देउडालाई ‘फ्युजन’ गरेर सफल भएका टंक तिमिल्सिना

काठमाडाैँ । अछामका टंक तिमिल्सिनाले गायक बन्छु भन्ने सोचेकै थिएनन् । जीवनमा बढीजसो त नसोचेकै हुन्छ । उनको जीवनमा पनि त्यस्तै भइदियो ।
नेपालगन्जको रेडियो भेरीमा साङ्गीतिक कार्यक्रम चलाउँदा मैले कहिलेकाहीँ श्रोतासँग गीत गाउँथे । तपाईंको स्वर राम्रो छ भनेर श्रोताले फुर्क्याएकै भरमा गीत रेकर्ड गर्ने सोच आयो,’ टंक तिमिल्सिना १४ वर्षअघिका पलहरू सम्झन्छन् ।
त्यतिबेला उनले गायिका संगीता बडुवालसँग ‘लाइगयो रतेडी’ बोलको देउडा गीत पस्किएका थिए । यो गीत सोचेजस्तो चलेन तर उनले गीत रेकर्ड गर्न भने छाडेनन् । निरन्तरको प्रयासले यो १४ वर्षको दौरानमा उनी एक सफल गायकमा दर्ज भइसकेका छन् ।
‘मेरी चम्पा’, ‘चल्यो बतास’, ‘मिठो बोलीले’, ‘रातिराति नहिँड डिस्को पार्टीमा’, ‘जाउँ न हुक्का बार’, ‘मैना’, ‘सनसनी सनसनी यो मुटु खाइरहने’, ‘चमक्क–चमक्क’जस्ता हिट गीतका गायक हुन्— टंक तिमिल्सिना । उनका थुप्रै गीत करोड क्लबमा परेका छन् ।
दोस्रो जनआन्दोलनपछि एफएम रेडियोको दबदबा र प्रभाव बढ्दै थियो । रेडियो भेरीमा टंकले दुई वटा कार्यक्रम चलाउँथे— ‘रमाइलो गोधुली साँझ’ र ‘लोक लहर’ । कार्यक्रमले आफ्नो क्षेत्रमा उनलाई सेलिब्रिटीका रूपमा स्थापित गराइसकेको थियो । उनी कलाकारहरूसँग अन्तर्वार्ता गर्थे, श्रोताहरूसँग लाइभ दोहोरी गाउँथे । श्रोताहरूले हौस्याएर भनिरहन्थे— तपाईंको स्वर राम्रो छ, एल्बम निकाल्नुस् । यसरी उनी गीत–संगीतको प्रेममा परिसकेका थिए ।
एसएलसी गरेपछि प्लस टु अध्ययनका लागि अछामबाट नेपालगन्ज पस्दा टंकलाई सबै कुरा नौलो लागिरहेको थियो— अनौठो सहर, त्यसअघि मोटर देख्ने मौका समेत नपाएका उनका लागि सबै परिवेश फरक थियो; सहनै नसकिने गर्मी । बेलाबेला उनलाई अछामै फर्किनुपर्छ कि भन्ने लाग्थ्यो ।
नेपालगन्जमा रेडियोमा काम गर्दागर्दै गीत रेकर्ड गरेपछि उनलाई कताकता लाग्न थाल्यो, नहाल्नु हात हालियो, अब यसमा सफल हुनैपर्छ । यसैबिच २०७० मा उनी काठमाडौँ आए, काठमाडौँमा सुरुमा उनका लागि जागिर नै ठुलो कुरा थियो । स्वयम्भूको एक दोहोरी साँझमा गाउने काम पाए । सुरुमा रेकर्ड गरेका गीत नचलेकाले उनी केही समय गीत ननिकाल्ने सोचमा थिए तर काठमाडौँको माहोलमा उनी त्यसै बस्न सकेनन् । काठमाडौँ आएको वर्ष दिनमा उनले एउटा गीत रेकर्ड गरे— ‘सनसनी सनसनी मुटु खाइरहने, त्यही भएर म सुर्खेत आइरहने’ बोलको गीत उनले गायिका टीका पुनसँग गाएका थिए । भद्र वलीको सङ्गीत र देवेन्द्र खत्रीको शब्द रहेको यस गीतले बिस्तारै सनसनी मच्चाउँदै गयो, सुदूरपश्चिम र कर्णालीतिर तहल्कै पिट्यो । त्यतातिर हुने विभिन्न महोत्सवमा उनलाई सम्झन थालियो ।
एकपटक उनी गीत गाउनकै लागि बर्दिबास पुगेका थिए, त्यतातिर चल्ने गाडीमा समेत उनले आफ्ना गीत र अरु देउडा गीत बजेको सुने । ‘त्यतिबेला मलाई युद्ध नै जितियो जस्तो लागेको थियो,’ उत्साहित हुँदै उनी भन्छन्, ‘त्यो खुसीलाई म शब्दमा व्यक्त गर्न सक्दिनँ ।’
पहिलोपटक उनलाई कैलालीको सुख्खड उद्योग वाणिज्य संघले बोलाएको थियो, काठमाडौँदेखि आतेजाते प्लेन टिकटसहित ३० हजार रुपैयाँ पारिश्रमिक दिएर । सुदूरपश्चिममा आफ्नो क्रेज कति छ भन्ने उनले त्यहाँ पुगेपछि मात्रै चाल पाए । ‘पाँच हजार टिकट बिक्री भएको रहेछ,’ उज्यालो अनुहार पार्दै उनी भन्छन्, ‘मलाई लाग्यो— म अब बिकेँ । टिक्छु भन्ने लाग्यो ।’
‘सनसनी सनसनी’ बोलको गीतको सुरुमा अडियो मात्रै आएको थियो, एक वर्षपछि (२०७३ मा) भिडियो बन्यो, त्यो पनि चर्चित बन्यो । यसपछि टंकले पछाडि फर्केर हेर्नुपरेको छैन । उनले निरन्तर गीत पस्कँदै गए— ‘मेरी छोर्याँटी’, ‘चल्यो बतास’, ‘मिठो बोलीले’, ‘राति–राति नहिँड डिस्को पार्टीमा’, ‘हेर्दा लाग्छ दयालु’, ‘पैसा बैंस चिरिम्म’, ‘मैना मेरो माया छ कि छैन’, हात समाई लैजान्छु अहिलै’, ‘आमाको माया’, ‘मुगु रारा तालैमा’, ‘मन माया’, ‘जतिलाई हेर्यो तैँ राम्री’ जस्ता गीतका म्युजिक भिडियो बनाए । सबै गीत हिट भए ।
देउडामा नयाँ फ्युजन
सुदूरपश्चिम र कर्णालीका श्रोतामा मात्र सीमित थियो, देउडा गीत । नन्दकृष्ण जोशी, नरेन्द्रराज रेग्मी लगायत अग्रजले देउडालाई उठाएका थिए, जब टंक तिमिल्सिनाजस्ता नयाँ पुस्ता आए, देउडामा एक ढंगको क्रान्ति नै भयो । उनले भाव नमर्ने गरी देउडालाई फ्युजन गरिदिए । लय, भाका, शब्द र संगीतको यस्तो प्रयोग गरिदिए कि त्यो बच्चादेखि पाकासम्मले मन पराए ।
एकपटक उनी गीत गाउनकै लागि बर्दिबास पुगेका थिए, त्यतातिर चल्ने गाडीमा समेत उनले आफ्ना गीत र अरु देउडा गीत बजेको सुने । ‘त्यतिबेला मलाई युद्ध नै जितियो जस्तो लागेको थियो,’ उत्साहित हुँदै उनी भन्छन्, ‘त्यो खुसीलाई म शब्दमा व्यक्त गर्न सक्दिनँ ।’
एकातिर नयाँ पुस्ताले उनको तारिफ गर्थे, अर्कोतिर पुराना पुस्ताका कलाकारहरू भने देउडालाई बिगार्यो भनेर गाली गर्थे । देउडा गीतप्रति देशैभरि जस्तो श्रोताहरूको आकर्षण बढ्दो थियो । अर्कोतिर विभिन्न रियालिटी सोहरूमा नयाँ–नयाँ प्रतिभाहरूले देउडा भाका घन्काउन थाले । चलचित्रहरूमा सुदूरपश्चिमका गीतहरू समेटिन थाले । टंकलाई लाग्यो, यो हाम्रो जित हो । उनले र्याप मिक्स, पप, डिजे, आधुनिक— सबै विधामा देउडालाई फ्युजन गर्दै गए । जसलाई ठुलो जमातले रुचायो ।
‘देउडा मेरो रगतमा थियो,’ टंक भन्छन्, ‘टिनएजरलाई कसरी यतातिर आकर्षित गर्ने भन्नेमै मेरो संघर्ष थियो ।’ यतिबेला उनको संघर्षले सार्थकता पाएको छ । युट्युबमा उनले अडियो र भिडियो गरी एक सय ४५ गीत अपलोड गरेका छन् । सबै गरी साढे २३ करोडभन्दा बढीपटक उनका गीत हेरिएका तथा सुनिएका छन् । आफूले स्वर दिएका गीतहरूको भिडियोमा उनले चर्चित नायिका प्रियंका कार्की, शिल्पा पोखरेलदेखि चर्चित डान्सर अन्जली अधिकारी, आश्मा विश्वकर्मा, कविता नेपाली, पार्वती राई, रश्मी तामाङसम्मलाई नचाएका छन् ।
देश विदेश यात्रा
गीत–संगीतमा निरन्तर समर्पित भइरहँदा टंकले देश–विदेश घुम्ने मौका पाए । पश्चिममा महेन्द्रनगरदेखि पूर्वमा बर्दिबाससम्म विभिन्न मेला–महोत्सवमा उनले स्टेज तताएका छन् । स्वदेश तथा विदेशमा उनलाई माया गर्नेहरू उत्तिकै छन् । पूर्वमा बर्दिबास, सिन्धुली, सर्लाहीका महोत्सवमा पुग्दा होस् या बाग्मतीका नुवाकोट, धादिङ र चितवन पुग्दा— उनले दर्शकको अपार माया पाए ।
गाउनकै लागि उनी भारतका विभिन्न सहरमा २० पटक पुगेका छन् भने दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, कुवेत लगायत देशमा रहेका नेपालीमाझ उनले साङ्गीतिक प्रस्तुति दिएका छन् ।
युट्युबकै कमाइबाट जग्गा
कलाकारका लागि युट्युब राम्रो आर्थिक आयआर्जन गर्ने स्रोत बनेको छ । युट्युबकै कमाइले टंकले नेपालगन्जमा जग्गा जोड्न सफल भएका छन् ।
हरेक डिजिटल प्लेटफर्महरूमा गायक टंकको बलियो उपस्थिति छ । म्युजिक कम्पनीहरूमाथि भर परेर उनले कुनै सम्झौता गरेनन् । जसले गर्दा पारिश्रमिकको कुनै झन्झट र समस्या भोग्नैपरेन । जति म्युजिक भिडियोहरू बनाए, ती सबै आफ्नै नामको युट्युब च्यानल ‘टंक तिमिल्सिना’मा अपलोड गरे । उनले सन् २०१५ देखि युट्युब सुरु गरेका थिए, यो सामग्री तयार पार्दासम्म १० लाखभन्दा बढीले उनको च्यानललाई सब्स्क्राइब गरेका छन् ।
कुनै नयाँ गीत युट्युबमा अपलोड हुँदा मासिक साढे दुई लाख रुपैयाँभन्दा बढी कमाइ हुने गरेको उनी बताउँछन् । पुरानै भिडियोबाट पनि मासिक १ लाख रुपैयाँभन्दा बढी नै उनलाई आम्दानी हुन्छ । ‘मेरी चम्पा’ बोलको गीतबाट मात्रै नौ लाख रुपैयाँ कमाएको उनी बताउँछन् । यो सामग्री तयार पार्दासम्म यस गीतलाई चार करोड ६७ हजारभन्दा बढीपटक हेरिएको छ ।
नेपालका मेला महोत्सवमा टंकले कम्तीमा एक लाख रुपैयाँ पारिश्रमिक लिन्छन् । विदेश जाँदा अझ बढी कमाइ हुन्छ । यो सफलतालाई उनले सौभाग्यका रुपमा लिएका छन् । ओएस नेपाल म्युजिक अवार्डमा ‘बेस्ट देउडा सिंगर’बाट टंक सम्मानित भइसकेका छन् । यस्तै विन्ध्यवासिनी म्युजिक अवार्डमा ‘बेस्ट पप सिंगर’ प्राप्त गरेका छन् । बीस्टार मुजिक अवार्डमा उनको गीत ‘बेस्ट सङ अफ द इयर’मा छानिएको थियो । कालिका म्युजिक अवार्ड र रेडियो कान्तिपुर म्युजिक अवार्डमा उनको गीत ‘गोधुली साँझैमा’ उत्कृष्ट ५ भित्र पर्न सफल भएको थियो ।
‘म डान्सिङ गीतमै फोकस छु,’ कुराकानी टुंग्याउने बेला उनले सुनाए, ‘त्यो पनि देउडा गीत नै हुनेछ ।’
तपाईको प्रतिक्रिया