किताबमै सीमित विद्यालयमा बृहत यौनिकता शिक्षा

कैलाली । धनगढीको त्रिनगर माध्यामिक विद्यालयमा अध्यनरत सारिका (परिवर्तित नाम) लाई यौनिकता शिक्षाबारे खासै जानकारी छैन । ६ कक्षादेखि स्वास्थ्य विषय पढेपनि यौनिकताबारे उनले राम्रोसँग बुझिनन्, न आफूले नबुझेको कुरा शिक्षकलाई प्रश्न नै गर्न सकिन् ।
‘कक्षाकोठामा शिक्षकले ‘यौनिकता शिक्षा’ भन्नासाथ माहोल नै फेरिन्थ्यो । केटाहरु हाँस्न थाल्थे, केटीहरु लाज मान्थे,’ सारिका भन्छिन् ।
उनलाई यो विषयमा खुलेर बुझ्न मन थियो । तर कक्षामा त्यो वातावरण कहिल्यै भएन । १० कक्षासम्म डोटीमा अध्ययन गरेकी उनी एसईईपछि पढाइका लागि कैलाली झरिन् । विद्यालयमा यौनिकता शिक्षाका विषयमा डोटीबाट त उनले केही सिकिनन् । सारिकाका अनुसार उनी ६ कक्षामा पढ्दा स्वास्थ्य तथा जनसंख्या विषयमा महिला र पुरुष यौनांगको तस्बिरसहितको पाठ थियो । तर शिक्षकले त्यसबारे बुझाउनुको सट्टा त्यो पाठ नै पढाएनन् । उनी भन्छिन्, ‘त्यतिबेला हामी बुझ्ने थिएनौं । अहिलेको जस्तो भए त सर तपाईंले यो विषय हामीलाई बुझाउनुपर्छ । पाठ पढाउनुस् भन्थ्यौं ।’
१४ वर्षमा पहिलोपटक महिनावारी भएकी उनलाई महिनावारीको बेला के गर्ने के नगर्ने केही जानकारी थिएन । तीन पटकसम्म कसैलाई भनिनन् । चौथो पटकमा दिदीले थाहा पाएपछि महिनावारी बार्न दस दिन घरबाट पर बस्नु पर्यो । आमाले प्याडको सट्टा कपडा प्रयोग गर्न दिएपनि कसैले नदेख्ने ठाउँमा सुकाउनु भन्थिन् । ‘त्योबेला मैले घाममा प्याड कहिल्यै सुकाइनँ । राम्रोसँग सुक्न नपाएको फेरि त्यही कपडा प्रयोग गर्थेँ,’ उनी भन्छिन्, ‘अहिले मोबाइल र इन्टरनेटका माध्यमबाट बुझ्दैछु त्यसले मेरो स्वास्थ्यलाई कति असर गर्ने रहेछ ।’ विद्यालयमा यौनिकता शिक्षा पढाउँदा महिनावारीबारे पनि सिकाए आफूजस्तै अन्य किशोरी अलमलमा नपर्ने उनी बताउँछिन् ।
धनगढीकै पञ्चोदय माध्यामिक विद्यालयमा अध्यनरत प्रियाको अनुभव पनि सारिका भन्दा फरक छैन । विद्यालयमा यौनिकता शिक्षाबारे शिक्षकहरु कै सोच खुला नभएको उनी बताउँछिन् । नगर बालसञ्जालमा आवद्ध उनले विद्यालय भन्दा संघसस्था र नगरपालिकाकाले दिएका तालिमबाट योबारे सिक्ने मौका पाइन् । ‘हाम्रो जीवनसँग जोडिएको विषयलाई विद्यालयमा हाँसोका रुपमा उडाइन्छ,’ प्रिया भन्छिन्, ‘किताबमा लेखिएको छ, तर सिकाइ नै हुँदैन ।’ कक्षा ९ मा अध्ययनरत उनले सहि छुवाई र गलत छुवाइको बारेमा पनि युनिसेफले दिएको तालिमबाट थाहा पाएकी थिइन् ।
सारिका र प्रिया मात्र होइन कैलालीका अन्य सामुदायिक विद्यालयमा अध्ययनरत किशोर–किशोरीको अनुभव उस्तै छ । ‘यौनिकता शिक्षा किताबमा त छ, तर व्यवहारमा छैन । यो गम्भीर विषयलाई चुपचाप टार्ने गरिन्छ,’ धनगढीको शारदा माध्यामिक विद्यायमा अध्यनरत एक किशोरले बताए ।
अत्तरियाको दुर्गालक्ष्मी नमुना माध्यामिक विद्यालयमा अध्यनरत १५ वर्षीय सुरेश (परिवर्तित नाम) ले किशोरवस्थाबारे साथीसँग गोप्य रूपमा इन्टरनेटबाट जानकारी खोज्ने गरेको सुनाए । कहिलेकाहीँ गुगल सर्च गर्दा गलत साइटमा पनि पुग्ने गरेको उनी बताउँछन् । सुरेश पनि विद्यालयमा यौनिकता शिक्षासँग सम्बन्धित कुरा नसिकेको बताउँछन् ।
माथि उल्लेखित सबै किशोर–किशोरीको अनुभवमा विद्यालयले उनीहरूलाई यौनिकता सम्बन्धी जानकारी प्रभावकारी रूपमा नदिएको प्रष्ट देखिन्छ । झन् यौनिक तथा लैङ्गिक अल्पसंख्यकको विषय त नाजुक अवस्थामा छ ।
पाठ्क्रममा यौनिक, अल्पसंख्यको परिभाषाबाहेक अरु केही नभएको धनगढीको पञ्चोदय माध्यामिक विद्यालयकी स्वास्थ्य शिक्षक गंगा अवस्थी बताउँछिन् । ‘यौनिक तथा लैङ्गिक अल्पसंख्यक भनेको यो हो बाहेक पाठ्यक्रममा अरु केही छैन,’ अवस्थी भन्छिन्, ‘उनीहरुका समस्या के हुन् ? उनीहरुले सामना गर्ने चुनौती के हुन् ? यो कुरा त्यसमा समावेश छैन । हामीले खोजेर पढाउनु पर्छ ।’ उनका अनुसार पाठ्क्रममा यौनिकता शिक्षाबारे एकपाठ मात्रै छ ।
त्यत्तिले बृहत् यौनिकतालाई नबुझाउने उनको धारण छ । विद्यालयमा यौनिकता शिक्षा पढाउन शिक्षकलाई पनि चुनौती रहेको उनको भोगाइ छ । भन्छिन्, ‘यो विषयमा कुरा गर्दा विद्यार्थी नसुन्दिने, हल्ला बढी गर्ने, लजाउने गर्छन् । हामीले जति सम्झाउने कोशिस गर्दा पनि मान्दैनन् ।’ शिक्षकले जति राम्रोसँग सिकाए पनि विद्यार्थीले सिक्न नचाहेसम्म यौनिकता शिक्षा प्रभावकारी नहुने उनको बुझाइ छ ।
स्थानीय सरकारका प्रयास
कैलालीको गोदावरी नगरपालिका स्थानीय पाठ्यक्रम ‘हाम्रो गोदावरी’ प्रकाशनमा ल्याउने तयारीमा छ । जसमा पालिकाका विभिन्न विषय सँगै यौनिकता शिक्षा पनि समेटिएको पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत प्रायगराज जोशी बताउँछन् । भन्छन्, ‘धेरै कुरा समेट्न नसके पनि हामीले केही मात्रामा यौनिकता शिक्षालाई राखेका छौं । जसमा सहि छुवाइ, गलत छुवाइ सम्बन्धी र अन्य जानकारी छ ।’
यद्यपि विद्यालयमा यौनिकता शिक्षा प्रभावकारी नभएको कुरा उनी स्वीकार्छन् । उनका अनुसार गोदावरीमा यौनिकता शिक्षाबारे छुट्टै नीति र योजना नभएपनि आगामी दिनमा किशोरकिशोरीलाई प्राथमितामा राखेर कार्यक्रम ल्याइने छ । यता धनगढी उपमहानगरपालिकाले पनि यौनिकता शिक्षाबारे छुट्टै नीति र कार्यक्रम बनाएको छैन । तर स्थानीय पाठ्यक्रम ‘हाम्रो धनगढी’ मा यौनिकता शिक्षाको एक एकाई समावेश गरेको छ ।
बृहत् यौनिकता शिक्षाले सम्बन्ध, मूल्य, अधिकार, संस्कृत र यौनिकता, लैङ्गिकताको बुझाइ, हिंसा र सुरक्षा, स्वास्थ्य र निरोगिताका लागि सिपहरु, मानव शरिर र विकास, यौनिकता र यौन व्यवहार, यौन तथा प्रजनन स्वास्थ्यलाई बुझाउनु पर्छ । तर विद्यालय स्तरका पाठ्यक्रममा भएको सामग्रीले विद्यार्थीलाई पूर्ण रुपमा बृहत यौनिकता शिक्षा बुझाउन नसकिनेे धनगढीको त्रिनगर माध्यामिक विद्यालयकी स्वास्थ्य शिक्षक निर्मला जोशी बताउँछिन् ।
उनका अनुसार शिक्षकलाई तालिम अभाव, पाठ्यक्रममा सामग्रीको कमी, र खुला छलफल वातावरणको अभाव बृहत् यौनिकता शिक्षाका प्रमुख चुनौती हुन् । अविभावक, विद्यालय, स्थानीय र प्रदेश सरकार मिलेर काम गरे यौनिकता शिक्षालाई प्रभावकारी बनाउन सकिने उनको बुझाइ छ ।
नेपालको विद्यालयस्तरमा बृहत् यौनिकता शिक्षाबारे छुट्टै पाठ्यक्रम छैन । कक्षा एकदेखि तीनसम्मको पाठ्यक्रम हाम्रो सेरोफेरोमा यसका केही अवधारणालाई राखिएको छ । कक्षा चार र पाँचमा केही मात्रामा महिनावारीको विषय समेटेको छ । ६, ७ र ८ को अनिवार्य स्वास्थ्य, शारिरिक तथा सिर्जनात्मक कलाभित्र बृहत यौनिकता शिक्षाको एक एकाई नै छ । जसमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकलगायत यौनिकताका विषयवस्तुलाई समेटिएको छ ।
कक्षा ९, १०, ११ र १२ मा पहिला अनिवार्य विषय रहेको स्वास्थ्य, वातावरण तथा जनसंख्या हटेको छ । अहिले स्वास्थ्य तथा शारिरिक शिक्षालाई ऐच्छिक विषयका रुपमा राखिएको छ । जसमा बृहत् यौनिकता शिक्षा समावेश छ । त्यसमा पनि जति मात्रामा विषयबस्तु हुनुपर्ने त्यति नभएको शिक्षकहरु गुनासो गर्छन् । विश्वविद्यालय स्तरका पाठ्यक्रमको कुरा गर्दा स्नातक तहमा स्वास्थ्य, शिक्षा, नर्सिङ र मेडिसिन संकायमा यो विषय समावेश छ । स्नातकोत्तरमा पनि बृहत यौनिकता शिक्षाको छुट्टै कोर्ष छ ।
नेपालमा बृहत् यौनिकतासमबन्धी छुट्टै अध्ययन, अनुसन्धान भएको छैन । तर युनेस्को, सेभ द चिल्ड्रेन, युएनएफपीए, युवालगायतका गैरसरकारी संस्थाले केहीक्षेत्र छनोट गरेर काम गरेका छन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार ५८ लाख ७६ हजार २६९ जनसंख्याका १० देखी १९ वर्ष उमेर समूहको छ । जुन कुल जनसंख्याको २०.१५ प्रतिशत हो । यस्तै ०–१९ वर्ष उमेर समूहका अपाङ्गता भएका बालबालिका र किशोरकिशोरीको जनसंख्या १ लाख ६७ हजार ४ सय २९ छ । यो उमेर समूहका किशोरकिशोरी शरिरिक परिवर्तन, हिंसा र दुर्व्यवहारमा पर्ने भएकाले उनीहरुलाई बृहत यौनिकता शिक्षा अति आवश्यक रहेको धगढीको सेती प्रादेशिक अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.खगेन्द्रराज भट्ट बताउँछन् । भट्टका अनुसार यौनिकता शिक्षाको कमिले उनीहरु बालविवाह गर्ने, असुरक्षित यौन सम्पर्क राख्ने, कम उमेरमा आमा बन्ने र असुरक्षित गर्भपतन गर्ने गर्छन् ।
ह्युमन राइट्स वाच र डब्ल्युभिआइएनले सन् २०२३ मा गरेको अध्ययन अनुसार नेपालका ३७ प्रतिशत किशोरीहरुको १८ वर्ष उमेर नपुग्दै र १० प्रतिशतको १५ वर्ष उमेरभित्र विवाह हुने गरेको पाइन्छ । यस्तै राष्ट्रिय तथ्यांक कार्यालयको सन् २०२३ को तथ्यांक अनुसार नेपालमा विवाहको कानुनी उमेर २० वर्ष भएपनि ४१.०९ प्रतिशत महिलाहरुले १० देखि १८ वर्षको उमेरमा र ७६.९५ प्रतिशतको २० वर्षको उमेरमा विवाह भएको भएको पाइन्छ ।
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सन् २०२३ को तथ्यांक अनुसार नेपालमा १५ देखि १९ वर्ष उमेर समूहका १४ प्रतिशत किशोरी आमा वा गर्भवती भइसकेका हुन्छन् । बृहत् यौनिकता शिक्षाले ढिलो उमेरमा यौनसम्पर्क राख्ने र अन्य गर्भनिरोधकको प्रयोग बढाउने कुरालाई प्रमाणित गरेको पाइएको छ । सन् २००६ मा युएनएड्सले गरेको अध्ययनअनुसार यस शिक्षाका कारण लागूऔषध प्रयोगमा कमी र स्वास्थ्य सेवाको प्रेषण संख्यामा वृद्धि भएको साथै लैङ्गिक हिंसा, लान्छना र भेदभाव समेत न्यूनीकरण भएको पाइएको छ ।
नेस्कोको सक्रियतामा सन् २००८–०९ मा यौनिकता शिक्षाले यौनिक व्यवहारमा पारेको प्रभावको अध्ययनको अनुसार यस शिक्षाको प्रभाव ढिलो उमेरमा यौन सम्पर्क सुरु गर्ने ३७ प्रतिशतले वृद्धि, यौन सम्पर्क गर्ने संख्या घटाउँदै लग्ने ३१ प्रतिशत, यौन जोडीको संख्या घटाउनेमा ४४ प्रतिशत, कन्डम तथा गर्भनिरोधका साधन अपनाउने ४० प्रतिशत र यौनिकता सम्बन्धी कुनै पनि जोखिम लिन नचाहने संख्या ५३ प्रतिशतले वृद्धि भएको देखाएको छ ।
युनेस्कोको २०१६ ग्लोबल रिभ्यु अनुसार, अधिकांश देशहरूले बृहत् यौनिकता शिक्षाको अवधारणालाई प्राथमिकता दिँदै यसको सक्रिय कार्यान्वयनमा जोड दिएका छन् । नेपाल सरकारले बृहत यौनिकता शिक्षाकै लागि भनेर छुट्टै नीति तथा कार्यक्रम बनाएको छैन । तर सन् १९९४ मा इजिप्टमा भएको ‘जनसंख्या र विकास’ सम्बन्धि सम्मेलनको कार्यनीतिमा हस्ताक्षर गरेलगत्तै यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सवालहरूमा प्रतिवद्धता जनाएको छ । परिणामस्वरूप स्वास्थ्य मन्त्रालयले सन् १९९८ मा गुणस्तरीय यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुँच तथा प्रतिकारात्मक सूचना तथा शिक्षामा जोड दिन राष्ट्रिय प्रजनन स्वास्थ्य रणनीति अवलम्बन गरिसकेको छ ।
नेपाल सरकारले किशोरकिशोरीको समग्र विकासका निम्ति आवश्यक सवालहरुलाई सम्बोधन गर्न राष्ट्रिय कार्ययोजना २०७०/७१–०७४/७५ तथा राष्ट्रिय किशोरकिशोरी स्वास्थ्य र विकास रणनीति २०७५ तयार गरी कार्यान्वयनमा ल्याएको छ । जसमा बृहत यौनिकता शिक्षा समावेश छ । राष्ट्रिय शिक्षा नीति २०७६ मा पनि यो विषय समावेश छ ।
नीतिमा धारा ११ को २ को १ मा शिक्षाको राष्ट्रिय नीति तथा मापदण्डको अधिनमा रही प्रदेश तहको शिक्षा सम्बन्धि योजना, कार्यव्रम, प्रशासन, व्यवस्थापन, नियमन र शिक्षासम्बन्धी कानुन बनाउनुपर्छ । धारा ११ को २ को १२ अनुसार विद्यालय तहका शिक्षकहरूको पेसागत विकास तथा तालिम सम्बन्धी पाठ्यक्रम, पाठ्यसामग्री विकास, तालिम सञ्चालन र अनुगमन प्रदेशले गर्नुपर्छ ।
तर सुदूरपश्चिममा प्रदेशले बनाउनुपर्ने शिक्षा नीति पनि अहिलेसम्म बनेको छैन । सामाजिक विकास मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत जयदेव महराका अनुसार प्रदेश सरकारको शिक्षा नीतिको ड्राफ्ट अन्तिम चरणमा पुगेको छ । प्रदेशले बृहत यौनिकता शिक्षाबारे विद्यालयकै लागि भनेर कुनै काम नगरेको उनि बताउँछन् । ‘हामीले नीति बनाएर सहजिकरण गर्ने हो । स्थानीय तहले त्यसलाई कार्यान्वयन गरेर विद्यालय स्तरमा काम गर्नुपर्छ,’ उनले भने ।
विद्यालयमा यौनिकता शिक्षालाई प्रभावकारी बनाउन विषयगत शिक्षक, शिक्षक तालिमको व्यवस्था र सिकाइमैत्री वातावरण बनाउनु पर्ने वरिष्ठ शिक्षा अधिकृत महरा बताउँछन् । युवा तथा किशोरकिशोरीको बृहत यौनिकता शिक्षालाई अधिकारका रूपमा सुनिश्चित गर्न विभिन्न अन्तर्राष्ट्रिय सन्धी–सम्झौता पनि बनेका छन् । जसमा बालअधिकारसम्बन्धी महासन्धि (सिआरसी), आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी प्रतिज्ञापत्र (आईसिईएससिआर), नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र (आईसिसिपिआर), महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि १९७९ (सिड), अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि २००६ (सिआरपिडि) र जनसंख्या तथा विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आईसिपिडि), कार्य योजना १९९४ रहेका छन् ।
दिगो विकास लक्ष्य २०१५ ले पनि माथि उल्लेखित अन्तर्राष्ट्रिय सम्झौतालाई आफ्नो सबै १७ वटा लक्ष्य २०३० सम्ममा प्राप्त गर्न आधार मानेको छ । जसमा लक्ष्य ३ (स्वस्थ र समृद्ध जीवन), लक्ष्य ४ (गुणस्तरीय शिक्षा) र लक्ष्य ५ (लैङ्गिक समानता) हरूले सबै युवा, बालबालिका तथा किशोरकिशोरीलाई बृहत यौनिकता शिक्षा दिइनुपर्नेमा जोड दिएको (नेत्रहीन युवा संघ नेपाल २०२३) छ ।
त्रिभुवन विश्वविद्यालयकी सहप्राध्यापक तथा यौनिकता शिक्षामा विद्यावारिधि गरिरहेकी शर्मिला पोखरेल विद्यालयस्तरमा यौनिता शिक्षा जति प्रभावकारी हुनुपर्ने हो त्यति नभएको बताउँछिन् । जसको मूल कारण पाठ्क्रममा कम विषवस्तु नभएर दक्ष शिक्षकको कमी हुनु हो । ‘बृहत यौकिता शिक्षाका लागि छुट्टै जनशक्ति हुनु आवश्यक छ, तर त्यस्तो छैन । सामाजिक वा स्वास्थ्य पढाउने शिक्षकले नै यो विषय पढाइ रहेका छन्,’ पोखरेल भन्छिन, ‘पहिलो कुरा त शिक्षकहरुलाई नै पूर्णज्ञान र यो विषय पढाउने कन्फिडेन्ट छैन ।’
उनका अनुसार विद्यालयमा बृहत यौनिकता शिक्षालाई प्रभावकारी बनाउन यो विषयमा दक्ष शिक्षक उत्पादन गर्नुपर्छ । जसका लागि सरकारले विभिन्न किसिमका शिक्षक तालिमहरु दिन आवश्यक छ ।
बृहत यौनिकता शिक्षालाई प्रभावकारी बनाउन सके बालविवाह, असुरक्षित गर्भपतन, यौन हिंसा, लैङ्गिक विभेद कम हुने र समानतामूलक समाज निर्माणमा सहयोग पुग्ने त्रिभुवन विश्वविद्यालय स्वास्थ्य तथा जनसंख्या शिक्षा विभागका विभागीय प्राध्यापक डा. भगवान् अर्याल बताउँछन् ।
यो शिक्षा किशोरकिशोरीलाई सही समयमा नदिए उनीहरु इन्टरनेटको दुरुपयोग गरेर गलत लतमा फस्ने सक्ने उनी बताउँछन् । जसलाई रोक्न विद्यालयमा बालबालिकाले बुझ्ने गरी यौनिकता शिक्षा दिन आवश्यक छ । यसका लागि शिक्षक, विद्यार्थी, अभिभावक र समुदाय स्तरमा यौकिता शिक्षाबारे प्रशिक्षणका कार्यक्रम गरी जनचेतना फैलाउनु पर्ने डा. अर्याल बताउँछन् ।
तपाईको प्रतिक्रिया