बागमती प्रदेशका मुख्यमन्त्री लामाले आइतबार राजीनामा दिने

शनिबार श्रावण १८, २०८२/ Saturday 08-02-25
Paschim Today

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले राखेको सर्त पूरा हुने भएपछि आइतबार पदबाट राजीनामा दिने भएका छन् । सभापति शेरबहादुर देउवासँग शनिबार बुढानीलकण्ठमा भएको छलफलपछि लामा सशर्त राजीनामा दिन तयार भएका हुन् ।

देउवाको उपस्थितिमा भएको छलफलमा लामाले साउन १४ गते मन्त्री नियुक्त गरेका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई निरन्तरता दिने सर्तमा पदत्याग गर्न सहमति भएको बताइएको छ ।

मुख्यमन्त्री लामा साउन १४ गते पार्टी संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएका थिए । दलको नेतामा हार बेहोरेपछि उनलाई पार्टीभित्रबाट राजीनामा दिन दबाब बढेको थियो । 

देउवाले शुक्रबार लामालाई निवासमा बोलाएर राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । शनिबारको छलफलमा बानियाँ, लामा र लामाको पक्षमा रहेका १४ जना सांसद सहभागी थिए । छलफलमा पार्टीभित्रको विभाजनलाई मिलाएर अघि बढ्ने विषयमा पनि सहमति भएको हो । 

मुख्यमन्त्री लामाले राजीनामाको तयारी गरे पनि प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा भने अस्पताल डिस्चार्ज भएका छैनन् । मूत्र थैलीमा सङ्क्रमण भएपछि गत बिहीबार अस्पताल भर्ना भएका प्रदेश प्रमुख देवकोटा काठमाडौँ स्थित ग्राण्डी अस्पतालमा उपचाररत छन् ।