दार्चुला र बैतडीका ३४ ठाउँको पहिरो नियन्त्रण गरियो

शनिबार जेठ ११, २०८२/ Saturday 05-24-25
Paschim Today

दार्चुला। सुदूरपश्चिम प्रदेश सरकारले पहाडी जिल्ला दार्चुला र बैतडीका ३४ ठाउँको पहिरो नियन्त्रण गरेको छ । चालु आर्थिक वर्ष २०८१र०८२ मा सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गतको भू–तथा जलाधार व्यवस्थापन कार्यालय दार्चुलाबाट वर्षातका बेला वा विभिन्न कारणले खसेको पहिरो नियन्त्रण गरी घर, खेतीयोग्य जमिन र पाखो जमिनलाई जोगाएको छ । 

भू–तथा जलाधार व्यवस्थापन कार्यालय दार्चुलाले बैतडी र दार्चुलामा पहिरो नियन्त्रण, तटबन्ध निर्माण र पानी मुहान संरक्षण तथा रिचार्ज पोखरी निर्माण गर्ने कार्य गरेको कार्यालय प्रमुख विनोद शाहले जानकारी दिए । चालु आर्थिक वर्षमा दार्चुला र बैतडीमा गरी ३४ वटा पहिरो नियन्त्रणका योजना सञ्चालनमा छन् । जसमध्ये २७ पहिरो नियन्त्रणका योजनाहरु निर्माण सम्पन्न भई अन्तिम भुक्तानी भइसकेको उनले जानकारी दिए । 

प्रदेश सरकारले चालु आर्थिक वर्षमा भू–तथा जलाधार व्यवस्थापन कार्यालय दार्चुलालाई पहिरो नियन्त्रण, तटबन्ध निर्माण, पानी मुहान सङ्रक्षण र रिचार्ज पोखरी निर्माणका गरी १०५ वटा कार्यक्रमरयोजना स्वीकृत गरी पठाएको थियो । कार्यालयलाई चालु आर्थिक वर्षमा १० करोड १६ लाख रुपियाँ पुँजिगत बजेट प्राप्त भएकोमा सात करोड ३० लाख बजेट खर्च भइसकेको उनले जानकारी दिए ।

पहिरो नियन्त्रणको योजना हालेर प्रदेश सरकारले आफ्नो कमाई खाने खेत र घर जोगाइदिएको पुर्चौडी नगरपालिका–३ सल्लेवनका स्थानीय दिलबहादुर धानुकले बताए । “वर्षातको बेला सधैँ पहिरो खसेर खेतबारी लग्थ्यो यो वर्ष योजना आएर ढुक्क भएका छौँ ।” उनले भने ।

कार्यालयले खोलाको कटानबाट बस्ती जोगाउन दार्चुला र बैतडी जिल्लामा गरी ५९  वटा तटबन्ध निर्माणका योजनाहरु सञ्चालन गरेको छ भने ४३ योजनाको निर्माण कार्य सम्पन्न गरेको छ । १२ वटा पानी मुहान संरक्षण र रिचार्ज पोखरी निर्माणका योजना मध्ये नौ वटा योजनाको निर्माण कार्य सम्पन्न गरी अन्तिम भुक्तानी गरिएको कार्यालय प्रमुख शाहले जानकारी दिए ।
खोला किनारमा तटबन्ध निर्माणपछि कटानको समस्या हल भएको तथा वर्षातको बेला बाढीको जोखिम कम भएको दुहुँ गाउँपालिका–५ दार्चुलाका स्थानीय प्रेमराज भट्टले बताए । “यसवर्ष सिमित बजेटमा सिमित काम गर्न सकियो, तटबन्ध थप निर्माण गर्न अगामी वर्षमा पनि प्रदेश सरकारले बजेट देओस् ।” उनले भने । कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ७१ दशमलव ८५ प्रतिशत पुँजिगत बजेट खर्च गर्न सफल भएको छ ।