उद्धारमा ६८२ सुरक्षाकर्मी खटिएका छन् : गृहमन्त्री

बुधबार असार २५, २०८२/ Wednesday 07-09-25
Paschim Today

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भोटेकोसी आएको बाढीका कारण रसुवाको गोसाइकुण्ड गाँउपालिका–२ को रसुवागढीमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको बताएका छन् । 

मंगलबार प्रतिनिधिसभामा गृहमन्त्री लेखकले रसुवामा भएको  विपद्को घटनामा हालसम्म नेपाल प्रहरीका दुईजना, ११ जना सर्वसाधारण नेपाली एवं ६ जना चिनियाँ नागरिक गरी १९ जना बेपत्ता भएको जानकारी दिए । 

मन्त्री लेखकले बेपत्ताहरूको खोजीकार्यका लागि नेपाली सेनातर्फ ७५ जना, नेपाल प्रहरीतर्फ ३६८ जना र सशस्त्र प्रहरी बलतर्फ २३९ जना गरी ६८२ जना सुरक्षाकर्मी खटिएको बताए । 

“हालसम्म धादिङस्थित त्रिशूली नदीको किनारमा हालसम्म नाम, थर नखुलेको दुई पुरुषको शव फेला परेको छ । रसुवा, धादिङ र नुवाकोटमा तीनवटा शरीरको अंग फेला परेको छ,” उनले भने, “नुवाकोट बिदुर नगरपालिका–३, शिरखाली नयाँ पुलस्थित त्रिशुली नदीको किनारामा दाँया खुट्टा नभएको अवस्थामा पुरुषको शव फेला परेको छ ।” 

धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, चरौंदीस्थित त्रिशूली नदी किनारमा अन्दाजी ४०/४५ वर्षका पुरुषको शव फेला परेको उनले बताए । भरतपुर नगरपालिका– २९ पन्ध्रकिलोस्थित त्रिशूली नदीको किनारमा इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव फेला परेको उनले जानकारी दिए । 

मन्त्री लेखकले हालसम्म हवाई उद्दारबाट ३० जना नागरिकको उद्धार गरिएको जानकारी दिए । 

मन्त्री लेखकले सुख्खा बन्दरगाहमा भन्सार जाँचपासको लागि राखिएका २३ वटा मालबाहक कन्टेनर ट्रक, ३५ वटा विद्युत्तीय गाडी र ६ वटा सिनो ट्रक बाढीले बगाएको बताए । मन्त्री लेखकले भने, “रसुवागढी हाइड्रोपावरको ड्याम, त्रिशूली–३ बगाएर लगेको  र अन्य थप क्षतिको विवरण संकलन भइरहेको जानकारी दिए ।