खेलाडी खेलेरै बाँच्न सक्ने स्थितिमा पुगेका छन् : प्रधानमन्त्री ओली

बुधबार असार २५, २०८२/ Wednesday 07-09-25
Paschim Today

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रमा वर्तमान सरकारले पर्याप्त ध्यान दिएको दाबी गरेका छन् । बुधबार विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडीलाई सम्मान र पुरस्कार प्रदान कार्यक्रममा ओलीले अहिले खेलाडीहरू खेलेरै बाँच्न सक्ने स्तरमा पुगेको बताए ।

पहिले खेलमै समर्पित खेलाडी हुन सक्ने स्थिति नरहेकामा अहिले समर्पित खेलाडी हुन सक्ने परिस्थिति निर्माण भएको बताए ।

"खेललाई अघि बढाउन थालेको धेरै भएको छैन । अरू धेरै देशमा संगठितरूपले खेल अघि बढाएको लामो समय भइसक्दा हाम्रोमा संगठितरूमपा खेल अघि बढाएको थिएन । पछिल्लो समयमा बढाए पनि त्यसमा पर्याप्त ध्यान गएको थिएन । अहिले सरकारको पनि ध्यान छ र अब खेलाडीहरू व्यावसायिकरूपमा पनि खेलको अर्थ छ, खेलबाट पनि बाँच्न सकिन्छ जस्ता स्तरमा पुगेका छन्," उनले भने ।

उनले अगाडि थपे, "पहिला व्यावसायिक खेलाडी वा सम्पूर्णरूपमा खेलमै समर्पित खेलाडी हुनै सक्दैन थियो । अहिले समर्पित खेलाडी हुन सक्छ । यसैले नै सफलता पनि प्राप्त गरिरहेका छौँ," उनले भने ।