महिलाहरू आर्थिकरूपमा सशक्त भए कसैले हेप्न सक्दैन : उपप्रमुख राना 

शुक्रबार असार २०, २०८२/ Friday 07-04-25
Paschim Today

धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले महिलाहरू आर्थिकरूपमा सशक्त भएमा कसैले पनि हेप्न नसक्ने बताएकी छन् ।

कोभिड–१९ पछिको महिलाको दिगो जीविकोपार्जनमा पहुँच वृद्धि, आर्थिक पुनःस्थापना तथा उत्थानशील परियोजनाअन्तर्गत आयोजना गरिएको दुईदिने वित्तीय साक्षरता तालिमको समापन कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेकी हुन् ।

मानव अधिकारका लागि महिला एकल महिला तथा सभा नेपालको संयुक्त आयोजनामा, यूएन वुमनको सहकार्यमा धनगढीमा तालिम सम्पन्न भएको हो ।

कार्यक्रममा उपप्रमुख रानाले भनिन्, "महिलाहरूले पनि पैसा आर्जन गर्न सक्नुपर्छ । महिलाको हातमा पैसा हुँदा घर–परिवार, समाज र आफन्तको व्यवहारमा परिवर्तन आउँछ, माया र सम्मान पनि बढ्छ ।"

उनले महिलालाई घरायसी कामलाई समेत आयआर्जनमा रूपान्तरण गर्न आग्रह गरिन् । "हामीले घरमा खानका लागि तरकारी लगाउँदै आएका छौं, अब त्यही बारीलाई व्यावसायिक बनाऔं । बाख्रा, कुखुरा, गाई, भैंसी जस्ता स्रोतबाट पनि आम्दानी गर्न सकिन्छ," उनले भनिन्, "सानो स्तरबाट सुरु गरेर आर्थिकरूपमा सबल बन्ने बाटो रोजौं ।"

No description available.

रानाले उद्यम गर्न चाहने महिलाहरूलाई धनगढी उपमहानगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै नगरपालिकाले मानवीय विकासलाई 'गौरवको योजना' बनाएको जानकारी दिइन् ।

कार्यक्रममा यूएन वुमनकी प्रदेश संयोजक प्रतिभा चौधरीले उद्यमशील महिलाहरूले आफ्नो उत्पादनको प्रवर्द्धनका लागि सामाजिक सञ्जालको उपयोग गर्नुपर्ने आवश्यकता औँल्याइन् । "समय समयमा साना अवसरहरू आइरहन्छन्, त्यसैले महिलाहरूले ती अवसर नछुटाउने गरी तयार रहनुपर्छ," उनले भनिन् ।

कार्यक्रम मानव अधिकारका लागि महिला एकल महिलाकी जिल्ला अध्यक्ष भगवती हमालको अध्यक्षतामा सम्पन्न भएको थियो ।