टर्कीमा भूकम्पको झट्का, सात जना घाइते

मंगलबार जेठ २१, २०८२/ Tuesday 06-03-25
Paschim Today

एजेन्सी- सोमवार राति टर्कीमा भूकम्पको शक्तिशाली झट्का महसुस भएको छ । विपद् व्यवस्थापन एजेन्सीका अनुसार भूमध्यसागरको तटीय शहर मारमारिसमा ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको छ ।

भुकम्पको त्रासमा आतंकित भएर घरबाट भाग्ने प्रयास गर्दा कम्तिमा सात जना घाइते भएको बताइएको छ । भूकम्पको केन्द्रबिन्दु भूमध्यसागरमा रहेको बताइएको छ । भूकम्प मध्यराति ०२ः१७ बजे आएको थियो ।

टर्कीका टेलिभिजन च्यानलहरूमा देखाइएका दृश्यहरूका अनुसार ग्रीक टापु रोड्स लगायत आसपासको क्षेत्रहरूमा पनि भूकम्पको धक्का महसुस भएको छ । डराएर झ्याल वा बाल्कोनीबाट हाम फालेर सात जना घाइते भएको मारमारिसका गभर्नर इद्रिस अकबिकले बताएका छन् । घाइतेहरूको चोटपटकको उपचार भइरहेको र कुनै गम्भीर क्षतिको तत्काल कुनै रिपोर्ट नआएको भनिएको छ ।

टर्की मुख्य फल्ट लाइनहरूमाथि छ । त्यसैले यहाँ बारम्बार भूकम्प गइरहन्छन् । २०२३ मा ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पले टर्कीमा ५३ हजार भन्दा धेरैको ज्यान गएको थियो । दक्षिणी र दक्षिणपूर्वका ११ प्रान्तहरूमा हजारौं भवनहरूमा क्षति पुगेको थियो । छिमेकी देश सिरियाको उत्तरी भागहरूमा पनि ६ हजारभन्दा बढी मानिसहरूको मृत्यु भएको थियो ।