साउन २१ गतेभित्र शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासङ्घको चेतावनी

शुक्रबार श्रावण ३, २०८२/ Friday 07-18-25
Paschim Today

काठमाण्डाै – नेपाल शिक्षक महासङ्घले साउन २१ गतेभित्र विद्यालय शिक्षा ऐन जारी नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । महासङ्घले आज काठमाण्डौमा पत्रकार सम्मेलन गरी अबको २० दिनभित्र विद्यालय शिक्षा ऐन जारी गर्न सरकारलाई अल्टिमेटम दिएको हो ।

महासङ्घले संसद्को शिक्षा समितिमा विधेयकमाथि चलिरहेको छलफल छिटो सकेर प्रतिनिधिसभामा पेश गर्न र यही साउन २१ गतेभित्र पारित गराउन सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराएको छ । साथै महासङ्घले आफ्नो ध्यानाकर्षणलाई बेवास्ता गरेमा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने विज्ञप्तिमार्फत चेतावनी दिएको छ ।

महासङ्घले गएको चैत २० गतेदेखि झन्डै एक महिना काठमाण्डौ केन्द्रित आन्दोलन गरेको थियो । सरकार र महासङ्घबीच असार १५ गतेभित्र ऐन जारी गर्ने सहमति भए पनि अहिलेसम्म ऐन जारी हुन सकेको छैन ।