प्रमुख प्रशासकीय अधिकृत कुटिएपछि गौरीगंगाको सेवा प्रभावित

शुक्रबार श्रावण ३, २०८२/ Friday 07-18-25
Paschim Today

धनगढी : कैलालीको गौरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशी कुटिएपछि सेवा प्रभावित भएको छ।

नगर प्रमुख देवीदत्त कडेलका स्वकीय सचिव उमेश जोशीले बिहिवार धर्मानन्दलाई कार्यकक्षमा नै कुटपिट गरेपछि शुक्रवार सेवा प्रभावित भएको हो।

गौरीगंगा नगरपालिकाका कर्मचारीहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै अति आवश्यक बाहेकका काम गर्न नसकिने बताएका हुन्। उनीहरूले दोषीलाई कानुनी कारबाही र कर्मचारीहरूलाई सुरक्षाको वातावरण तयार पार्न माग गरेका छन्। नगरपालिकाका सबै कर्मचारीहरूको सुरक्षाको प्रत्याभूति नभएसम्मका लागि अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरू स्थगन गरिएको हो। कर्मचारीहरूले सार्वजनिक गरेको विज्ञप्तिमा बिहिवार दिउँसो प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीमाथि कार्यकक्षमा कुटपिट तथा अभद्र व्यवहार गरिएको उल्लेख गरिएको छ।

उप–सचिव धर्मानन्द जोशीलाई नगर प्रमुख कडेलका सहयोगी उमेशले कुटेका हुन्। नगर प्रमुख कडेलले पटक–पटक आफ्नो कार्यकक्षमा बोलाउदा पनि प्रमुख प्रशासकीय अधिकृत जोशीले अटेरी गरेपछि उमेशले हातपात गरेको बताइएको छ।