सुदूरपश्चिम प्रदेशस्तरीय यू-१९ महिला क्रिकेट भोलिदेखि

कैलाली- सुदूरपश्चिम प्रदेशस्तरीय यू-१९ महिला क्रिकेट १२ असारदेखि हुने भएको छ । प्रदेश खेलकुद परिषद्को आयोजनामा हुने प्रतियोगिताबारे बुधबार पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ ।
परिषद्का सदस्य-सचिव लोकबहादुर खड्काले प्रतियोगितामा बाजुराबाहेक सुदूरपश्चिमका आठ जिल्लाको सहभागिता रहने जानकारी दिए । `आठ टिमलाई दुई समूहमा राखेर टी-२० फर्म्याटमा प्रतियोगिता सञ्चालन गरिने छ,´ खड्काले भने, `प्रतियोगिता धनगढीको फाप्ला मैदानमा सञ्चालन हुनेछ ।´
समूह `ए´मा कैलाली, कञ्चनपुर, अछाम र बझाङ तथा समूह `बी´मा डडेल्धुरा, बैतडी, डोटी र दार्चुला रहेका छन् । उद्घाटन खेल बुधबार कैलाली र कञ्चनपुरबीच हुनेछ ।
सदस्य-सचिव खड्काका अनुसार प्रतियोगिताको विजेताले नगद दुई लाख तथा उपविजेताले नगद एक लाखसहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् । प्रतियोगितामा तृतीय र चौथो स्थान प्राप्त गर्ने टिमले नगद ५०/५० हजार पुरस्कार पाउने छन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट ब्याटर र बलरलाई १५/१५ हजार, उदीयमान खेलाडीलाई १० हजार र प्रत्येक खेलका म्यान अफ द वुमेनलाई दुई हजार नगद प्रदान गरिने खड्काले बताए । कार्यक्रममा ट्रफी पनि सार्वजनिक गरिएको छ ।
तपाईको प्रतिक्रिया