सुनको मूल्य बढाएर मुलुक ग्रे लिस्ट बाहिर निस्किँदैन: ज्ञानेन्द्र शाही

सोमबार असार ९, २०८२/ Monday 06-23-25
Paschim Today

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले सुनको दर रेट बढाएर मुलुक ग्रे लिस्टबाट बाहिर ननिस्कने बताएका छन्। 

अर्थसमितिको सोमबारको बैठकमा बोल्दै शाहीले सरकारका सचिवहरुले मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्न सुनको दरमा रेट बढाएको बताएको भन्दं उनले झुटो कुरा नगर्न आग्रह गरे।   समितिमा सोमबार आर्थिक विधेयकमार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको निवेदन र बैङ्क तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा आन्तरिक छलफल भएको हो। 

 

‘यो सुन गएर भारतबाट किनेर ल्याउ, नेपालको व्यवसाय बन्द गर भनेर भारतको एम्बेसीबाट काम भएको हो । ग्रे लिस्टबाट हट्न के गर्नुपर्छ भनेर एक पटक गुगल खोज्नुस् त,' उनले भने, 'सम्पती शुद्धीकरण गर्ने हो? करको दायरामा ल्याउने हो? करको दररेट बढाउने हो? अहिले नै करको दायरामा छ त सुन। जो दायरामा छैन, त्यसलाई दायरामा ल्याउने हो। ग्रे लिस्टबाट हट्न सम्पती शुद्धीकरण गर्नुपर्छ । सुनको दरमा रेट बढाएर ग्रे लिस्टबाट आउट हुन्छ? यो नभनिदिनुस्।'

सुनको दर रेट बढाउनु भनेको नेपालको सुन व्यवसायीहरू ठप्प होऊ, बन्द गर, हामी कमिसन खान्छौँ, पारीका व्यवसायीलाई फाइदा गर्छौं भने सरह भएको पनि उनको टिप्पणी छ। उनले थपे, ' यसबारे आज निर्देशन गरेनौँ भने नेपालमा १० लाख परिवारको घर उजाड्छौँ।’