सुदूरपश्चिममा मुख्यमन्त्री शाह र रेशम चौधरीबीच बर्दियामा गोप्य भेटवार्ता : मुख्यमन्त्रीले देउवाको सन्देश सुनाए, चौधरी केन्द्रकै कुरा हुन्छ भने

आइतबार असार २२, २०८२/ Sunday 07-06-25
Paschim Today

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । बर्दियास्थित रेशम चौधरीको निवासमा आज दुई जनाबीच भेटवार्ता भएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाको सन्देश लिएर मुख्यमन्त्री शाह आज बिहान चौधरी निवास पुगेका थिए ।

बिहीबार मुख्यमन्त्री शाहले नाउपाको तर्फबाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नाउपा चिढिएको थियो । शुक्रवार सुदूरपश्चिम प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको नाउपाले शनिवार सङ्घीय सरकारबाट पनि बाहिरिने निर्णय गरेको थियो ।

शनिवार नै मुख्यमन्त्री शाह र सभापति देउवाबिच बुढानिलकण्डमा भेटवार्ता भएको थियो । देउवाले नाउपासँग छलफल र संवाद गरेर अघि बढ्न सुझाव दिएपछि मुख्यमन्त्री शाह र संरक्षक चौधरीबीच भेट भएको हो ।

भेटमा मुख्यमन्त्री शाहले देउवाको सन्देश सुनाएका थिए । मुख्यमन्त्री शाहले सुदूरपश्चिम सरकारमा सहभागी हुन चौधरीलाई आग्रह गरेका थिए । जवाफमा चौधरीले तत्काल सरकारबाट फिर्ता हुने निर्णय भइसकेको भन्दै सत्ता गठबन्धनका विषयमा केन्द्रमै छलफल हुने बताएका थिए । मुख्यमन्त्री शाहसँग भएको भेटघाटका विषयमा चौधरीले पनि बताएका छन् ।

‘उहाँ (मुख्यमन्त्री) आउनु भएको थियो भेट भयो । उहाँले सत्ताको कुरा गर्नुभयो मैले नाउपाले प्रतिपक्षमा बस्ने निर्णय भइसकेको जानकारी दिए ’चौधरीले भने ।