दृष्टि फाउन्डेसनद्वारा अत्तरियामा वृद्धाश्रम सञ्चालन

कैलाली । कैलालीको धनगढीमा क्रियाशील दृष्टि फाउन्डेसनले अत्तरियाको गोदावरी नगरपालिका–२, तेघरीमा वृद्धाश्रम सञ्चालनमा ल्याएको छ। आईतबार आयोजित उद्घाटन समारोहमा गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले वृद्धाश्रमको उद्घाटन गरे । कार्यक्रममा फाउन्डेसनकी अध्यक्ष कल्पना भट्टको सभाध्यक्षता भएको थियो।
उद्घाटन कार्यक्रममा नगर उपप्रमुख शारदा देवी रोकाया, कैलालीकी सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, धनगढी उपमहानगरपालिकाका पूर्व नगर प्रमुख नृप वड, तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले राज्यले लिनुपर्ने जिम्मेवारी दृष्टि फाउन्डेसनले निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले फाउन्डेसनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।
त्यस्तै, उप प्रमुख रोकायाले सडकमा अलपत्र अवस्थामा भेटिएका मानवहरूको उद्धार गर्दै आएको फाउन्डेसनको कार्यलाई “पुण्यको काम” भनी प्रशंसा गरिन। कार्यक्रममा नगर प्रमुख भट्टलाई वृद्धाश्रमको संरक्षकको रूपमा नियुक्त गरिएको छ।
फाउन्डेसनकी सञ्चालक कल्पना भट्टले सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा रहेको बताइन । उनले दृष्टि फाउन्डेसनमा रहेका धेरै महिला मानसिक असन्तुलनमा रहेको हुँदा ज्येष्ठ नागरिकलाई छुट्टै राख्नुपर्ने बाध्यताका कारण वृद्धाश्रम स्थापना गरिएको स्पष्ट परिन।
तपाईको प्रतिक्रिया