प्रमुख प्रशिक्षकका कारण कप्तान चयनमा विवाद भयो : एन्फा

बुधबार असार २५, २०८२/ Wednesday 07-09-25
Paschim Today

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डका कारण कप्तान चयनमा विवाद भएको जनाएको छ।  

एएफसी एसियन कप छनोट खेल्न उज्बेकिस्तान गएको नेपाली टोलीका अफिसियलहरुले बुधबार एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै कप्तान चयनमा प्रमुख प्रशिक्षक प्याट्रिक एकतर्फी ढंगले अघि बढ्दा विवाद भएको जनाएका हुन्।

टिम व्यवस्थापक तथा एन्फा कार्यकारी समिति सदस्य सरिला श्रेष्ठले काठमाडौंमा नै खेलाडी बिदाइ कार्यक्रममा कप्तान चयन गर्न प्रस्ताव गर्दा प्याट्रिकले असहमति जनाएको बताइन्। उनले एएफसी एसियन कप छनोटको पहिलो खेलको केहि समय अघि समेत कप्तानसहितको टिम लिस्ट नआएपछि आफूहरूले पटकपटक आग्रह गर्दा ५ मिनेटअघि मात्रै टिमको नाम लिस्ट आएको जिकिर गरिन्। तर त्यसमा कप्तानको नाम नभएकाले सिनियर खेलाडीको रुपमा रेनुका नगरकोटीको नाम राखेर लिस्ट एएफसीलाई पठाएको उनले बताइन्। 

त्यसपछि आर्मब्यान्ड लगाउन खोज्दा प्रशिक्षकले रोकेर साम्बा कप्तान भएको जानकारी गराएको श्रेष्ठले बताइन्। उनले साम्बालाई कप्तान बनाउँदा आफूहरूलाई कुनै आपत्ति नहुने भएपनि प्रशिक्षक प्याट्रिकले किन त्यस्तो गरे भन्न बुझ्न नसकेको धारणा राखिन्।  

उनले प्रशिक्षक प्याट्रिक नेपाल फर्कने वा नफर्कने भन्ने बारेमा अनविज्ञ रहेको बताइन्। नेपाली टिमका व्यवस्थापकसँग प्याट्रिकले आफ्नो पारिश्रमिक माग्नका लागि भनिदिन समेत आग्रह गर्ने गरेको श्रेष्ठको भनाइ छ।