स्काउटको कामले समाजमा सकारात्मक सन्देश दिएको छ : मन्त्री खड्का

कैलाली । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले स्काउटले पछिल्लो गतिविधिले समाजमा सकारात्मक सन्देश दिएको बताएका छन् ।
कैलालीको धनगढीमा आयोजित स्काउट अभिमुखीकरण कार्यक्रममा स्काउटका सकारात्मक कामहरूको चर्चा गर्दै उनले प्रदेश सरकारको पनि साथ रहेको बताएका थिए । उनले पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा स्काउटले सृजनशील र प्रशंसनीय काम गरिरहेको बताए ।
नेपाल स्काउट, प्रदेश स्काउट कार्यालय को आयोजनामा भएको स्काउट अभिमुखीकरण कार्यक्रममा प्रदेश प्रमुख आयुक्त नरेन्द्र थापाले सबै जिल्लामा स्काउटले सकारात्मक सन्देश प्रवाह गर्ने कामहरू गरिरहेको बताएका थिए । विद्यार्थीहरूलाई ऊर्जा प्रदान गर्दै उनले उज्ज्वल भविष्यका लागि स्काउट अङ्गाल्न पनि आग्रह गरेका थिए।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मी, कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, सामाजिक विकास कार्यालय कैलालीका प्रमुख कुलराज सोति विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रमको अवसरमा प्रमुख अतिथि मन्त्री खड्का र सामाजिक विकास कार्यालयका प्रमुख सोतीलाई स्काउट दिक्षा प्रदेश प्रमुख आयुक्त थापाले प्रदान गरे। सचिव रेग्मी र सहायक प्रजिअ जोशीलाई स्कार्फ (स्कार्फ दिक्षा) दिई विधिवत् दिक्षा कार्यक्रम सम्पन्न गरिएको थियो।
कार्यक्रममा प्रदेश स्काउटका आयुक्तहरू, कार्यकारी सदस्यहरू, प्रदेश परिषद्का अध्यक्ष, प्रदेश युवा परिषद् सदस्यहरू, स्थानीय स्काउट प्रमुख तथा पदाधिकारीहरू, पूर्व जिल्ला र समन्वय आयुक्तहरू, स्काउट मास्टरहरू, रोभर–रेञ्जर तथा स्काउट विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमले प्रदेशस्तरीय स्काउट गतिविधिलाई थप संस्थागत, समावेशी र नेतृत्वमुखी बनाउन योगदान पु¥याउने विश्वास लिइएको छ।
तपाईको प्रतिक्रिया