विशेष अदालतमा माधव नेपाललाई ‘विशेष’ सुविधा

बुधबार असार ११, २०८२/ Wednesday 06-25-25
Paschim Today

काठमाडौं । पतञ्जली जग्गा प्रकरणमा मुद्दा परेपछि बयान दिन विशेष अदालत पुगेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ‘विशेष’ सुविधा पाएका छन् । थुनछेक बहसका क्रममा उनलाई न्यायाधीशहरूकै छेउमा विशेष स्थान दिइएको छ । अभियुक्तलाई थुनामा राख्ने, धरौटी रिहा गर्ने वा साधारण तारखेमा राख्ने भन्ने आदेश थुनछेक बहस पनि आउँछ ।

बुधबार बिहान ११ बजे विशेष अदालतमा उपस्थित भएका नेपालको बयान लिइएपछि थुनछेक बहस सुरु भयो । न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले उनलाई थुनमा राख्ने वा थुना बाहिर राख्ने निर्णय गर्नेछ ।

 

सामान्यतया अभियुक्तहरूलाई सेवाग्राही बस्ने ठाउँमा राखेर थुनछेक बहस चलाइन्छ । तर, नेपालको हकमा यो परम्परा तोडिएको छ । न्यायाधीशको आसनभन्दा अगाडि बस्नुपर्ने उनलाई छुट्टै राखेर बहस जारी राखिएको छ ।

 

विशेष अदालतमा उपस्थित एक कानुन व्यवसायीका अनुसार, यसअघि सबै अभियुक्तहरूलाई समान व्यवहार गरिन्थ्यो । तर, नेपालको हकमा फरक देखियो । ‘नेपाललाई कानुन व्यवसायीहरूभन्दा पनि अगाडि न्यायाधीशकै छेउमा राखिएको छ’, ती कानुन व्यवसायीले भने, ‘विशेष मान्छे भएर होला विशेष ठाउँमा लगेर राखिएको ।’

यद्यपि, अदालत स्रोतले भने सेवाग्राहीको ठाउँ वकिलहरूले भरिएकाले नेपाललाई न्यायाधीशकै छेउमा राखिएको हुनसक्ने बताएको छ ।