बैतडीका नागरिकले डडेल्धुरामा कर बुझाउँदै, समस्या समाधान गरिदिन मन्त्रीलाई गरे आग्रह

बुधबार श्रावण ८, २०८२/ Wednesday 07-23-25
Paschim Today

बैतडी । बैतडीको मेलौली नगरपालिका वडा नं ८ का केही क्षेत्रका नागरिकले मालपोत कर डडेल्धुरामा बुझाउँदै आएका छन् । साविकको विशालपुर गाविस वडा नं ३,४, ५ र ६ का स्थानीयहरुले मालपोत कर डडेल्धुरामा बुझाउँदै आएका हुन् । 

संघीयता अघि मालपोत कार्यालय डडेल्धुरामा मालपोत बुझाउँदै आएका बैतडीको विशालपुरका स्थानीय संघीयतापछि डडेल्धुराको भागेश्वर गाउँपालिकामा मालपोत कर बुझाउँदै आएका छन् । 

बर्षौंदेखि स्थानीयहरुले यो समस्या भोगिरहेका भएपनि समस्याको समाधान हुन सकेको छैन् । २०३२ सालदेखि यहाँका स्थानीयहरुले डडेल्धुरामा मालपोत कर बुझाउँदै आएका मेलौली नगरपालिका वडा नं ८ का वडा अध्यक्ष तपेन्द्र बिष्टले बताए । 

करीब ६ सय घरधुरीले बैतडीमा बसोबास गरिरहेका भएपनि कर तिर्न भने डडेल्धुरा धाउनुपर्ने बाध्यता रही आएको छ । राज्य पुनर्संरचनापछि समस्याको समाधान हुने आशा गरेका नागरिकहरुको आशा पूरा हुन सकेको छैन् । 
वडाबासीको मतदाता नामावली बैतडीमै रहेको भएपनि मालपोत कर तिर्न डडेल्धुरा धाउनुपर्ने बाध्यता रही आएको छ । 

आफूहरुको समस्या समाधान गरिदिन गृहमन्त्री रमेश लेखक र भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई आग्रह गरिएको स्थानीय अगुवा महेशदत्त भट्टले बताए । 

प्रदेशसभा सदस्य शिवराज भट्टसहितको टोलीले गृहमन्त्री लेखक र भूमी व्यवस्था मन्त्री अधिकारीलाई भेटेर यहाँको समस्याका बिषयमा जानकारी गराएको भट्टले बताए । 

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अधिकारीलाई प्रदेश सभा सदस्य भट्ट नेतृत्वको टोलीले समस्या समाधानका लागि ज्ञापन पत्र समेत बुझाएको छ । ज्ञापन पत्र बुझ्दै मन्त्री अधिकारीले समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएको स्थानीय अगुवा महेशदत्त भट्टले बताए ।

२०३२ सालमा  डडेल्धुरा जिल्लाबाट विशालपुर गाविसलगायत तल्लोस्वराड क्षेत्रका १३ गाविस बैतडीमा गाभिँदा विशालपुर गाविसका चारवटा वडाको मालपोतको स्रेस्ता डडेल्धुरामै छुटेका कारण दशकौँदेखि बैतडीबाट डडेल्धुरा गएर मालपोत कर बुझाउनु पर्ने बाध्यता रही आएको छ ।