लौटैया ताल पर्या-पर्यटनको नयाँ गन्तव्य बन्दै

बुधबार श्रावण ८, २०८२/ Wednesday 07-23-25
Paschim Today

कैलाली: कैलालीको भजनी नगरपालिका-२ स्थित राधाकृष्ण सामुदायिक वन क्षेत्रमा रहेको लौटैया ताल केही वर्ष अगाडिसम्म अस्तित्वमा थिएन । सुकुम्बासीले अतिक्रमण गरी बस्ती बसेको यस क्षेत्रमा अतिक्रमित संरचना हटाएर सामुदायिक वनका रूपमा संरक्षण गर्दै ताल निर्माण गरेपछि यो क्षेत्र पर्या(पर्यटनको नयाँ गन्तव्य बन्दै गएको हो ।

घामले पानीमा तरङ्ग खेलाइरहेको छ । तालको वरिपरि हरियाली वातावरणले अझै सौन्दर्य थपेको छ । आन्तरिक पर्यटक बोटमा चढेर तालमा रमाइरहेका छन् । यसरी रमाउने पर्यटकको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । सामुदायिक वनका अगुवाहरूले एक दशकअघि अतिक्रमण हटाएर ताल निर्माण गरेपछि अहिले आन्तरिक पर्यटकका लागि यो ताल पर्या–पर्यटनको नयाँ गन्तव्य बन्दै गएको राधाकृष्ण सामुदायिक वनका अध्यक्ष खुमबहादुर खड्काले बताए । “तत्कालीन समयमा अतिक्रमण हटाउन त्यति सहज थिएन । अतिक्रमण हटाएको भन्दै मरणासन्न हुनेगरी कुटपिट गरेको याद ताजै छ”, उनले भने ।

खड्काले सुकुम्बासीलाई किन हटाएको भन्दै घरमा आएर आफूमाथि कुटपिट भएको स्मरण गरे । उनि यस सामुदायिक वनको स्थापना ९२०५६० देखि अध्यक्षका रूपमा छन । उनले भने, “सुरुआतमा म अध्यक्ष भएँ । बीचमा अरू पनि आए तर गाँउलेले फेरि मलाई अध्यक्ष बनाए ।” वन संरक्षणप्रतिको निरन्तर पहलका कारण तीन दशकदेखि वनमा कार्यरत रहेको खड्काले जानकारी दिए । अतिक्रमण, छाडा चरिचरण र बर्सेनि वन डढेलोका वारिपारि गाउँ देखिने वन अहिले घना हरियालीमा परिणत भएको उनको भनाइ छ ।

अहिले यो वनमा भारतको दुधुवा हुँदै आउने पाटबाघले डमरुहरू हुर्काउने गरेका अध्यक्ष खड्काले जानकारी दिए । अहिले वनमा चित्तल, बँदेल, गोहोरो, अजिङ्गरलगायत विभिन्न चराचुरुङ्गीको सुरक्षित बासस्थान छ हुनुका साथै लौटैया तालमा यी वन्यजन्तु पानी पिउन आउने गरेका उनले उल्लेख गरे ।

उनका अनुसार समूहले वनका खाली ठाउँमा बर्सेनि वृक्षारोपण गर्दै आएका छन् । वनमा बाँस, कुरिलो, सर्पगन्धालगायतका गैरकाष्ठ प्रजातिको रोपण गरिएको जनाउँदै उनले संरक्षणप्रतिको गहिरो लगाव र निरन्तरताको पहलका कारण सन् २००३ मा आफूलाई ‘अब्राहम कन्जरभेसन अवार्ड’पनि प्राप्त भएको बताए । उक्त सम्मानले आफूलाई वन संरक्षणमा थप उत्साहित बनाएको उनले धारणा राखे ।

खाली गरिएको उक्त क्षेत्रमा सानो ड्याम बनाएर प्राकृतिक रूपमा पानी जम्मा गर्नेगरी ताल बनाइएको खड्काले जानकारी दिए । “पहिले यहाँ माछापालनमा मात्रै प्रयोग हुन्थ्यो । तर हामीले ताललाई जगेर्ना गर्ने र पर्यटनसँग जोड्ने सोच बनाएर योजनाबद्ध विकास गरेका छौँ”, उनले भने।

योजनाबद्ध विकाससँगै पर्यटन प्रवर्द्धनमा केन्द्रित भएपछि आज लौटैया ताल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको अध्यक्ष खड्काले बताए । उनका अनुसार तालको किनारैकिनार तारबार गरिएको छ । अहिले तालमा तीनवटा डुङ्गा (बोट) सञ्चालित छन् । यो ताल विद्यार्थी, स्थानीय बासिन्दा, वृद्धवृद्धा सबैको रोजाइमा पर्ने गरेको उनको भनाइ छ ।

विद्यार्थीका लागि रु १५ मा डुङ्गा चढ्न पाउने व्यवस्था गरिएको जनाउँदै पार्क निर्माण समितिका अध्यक्ष अर्जुन सोबले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सुविधा दिने गरिएको बताए । उनका अनुसार अन्य व्यक्तिलाई रु ३० शुल्क तोकिएको छ । सोबले भने, “दैनिक दुई सयभन्दा बढी पर्यटक यहाँ आउँछन् । सबैले पालो पाउँदैनन्, कहिलेकाहीँ डुङ्गा चढ्न नपाएर फर्किनेहरू पनि हुन्छन् ।” डुङ्गा सञ्चालन पछि दैनिक रु तीन हजारसम्म आम्दानी भइरहेको जनाउँदै उनले डुङ्गा सयर गर्न बढी विद्यर्थी आउने गरेका बताए ।

सामुदायिक वनको आम्दानी बढेसँगै स्थानीयलाई रोगजारीको अवसर पनि सृजना भएका वनका अध्यक्ष खड्काले बताए । “वनभित्र फोटो खिच्नका लागि फोटोग्राफरलाई महिनाको रु दुई हजार १०० लिनेगरी व्यवस्था गरिएको छ । नगरपालिका र वडामा दर्ता गरी फोटोग्राफरले फोटो खिच्न पाउने निर्णय गरिएको छ, जसका कारण स्थानीय युवाले रोजगारी पाएका छन्”, उनले भने ।

तालको नजिकै बन्न थालेको थारू सङ्ग्र्रहालयले लौटैया तालको महत्व बढाएको छ । सङ्घीय सरकारले रु ९० लाख र प्रदेश सरकारले रु १० लाख बजेटमार्फत सङ्ग्रहालयको संरचना निर्माण गरेको भजनी नगरपालिका–२ का वडाध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिए । उनले भने, “वडा कार्यालयमार्फत पनि केही रकम सहयोग गरेका छौँ । डुङ्गा सयरको सुविधासहित पार्क सञ्चालनमा आइसकेको छ । सङ्ग्रहालयको घर बन्न बाँकी छ ।”

पर्या–पर्यटनसँगै थारू कला, संस्कृतिको संरक्षणका लागि सङ्ग्रहालय बनाउन लागिएको भजनी(२ का वडाध्यक्ष पुनले बताए । उनका अनुसार हाल सङ्ग्रहालयको संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । “भवन बन्दै छ, तर भित्र राखिने परम्परागत सामग्री, थारू जीवनशैली झल्काउने पुराना औजार र लुगाकपडा अझै सङ्कलन हुन बाँकी छ”, वडाध्यक्ष पुनले भने, “सङ्ग्रहालय बनेपछि लौटैया ताल आउनेहरूले डुङ्गा सयरका साथै थारू संस्कृति पनि नजिकबाट देख्न पाउनेछन् । यसले पर्यटकको चहलपहल झन् बढाउने छ ।”

वनका अध्यक्ष खड्काले अहिले ताल छ बिघा क्षेत्रमा फैलिएको जनाउँदै सामुदायिक वन समितिले यसलाई २० बिघासम्म विस्तार गर्ने योजना अघि सारेको बताए । कैलालीको यो सानो ताल आजभोलि सामुदायिक वनहरूमा पर्या(पर्यटनको सफल उदाहरण बन्दै गएको छ ।

यहाँ वनभोज खानआउनेहरूका लागि रु आठ सयमा भाडा, दाउँरा, पानीलगायत सामग्रीको व्यवस्था सामुदायिक वनले गर्दै आएको उल्लेख गर्दै वडाध्यक्ष पुनले यसबाट वनको आम्दानी बढ्नाका साथै स्थानीयलाई रोजगारी सृजना भइरहेको बताए ।

राधाकृष्ण सामुदायिक वनका अध्यक्ष खड्काले भने, “हामीले भर्खरै डुङ्गा सञ्चालन गरेका छौँ । यसलाई कम मूल्यमा सुविधा लिन पाउने व्यवस्था गरेका छौँ र आम्दानी पनि भइरहेको छ । त्यसैबाट वनको संरक्षणका साथसाथै फोहरमैला व्यवस्थापन र पर्या–पर्यटनका थप पूर्वाधार निर्माणमा लगानी गर्नेछौँ ।” वनमा पर्या(पर्यटनका क्षेत्रमा पूर्वाधार विस्तार गर्न थालिएको बताउँदै उनले सुरुआतमै आन्तरिक पर्यटकको रोजाइमा परेकाले आगामी दिनमा विस्तृत योजना बनाएर कार्यान्वयन गरिने उल्लेख गरे ।

वन ऐन र नियमावलीमा सामुदायिक वनमा पर्या–पर्यटन सञ्चालन गर्न सकिने प्रावधान रहेको जनाउँदै उनले सरकारले ‘सामुदायिक वनमा पर्या–पर्यटन सञ्चालन कार्यविधि’ समेत जारी गरेकाले सोहीअनुसार आगामी योजना निर्माण गरिने उल्लेख गरे ।