बढी सक्रिय देखिन्छन् । प्रस्तावित नागरिक जनमतलाई पनि यही रोगले नछोला भन्न सकिन्छ र ?
हामीले विगतका गल्तीहरूबाट पाठ सिकेर अघि बढ्ने प्रण गरेका छौँ । मदेशवादी आन्दोलन र दलहरूको इतिहासमा जुन–जुन मोडमा एकताभन्दा फुटतर्फ ध्यान गयो, त्यसले जनताको सपना अधुरो बनायो ।
तर आज हामीले जुन एकता गरिरहेका छौँ, यो केवल गणतन्त्र वा सिटको अङ्कगणित होइन, साझा विचार, साझा पीडा र साझा भविष्यको लागि हो । हाम्रो प्रस्तावित ‘नागरिक जनमत’ केवल दलहरूको मेल होइन, यो वैकल्पिक राजनीतिका लागि एक नयाँ मोड हो ।
हामी गम्भीर संरचनागत सुधार गर्दैछौं । सशक्त विधान, साझा नीति दस्ताबेज, स्पष्ट कार्य विभाजन र विश्वासमा आधारित निर्णय प्रक्रिया ल्याउँदै छौँ, ताकि विगतको फुटले हामीलाई नछोओस् ।
हो, हामीलाई पनि चुनौतीहरू छन्, तर त्यो रोग नछोओस् भनेर नै हामी सुरुमै नै उपचार, सावधानी र पारदर्शिता अपनाइरहेका छौँ ।
अहिले हामी १० सांसदसहित मधेशको सबैभन्दा ठुलो शक्ति बन्दै छौँ । अब हाम्रो कर्तव्य त्यो जनविश्वासलाई फुट होइन, स्थायित्व, जवाफदेहिता र परिणाममा रूपान्तरण गर्नु हो र हामी त्यही दिशामा अघि बढिरहेका छौँ ।’
एकता पछिका योजना र लक्ष्य कस्ता छन् ?
हाम्रो एकता कुनै पद, शक्ति वा संख्याको लागि होइन, जनताको पीडा र अपेक्षालाई एउटै आवाजमा प्रस्तुत गर्नको लागि हो । अबको हाम्रो प्राथमिक लक्ष्य छ, जनता केन्द्रित राजनीतिको नयाँ संस्कार स्थापना गर्नु ।
सबैभन्दा पहिला, हामी सङ्गठित रूपमा नीति तथा कार्यक्रमको साझा दस्ताबेज सार्वजनिक गर्नेछौँ, जसमा कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी, भूमि अधिकार, सशक्तीकरण, तथा सीमान्तकृत समुदायको हक सुनिश्चित गर्न स्पष्ट रोडम्याप हुनेछ ।
दोस्रो, संसदमा हाम्रो संयुक्त उपस्थिति र आवाज अझ प्रभावशाली हुनेछ । हामी अब साझा एजेन्डा लिएर विधेयक, नीति तथा बजेट बहसमा सामूहिक रूपले प्रस्तुत हुनेछौँ ।
तेस्रो, सङ्गठनको बलियो संरचना तयार पारिनेछ, स्थानीयदेखि केन्द्रीय तहसम्म । दुई पार्टीका कार्यकर्ता, नेताहरूबीच विश्वास, तालमेल र सहकार्यलाई बलियो बनाउने कार्यक्रम तत्काल अघि बढाइनेछ ।
अन्ततः, हाम्रो लक्ष्य अब जनतालाई वैकल्पिक शक्तिको भरपर्दो विकल्प दिनु हो, जहाँ सैद्धान्तिक प्रतिबद्धता र व्यवहारिक कार्यशैली दुवैमा विश्वास गर्न सकिन्छ ।
हामी परिवर्तनको राजनीति गर्दैछौं, नारा मात्र होइन, नतिजामूलक काम गरेर देखाउने छौँ ।’
तपाईको प्रतिक्रिया