बाटो नै नभएको ठाउँमा सङ्ग्रहालय भवन निर्माणः सञ्चालनमा समस्या

आइतबार असार २२, २०८२/ Sunday 07-06-25
Paschim Today

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका(४, माघी होमस्टेमा चार वर्ष पहिले निर्माण सम्पन्न भएको सङ्ग्रहालय भवन बाटोको निकास नभएपछि सञ्चालनमा समस्या भएको छ ।

प्रदेश सरकारको अनुदान सहयोगमा निर्माण भएको उक्त भवनसम्म पुग्ने बाटो नभएपछि सञ्चालनमा आउन नसकेको स्थानीयको भनाइ छ ।

तत्कालीन माघी गाउँका भलमन्सा ताराप्रसाद चौधरीले प्रदेश सरकारको २० लाख रुपियाँ अनुदान सहयोगमा उपभोक्ता समिति मार्फत थारू सङ्ग्रहालय भवन निर्माण कार्य सम्पन्न भएको बताए। 

उनले माघी सामुदायिक वन क्षेत्र अन्तर्गत थारू समुदायले प्रयोगमा ल्याएको मरुवा र देउथानको करिब १० कट्ठा जमिनमा थारू सङ्ग्रहालय भवन निर्माण भएको जानकारी दिए । उनले नक्सामा बाटो भए पनि स्थानीयले खेती  लगाउने क्रममा बाटोसमेत जोतभोग गरेपछि अहिले बाटो छुट्याउन समस्या भएको उल्लेख गरे । भवन निर्माण पूर्व बाटो छोड्ने मौखिक सहमति भए पनि कार्यान्वयनमा समस्या भएको उनको भनाइ छ ।

सङ्ग्रहालय भवनसम्म पुग्न भयरबहादुर चौधरीले खनजोत गरेको जमिन हुँदै जानुपर्छ । उक्त जमिनमा खनजोत गर्दै गर्दा भेटिनु भएका चौधरीले ऐलानी जग्गा भएपनि वर्षौदेखि आफूले खेती लगाउँदै आएको बताए ।

उनले भवन निर्माण सामाग्री ल्याउन लैजान बाटो दिए पनि सधैंका लागि बाटो दिन नसक्ने जिकिर गरे। सङ्ग्रहालय भवन निर्माण गर्नुभन्दा पहिला बाटो छुट्याउनु पर्दथ्यो । पहिला बाटोको निकास नहुँदा अहिले समस्या आएको छ । 

स्थानीय सन्तोषी चौधरीले थारू समुदायको सङ्ग्रहालय बनाउने कुरामा गाउँमा छलफल भएको आफूले थाहा नपाएको बताए । 

पर्यटन प्रवर्धन गर्ने उद्देश्यले माघीका थारू समुदायको  आग्रह र सुदूरपश्चिम प्रदेश सरकार अनुदान सहयोगमा आर्थिक वर्ष २०७७।०७८ मा बजेट विनियोजित भई उक्त भवन निर्माण सम्पन्न भएको हो । माघी सामुदायिक होमस्टेका उपाध्यक्ष बालकुमार चौधरीले बाटोमा विवाद भयपछि सञ्चालनमा ढिलाई भएको बताए । 

उनले चालु आर्थिक वर्षमा सङ्ग्रहालयका लागि तारा गाउँविकास समितिले दुई लाख रुपियाँ अनुदान सहयोग गरेको उल्लेख गर्दै हाल भवनलाई रङरोगन गर्ने कार्य सम्पन्न गरेको बताए। 

वडा नम्बर ४ का वडाध्यक्ष भरतबहादुर शाहीले सङ्ग्रहालय निर्माण भएको स्थलसम्म जानका लागि नक्सामा बाटो भए पनि स्थानीयले ऐलानी जग्गामा खेती लगाउने क्रममा बाटोको जग्गासमेत प्रयोग गरेको जानकारी दिए।