धनगढीमा नष्ट गरियो दुई हजार किलोग्राम अखाद्य आँप

धनगढी । कैलालीको धनगढीमा दुई हजार २६० किलोग्राम आँप नष्ट गरिएको छ । आइतवार गरिएको परीक्षणमा धनगढीस्थित सहिदगेट कृषि उपज थोक बजारमा रहेको जय श्री मा जानकी स्टोरमा राखिएको उक्त अखाद्य आँप नष्ट गरिएको हो ।
सञ्जित साहको उक्त स्टोरबाट विषादीको मात्रा अत्यधिक रहेको अखाद्य आँप नष्ट गरिएको धनगढी उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा प्रमुख महेश मल्लले बताए ।
‘आइतवार धनगढीका थोक बजार तथा मण्डीबाट तरकारी तथा फलफूलका १५ नमुना संकलन गरी विषादीको अवशेष परीक्षण गरिएको थियो’, उनले भने, ‘भिन्डी, काँक्रो टमाटर, करेला, केरा, अंगुर, स्याउ, अनार र आँपमा विषादी परीक्षण गरिएकोमा आँपमा विषादीको मात्रा बढी देखिएको र उक्त खान अयोग्य आँप बरामद गरी नष्ट गरिएको हो ।’
धनगढी उपमहानगरपालिकाको संयोजनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी र विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला अत्तरिया, जिल्ला प्रशासन कार्यालय कैलाली, नेपाल प्रहरी, पत्रकार महासंघ तथा सरोकारवालाहरूको संयुक्त अनुगमनमा धनगढीको सहिदगेट कृषि उपज थोकबजार, दक्षिणकाली मार्ग सब्जीमन्डी र चौराहास्थित हाटबजारबाट तरकारी तथा फलफूलका नमुना संकलन गरी परीक्षण गरिएको थियो ।
द्रुत परीक्षणको क्रममा भारतबाट आयात गरिएका फलफूल मध्ये आँपमा विषादीको अवशेष अत्यधिक मात्रामा भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख हरेराम प्रधानले बताए ।
उनले अन्य तरकारी र फलफूलमा विषादीको अवशेष सामान्य रहेको भए पनि आँपमा विषादीको मात्रा उच्च भएकाले खान अयोग्य ठहर गरि धनगढी उपमहानगरपालिकाले उक्त आँप नष्ट गरेको बताए ।
तपाईको प्रतिक्रिया