खेलकुदका पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ : मन्त्री चौधरी
2025-07-12-02-10-27.jpeg)
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुदका पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । शनिबार कोशी प्रदेश खेलकुद बोर्डले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।
मन्त्री चौधरीले आगामी आर्थिक वर्षको बजेटमा सरकारले खेलकुद क्षेत्रको बजेट दोब्बरले बढाएको बताए । उनका अनुसार सरकारले विगतका वर्षहरूमा युवा तथा खेलकुद मन्त्रालयलाई तीन करोड बजेट विनियोजन गर्दै आएकोमा आगामी आर्थिक वर्षको बजेटमा दोब्बरले बढाएर ६ अर्ब विनियोजन गरेको छ। मन्त्री चौधरीले ६ अर्ब बजेट मध्ये ४ अर्ब खेलकुद क्षेत्रका पूर्वाधार निर्माणका लागि विनियोजन गरिएको बताए । चौधरीले भने‘ आगामी आर्थिक वर्षका मन्त्रालयले ४ अर्ब बजेट पूर्वाधार निर्माणका लागि मात्रै विनियोजन गरेको छ ।’
मन्त्री चौधरीले बजेट विनियोजन गरिएका आयोजनाको तत्काल डीपीआर गर्न र डीपीआर गरेका आयोजनाबारे मन्त्रालयलाई साउन भित्रै जानकारी दिन पनि आग्रह गरे । उनले आगामी आर्थिक वर्ष द्रुत गतिमा खेलकुदका पूर्वाधार निर्माण गर्ने दाबी पनि गरे । मन्त्री चौधरीले राम्रा खेलाडी उत्पादनका लागि स्कुल देखि ओलम्पिक भन्ने कार्यक्रम पनि सरकारले कार्यान्वयनमा लैजाने तयारी गरेको जानकारी दिए ।
उनले कोशी प्रदेश खेलकुदमा पछि परेका कारण खेलकुद क्षेत्रलाई उकास्ने र खेलाडीको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने कार्यक्रम ल्याउन प्रदेश सरकार र स्थानीय तहहरूलाई आग्रह गरे । कार्यक्रममा खेलकुद क्षेत्रका खेलाडी, प्रशिक्षक, पदक विजेता खेलाडी र पत्रकारहरूलाई समेत सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
तपाईको प्रतिक्रिया