कोलोराडोको गनीसनमा फैलिएको शेर्पा अम्पायर

शनिबार असार १४, २०८२/ Saturday 06-28-25
Paschim Today

दीर्घराज उपाध्याय ।
कोलोराडाको डेनभरबाट झण्डै १९० माईलको दूरीमा छ, क्रिष्टेड व्यूट । त्योभन्दा २८ माईल वर्तिर, गनिसन । हिमालको काखमा क्रिष्टेड व्यूट । उपत्यकामा फैलिएको सानो शहर गनिसन । हिउँदमा क्रिष्टेड व्यूट र गनिसनमा पर्यटक ओईरिन्छन । त्यही गनिसनमा सडकका दुबै किनारमा शेर्पा ब्राण्डका होर्डिङ बोर्ड छन् । शेर्पा मोटेल । शेर्पा ईन । शेर्पा क्याफे । क्याफे ढाक्ने गरी सिंगारिएका मन्त्र अंकित रंगीबिरंगी ध्वजाहरु । माने । लाग्छ, म लुक्लामा छु । बुद्ध भूमिमा छु ।

यहाँ म चर्चा गर्दैछु, गनीसनको । र, गनिसनमा फैलिएको शेर्पा अम्पायरको । र, त्यो अम्पायरका  मालिक पेम्बा ग्याल्जेन शेर्पाको । 

एकथरी मान्छे, आफू केही गर्दैनन् । आफू जन्मेको परिवार, परिवेश र भूगोललाई सराप्छन् । भाग्यलाई दोष दिन्छन् । र, जिन्दगीभरी दुःखी हुन्छन् । उनी अपवाद थिए, उनले न भूगोललाई दोष दिए । न भाग्यलाई सरापे । उनले यति मिहिनेत गरे, लेखे आफ्नो भाग्य । 

पेम्बा, जसको बाल्यकाल भोकमा बित्यो । अभावमा बित्यो । यहाँ चर्चा गर्दैछु, उनको श्रममा ठडिएको अम्पायरको ।  

१९६७ फेब्रअरी १० मा जन्मिएका पेम्बा चार दाजुभाईमा माहिला थिए । उनका बुवा अउर्केन दोर्जे शेर्पा र आमा आङफुरा शेर्पाको आर्थिक अवस्था सामान्य थियो । सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–४ तेका(घाट) मा तीन घर थिए । त्यहीमध्यको एक घर उनको थियो । 

घाटबाट डेढ घण्टाको दूरीमा लुक्ला । पाँच घण्टा टाढा नाम्चे । डेढ घण्टाको दूरीमा गुमेला गाँउ । त्यही थियो, जनसेवा प्राथमिक विद्यालय । जहाँ पाँच कक्षासम्म पढाई हुन्थ्यो । उनी दैनिक तीन घण्टा ओहोर दोहोर गरेर दुई कक्षासम्म पढे । 

घाटभन्दा पर थियो, ठाडो कोशी, छयाप्लुङ र केङमा । केङमामा माध्यमिक विद्यालय थियो । जहाँ उनले टेक्न पनि पाएनन । 

अभावमा जेठो दाई स्कुल जान पाएनन । स्कुल गएका माहिलो छ कक्षापछि काममा लागे ।  कान्छो भाई सात वर्षका थिए । बुवाले लामा बनाएर गुम्बा पठाए । 

उनका बुवा पर्यटकको भारी बोक्थे । नाम्चे, लुक्ला र  सगरमाथाको आधार शिविरसम्म भारी बोकेर जान्थे । उनी बुवालाई हेरेर भरिया भए । १३ वर्षको उमेरमा उमेरभन्दा दोब्बर भारी बोके ।  

उनी भारी बोकेर गोक्यो गए । एभरेष्ट बेसक्याक्प पुगे । ठूलो भएपछि अन्नपूर्ण र धौलागिरी देखे । 

एक पटक लुक्लाबाट भारी बोकेर सगरमाथा बेसक्याम्प पुगे । फर्किदा तेङ्बोचेमा रात प¥यो । उनले बास मागे । पाँच रुपैया नहुदा घरबेटी बुढीआमाले बास दिईनन । उनले पुरै रात कौशीमा कठ्यांग्रिएर बिताए । सम्झिन्छन्, तातो भए पो सुत्नु ? रातभरी सुतेन । भन्छन्, चिसोले झण्डै ज्यान गएको ।

उमेरले १५ नाघ्यो । उनले लुक्ला । उनको गन्तव्य थियो, काठमाण्डौं । लुक्लाबाट हिडेर सात दिनमा जिरी पुगे । बाटोमा एक ईञ्जिनियरको झोला बोके । ज्यालामा पाए, केही छाक खाना । अनि कोकाकोला । जिरीबाट ईञ्जिनियरको टोली गाडीमा आफ्नो बाटो लागे । उनी छुटे, जिरीमै । 

उनले जीवनमा पहिलो पटक ट्रक देखे । उनीसंग काठमाण्डौं जान बस भाडा थिएन । साथमा झोला थियो । त्यही बेचे । जिरीमा दुई दिन बसे । ट्रकमा चामल, मैदा र चिनी बोके । बस भाडा जुट्यो । उनी बस चढेर काठमाण्डौं पुगे । उनले गाउँमा सुनेको एउटै ठाउँ थियो, जय नेपाल हल । जहाँ शेर्पाहरु बस्थे । बसबाट झरेपछि उनले त्यहाँ भेटिएका मान्छेलाई सोधे, जय नेपाल हलको ठेगाना । सोध्दै राति साढे १० बजे जय नेपाल हल पुगे । हल छेउमा थियो, फुर्पा रेष्टुरेण्ट । भेटे, गाउँका मान्छे । बिर्सिए भो । फेरे राहतको सास । 

त्यहाँबाट एक जनाले दाईले उनलाई निमा ग्याल्जेनको कमल पोखरीस्थित डेरामा पु¥याए । सबै सुतिसकेका थिए । खाना कसले सोधोस ? भोकै सुते । 
पर्यटकहरुको भारी बोक्ने शेर्पाहरु त्यही सुतेका थिए । विहान त्रिशुली बस जादै थियो । पासाङ लामाले सबैलाई उठाए । कुंगा जाङ्म्बु उठेनन् । कुंगाको सट्टा पासाङले उनलाई लिए । 

उनी साँझ धुञ्चे पुगे । सबै खाना खान बसबाट झरे । उनी झरेनन । उनीसंग पैसा थिएन । उनी बसमा बसिरहे । दोस्रो रात पनि उनी भोकै सुते ।
काठमाण्डौं पुगेको तेस्रो दिन । उनले पर्यटकको भारी बोक्ने तय भयो । पेश्की मागे । र, तेस्रो दिन विहान खाना खाए ।

उनी विदेशीको भारी बोकेर स्याफ्रु गए । त्यहाँबाट लाङटाङ । ८ दिनमा काठमाण्डौं फर्किदा उनको हातमा २५० रुपैया थियो । पहिलो पटक यतिधेरै रुपैया देखे । उनले धीत मर्ने गरी खाना खाए । 

त्यसपछि लाङटाङ र अन्नपूर्ण सर्किटमा भारी बोक्ने काम पाईरहे । कामका लागि भौतारिनु परेन ।

उनी पोखराबाट सराङकोट हुदै नौ डाँडा पुगे । दुई जना क्यानेडियन महिलाको भरिया थिए, उनी । गाईड थिए, पासाङ । घोरेपानीबाट फर्किदै थिए । घान्द्रुक नजिकै भयंकर असिना पानी प¥यो । पिठ्युमा डोको । डोकोमा झण्डै ३० किलोको भारी । असिनाले झण्डै कान फुटेको । उनी अझै बिर्सेका छैनन् । 

पासाङसंग उनी फेरि लाङटाङ र अन्नपूर्ण गए । अन्नपूर्ण सर्किटको २२ दिन लामो रुटमा एक जना बेलायती पर्यटकले ५० पाउण्ड टिप्स दिए । उनी त्यतिबेलासम्म पर्यटकका प्रिय भईसकेका थिए । 

खल्तीमा पैसा । दिमागमा सूचना । अनि के चाहियो ? तीन महिनामा पर्यटन रुटसंगै काठमाण्डौंका गल्लीहरु घुमे । मान्छे र ठाउँ चिने । गाँउ छोड्दा अंग्रेजी बुझ्थेनन । पर्यटकको नियमित सम्पर्कले अंग्रेजी बुझ्न थाले । रुट, भाषा र पर्यटकको भाव बुझ्ने भए । त्यसपछि के थियो ? उनको डिमाण्ड बढ्दै गयो । उनले टे«किङका ती दिन सम्झिए, म त हिरो झैं भए ।

चार महिनापछि गाँउ फर्किए । घर फर्किदा उनीसंग एक हजार सात सय रुपैया थियो । केहीदिन गाउँ बसे । र फर्किए, काठमाण्डौं । उनका साला पेम्बा शेर्पा अमेरिकामा टे«किङ कम्पनी चलाउथे । सालाले उनलाई स्पोन्सर गरे । संगै दूतावास गए । अन्तर्वार्ता दिए । भीसा लाग्यो । र, आफूसंगै लगे अमेरिका । 

उनले पहिलो पटक सन् १९९६ मा अमेरिका टेके । तीन महिनाको भीसा थियो । उनी म्याद थपेर एक वर्ष बसे । त्यसपछि नेपाल फर्के । नेपालमा उनले काम खोज्नै परेन । उनले बिक्रम पाण्डेको हिमालयन एक्सिपेडिसनको काम गरे । जसको कार्यालय कान्तिपथमा थियो । उनले कामका लागि काठमाण्डौंमा बसिरहनु पर्ने अवस्था भएन । उनी गाउँमा बस्न थाले । काठमाण्डौंबाट विदेशी पर्यटकहरु लुक्ला आउथे । उनी लुक्लाबाट पर्यटकहरुलाई गाईड गर्थे । विभिन्न हिमाली रुटमा लैजान्थे । 

उनी स्थायी गाईड भए । मासिक तलव थियो, दुई हजार पाँच सय रुपैया । काम गरेको भत्ता अलग पाउथे । काम गर्दै गए । उनको तलव र सेवा, सुविधा थपिदै गयो । 

मेरापीकको टे«किङमा उनको न्यूयोर्कका एक जना डाक्टरसंग चिनजान भयो । उनको अमेरिका जाने ईच्छा । डाक्टरले पठाए, स्पोन्सर लेटर । त्यसमाथि पत्रमा लेखिदिए, पेम्बा र उनकी पत्नी जाङ्मु ल्हामको जहाजको टिकट, खानेबस्ने सबै खर्च व्यहोर्ने प्रतिबद्धता ।

द्वन्द्वका कारण पर्यटन व्यवसाय खस्किदै थियो । २००४ मा उनी दोस्रो पटक अमेरिकामा पुगे । उनीसंग शैक्षिक सर्टिफिकेट थिएन । पढेर भन्दा परेर उनी पर्यटनमा जमेका थिए । अनुभव र सम्बन्धले चलेको पेशा । त्यही पेशाले चलेको जीविका । 

उनी श्रीमती सहित क्यालिफोर्निया बस्न थाले । छोराछोरी होस्टेलमा राखेर आएका थिए । जेठी छोरी कान्डु शेर्पा १३ वर्षकी थिईन । माहिली निमा ल्हामु १२ वर्ष । र, कान्छो छोरा आङछिरिङ शेर्पा ११ वर्षका थिए ।

उनले केही समय अम्बर रेष्टुरेण्टमा काम गरे । किचेनमा हेल्पर थिए । मन लागेन । काम छोडे । क्यालिफोर्नियाको लेक्ताहो पहाडमा गए । र, रुखको हांगा काट्ने काम गर्न थाले । 

त्यहाँबाट कनसास सिटी गए । एक महिना जति काम गरे । त्यो काम छोडेर हिडे । त्यहाँबाट पुगे, डेनभर, कोलोराडो  । उनी अमेरिकनको खेतमा काम पाए । घास काटे । सोत्तर सोहरे । उनकी श्रीमतीले १६०० डलर पाउथिन् । उनले २२०० डलर । 

२००७ मा त्यो काम छोडे । र, पुगे क्रिष्टेड व्युट । दिउँसो पेण्टको काम गर्न थाले । साँझ टिम्बर ल्याण्ड रेष्टुरेण्टमा भाडा माझे । प्रतिघण्टाको पाउथे, १० डलर ५० सेण्ट । 
उनलाई लाग्यो, कति अरुको काम गर्ने ? अव पुग्यो । काम छोडे । उनी घुम्दै थिए । भाडाका लागि सूचना टाँसिएको एउटा घर देखे । उनले त्यहाँ दिईएको नम्बरमा कल गरे । उनले घर भाडामा दिने हो भनेर सोधे । घरधनीले प्रश्न गरे, कुन प्रयोजनका लागि ? प्रत्युत्तरमा उनले भने, रेष्टुरेण्टका लागि ।
केहीदिनपछि घरधनीसंग सम्झौता गरे । २४०० सय डलर मासिक भाडामा त्यो घर लिए । र, रेष्टुरेण्ट शुरु गरे । एक वर्षपछि त्यो घर लिलाम भयो । बैंकले घर लग्यो । घरबेटीले भन्यो, तिमी लेउ । 

घरको दाम छ लाख डलर थियो । बैंकमा ऋण अप्लाई गरे । क्रेडिट पुगेन । उनको आयस्रोतले भ्याएन । घर अर्केले किन्यो ।

साहु फेरिए । लसएञ्जल्सका फुटवल कम्पनीको मालिक खर्बपति मार्को एल्टरले घर किने । उनले त्यही घरमा तीन वर्ष रेष्टुरेण्ट चलाए । 

उनी गनेसनमा व्यवसायको संभावना हेर्न आए । कसैले भन्यो, रेष्टुरेण्ट हाईवे ५० को घर बिक्रीमा छ । उनले घर हेरे । मन प¥यो । केही रकम उनीसंग थियो । बाँकी ऋण लिए । र, ४ लाख ५० हजार डलरमा घर किने । र २०१३ को मार्चमा शुरु गरे, गनीसनमा शेर्पा क्याफे ।

क्रिष्टेड व्यूटको रेष्टुरेण्ट उनकी श्रीमती चलाउन थालिन । गनिसनमा उनी । तीन जना कर्मचारी राखेर गनिसनमा उनले रेष्टुरेण्ट शुरु गरे । कुक आफै । राति रेष्टुरेण्ट बन्द हुन्थ्यो ।  कर्मचारी घर जान्थे । उनी रातभरी मःम बनाउथे । कति दिन त विहान कर्मचारी आउदा उनी मःम बनाईरहेकै हुन्थे । २४ सै घण्टा काम गरेको देखेपछि कर्मचारीहरुले उनको नाम राखिदिए, २४ घण्टे ।

उनको सरल व्यवहार । अथक मिहिनेत । स्वादिष्ट परिकार । नयाँ स्वाद । शेर्पा क्याफे चम्कियो । आम्दानी दुगुना बढ्यो । गीतामा कृष्णले भने झै कर्म गरे । फलको आस गरेनन । फल मिलिरह्यो ।

२०१६ मा ४ लाख ५० हजारमा शेर्पा क्याफेकै अगाडि १६ रुमको शेर्पा मोटेल किने । २०१८ सात लाखमा मा शेर्पा ईन । २०२० मा डेढ मिलियनमा वेष्टर्न मोटेल किने । २०१८ मा कोलोराडोको डेनभरमा ५ लाखमा घर किने । 

क्रिष्टेड व्यूटबाट गनिसनमा विस्तार गरेको व्यवसायलाई २०२२ मा सलाईदामा फैलाए । गनीसनबाट एक घण्टाको दूरीमा रहेको सलाईदामा सात लाखमा किनेको पसलमा शेर्पा क्याफे चलाए । 

२०२२ मा पाँच लाखमा एउटा घर किने । छ लाख ५० हजारमा गनीसनमा दोस्रो घर । २०२४ मा गनिसनकै ईष्ट जर्जिया स्ट्रिटमा सात लाखमा तेस्रो घर किने । नर्थ कोलोराडो स्ट्रिटको घरमा सपरिवार बस्न थाले ।  एउटामा कर्मचारी राखे । तेस्रो भाडामा दिए । 

क्रिस्टेड व्यूटमा तीन वर्ष छ लाखमा किनेको घरको मूल्य तीन मिलियन पुग्यो । जहाँ उनले शेर्पा क्याफे सञ्चालनमा ल्याएका छन् । छोराले त्यो क्याफे सम्हालेका छन् । 

उनको कसैसंग प्रतिस्पर्धा छैन् । न उनी सरल छन् । सहज छन् । न कुनै लोभ । न घमण्ड । कति कमाए ? गन्ती गरेर बसेनन ? कति जोडे हिसाव गरेनन ? 

तीन रेष्टुरेण्ट । तीन मोटेल । चार घर । चार वटा वटा ट्रक । २५ जनालाई रोजगारी । भोकोलाई पेटभरी खाना दिन्छन् । उनको सपना थियो, राम्रो पैसा कमाउने । र, सामाजिक कार्य गर्ने ।

उनले जे भोगे । त्यो कसैले नभोगोस । उनको ईच्छा छ, भोको पेट कोही नबसोस । घरवार विहीन कोही नहोस । उपचार नपाएर कसैको मृत्यु नहोस । 

केही समयअघि एक जना मृगौलाका बिरामीलाई उपचारका लागि एक लाख रुपैया सहयोग गरे । आफू पढेको विद्यालयलाई आर्थिक सहयोग गरे । कम्युटर दिए । पर्यटक लिएर नेपाल जादा कमाएको रकम उनी बाँडेर फर्किन्छन् । उनको मुठ्ठी खुला छ । सकेजति बाड्ने । कमाएर कसलाई पुगेको छ ? उनी प्रश्न गर्छन्, जोडेर कसले लगेको छ ? उनको जीवनको सार छ, खान पुगोस । दिन पुगोस ।

उनले भारी हेरेनन् । गन्तव्य हेरे । हरेक श्रममा रमाए । श्रम गर्न संकोच मानेनन् । गनिसनको शेर्पा क्याफेमा भेटिदा उनी अमेरिकनसंग गफिदै थिए । पेन्ट लत्पतिएको पाईन्ट । शेर्पा लवज मिसिएको बोली । लाग्थ्यो, उनी भर्खरै कही पेन्टर गरेर फर्किएका हुन् । 

उनले कपडालाई प्रतिष्ठासंग जोडेर हेरेनन् । प्रतिष्ठामा दाग लागे, कपडा सफा लगाएर के गर्नु ? कपडामा के छ ? लगाउने त हो । कसले के भन्छन् ? उनलाई छु मतलव । उनको विश्वास छ । श्रम र क्षमताले कमाएको प्रतिष्ठा पो चीरस्थायी हुन्छ । 

नेपाली शुद्धसंग बोल्न र लेख्न नसिकेका उनी अंग्रेजी फरर बोल्छन् । स्कुल जान पाएन । परेर अंग्रेजी सिके, भन्छन्, उभिएर अंग्रेजीमा भाषण गर्नसक्छु । 

उनी विद्यालय जान पाएनन । छोराछोरीलाई भने उनीहरुले चाहेको शिक्षा दिए । जेठो छोरी दुई वर्षमा डाक्टरको पढाई पुरा गर्दैछिन् । माहिली छोरीले नर्सको पढाई पुरा गरिन । विज्ञान पढेको कान्छो छोरो व्यवसायमा सघाउदैछन् । हुर्किसकेका छोराछोरीलाई व्यवसायको जिम्मेवारी दिएर उनलाई नेपाल घुम्न मन छ । उनले भावी योजना सुनाए, यही जन्मिएका नातिनातिनालाई पनि नेपाल घुमाउनु छ ।  

भोक आदत बने, मान्छे भोकमै मर्छ । भोकलाई पटुकामा बाधेर जो लड्छ, नियतिसंग । उ फेरि भोको हुनुपर्दैन् । हो, उनले भोकलाई आदत बनाएन । भोको थिए । भोकसंगै लडे ।  र, प्राप्त गरे, सफलता । 

हरेक पल महत्वपूर्ण छ । त्यसलाई सदुपयोग गर । काममा यसरी डुब । अरु विषयमा सोच्ने फुर्सद नहोस । सफलतालाई पछ्याउनु पर्दैन । सफलताले पछ्याउछ । उनले सफलताको मन्त्र सुनाए ।