यूएईले गर्‍यो उड्ने ट्याक्सीको सफल परीक्षण

मंगलबार असार १७, २०८२/ Tuesday 07-01-25
Paschim Today

एजेन्सी । युनाइटेड अरब इमिरेट्सले उड्ने ट्याक्सीको सफल उडान परीक्षण गरेको छ । शहरका भीडभाडमा जामबाट बच्नका लागि यो ट्याक्सी उपयोगी हुने बताइएको छ ।

जोबी एभिएशनले सोमवार यस ट्याक्सीको उडान परीक्षण गरेको हो । मार्गाममा रहेको दुबई जेटम्यान हेलिप्याड र दुबई अल आइन रोडमा यो परीक्षण गरिएको हो ।

दुबईका युवराज मोहम्मद बिन राशिद अल मक्तुमले दुबईलाई नवप्रवर्तन तथा अत्याधुनिक पूर्वाधारको विश्वव्यापी केन्द्र बनाउन खोजिएको र फ्लाइङ ट्याक्सी त्यसतर्फको कदम भएको बताए ।

यसले दूरीहरू छोट्याउने र दुबईको जीवनस्तर उकास्ने उनको भनाइ छ । यसले दिगो एवं वातावरणमैत्री शहरी आवागमनलाई पुनर्परिभाषित गर्ने उनले बताए ।

दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट पाम जुमेरा पुग्न कारमा ४५ मिनेट लाग्ने गरेकोमा फ्लाइङ ट्याक्सीले जम्मा १२ मिनेटमा पुर्‍याइदिन्छ ।

जोबी एभिएशनका अध्यक्ष दिदिएर पापादोपुलोसले ब्याट्रीबाट चल्ने फ्लाइङ ट्रयाक्सीमा एक चालक र चार यात्रु बस्न मिल्ने जानकारी दिए । यससँग ३२० किलोमिटर प्रतिघन्टाको गतिमा उड्न सक्ने र ४५० किलोसम्मको भार बोक्न सक्ने क्षमता छ ।
परम्परागत हेलिकप्टरको तुलनामा यो १०० गुणा कम आवाज निकाल्छ ।

सन् २०२६ को मध्यतिरबाट यो फ्लाइङ ट्याक्सी बजारमा आउने बताइएको छ ।