आइपिएलको फाइनल प्रवेशका लागि मुम्बई र पञ्जाब खेल्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को फाइनल प्रवेशका लागि मुम्बई इण्डियन्स र पञ्जाब किंग्स खेल्दैछन् ।
आइपिएलको दोस्रो क्वालिफायरमा ५ पटकको च्याम्पियन मुम्बईले पहिलो पटक उपाधिको खोजीमा रहेको पञ्जाबको सामना गर्दैछ ।
नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदावादमा पञ्जाब र मुम्बईबीचको खेल नेपाली समयअनुसार आइतबार साँझ ७ः४५ बजे सुरु हुदैछ ।
गत शुक्रवार भएको इलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई पराजित गर्दै मुम्बईले दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।
पञ्जाब भने बिहीवार भएको पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) सँग पराजित भएको थियो ।
पहिलो क्वालिफायरमा पराजित पञ्जाबले फाइनल प्रवेशका लागि दोस्रो मौका पाएको हो । पहिलो क्वालिफायरमा पञ्जाबलाई हराएको आरसिबीले फाइनलमा स्थान बनाइसकेको छ । दोस्रो क्वालिफायसको विजेता टोलीले मंगलवार उपाधिका लागि आरसिबीसँग खेल्नेछ ।
यो सिजनमा मुम्बई र पञ्जाबले १ पटक एक आपसमा खेलेका छन् । सो भेटमा पञ्जाबले मुम्बईलाई ७ विकेटले हराएको थियो ।
मुम्बई र पञ्जाब आइपिएलको इतिहासमा ३३ पटक आमनेसामन भएका छन् । जसमा मुम्बई १७ पटक र पञ्जाब १५ खेलमा विजयी भएका छन् । दुईबीचको १ खेल भने बराबरीमा सकिएको छ ।
तपाईको प्रतिक्रिया