कञ्चनपुरको दोधारा चाँदनी सुक्खा बन्दरगाहमा रुख कटानको काम सम्पन्न

कञ्चनपुर । दोधारा-चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्न एक हजार पाँच सय ९३ रुख कटानीको काम सकिएको छ।
रुख कटानको काम सकिएपछि महाकाली पारिको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको काम छिट्टै सुरु हुने भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको गौरीशंकर सामुदायिक वनमा रुख कटानको काम सकिएसँगै निर्माण प्रक्रिया अघि बढाउने बाटो खुलेको हो । भारतसँगै सीमा जोडिएको दोधारा चाँदनी नगरपालिका–१ मा पर्ने गौरीशंकर सामुदायिक वनमा रहेका १ हजार ५ सय ९३ रुख काट्ने काम सकिएको हो ।
सुरुमा सामुदायिक वनको ४१ हेक्टर क्षेत्रफलमा रहेका १ हजार ७ सय २ रुख काटनुपर्ने भए पनि छपान गरिएका १ सय ९ रुख चोरी भएपछि काट्नुपर्ने रुखको संख्या कम भएको हो । काठसमेत चोरी हुन सक्ने भएकाले कटान गरिएको काठ निकुञ्जको पिपरैया पोस्टमा घाटगद्दी गरिएको छ ।
‘अब रुख कटानको काम सकिएपछि फिल्ड खाली भएको छ, छिट्टै निर्माण प्रक्रिया सुरु हुन्छ,’ इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भने, ‘एक किसिमले काम सुरु भयो भन्दा पनि हुन्छ, दुई देशका प्रधानमन्त्रीबाट संयुक्त रूपमा शिलान्यासपछि औपचारिक रूपमा काम सुरु हुनेछ ।’
तपाईको प्रतिक्रिया