कैलाली प्रशासनमा जले दुई लाख थान राष्ट्रिय परिचय पत्र

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीमा रहेका करिब दुई लाख थान राष्ट्रिय परिचय पत्र जलेर नष्ट भएका छन् । गत बुधबार जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालयमा आगजनी गरिँदा करिब दुई लाख थान राष्ट्रिय परिचय पत्र जलेर नष्ट भएका हुन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले केन्द्रबाट छापिएर आएका करिब दुई लाख थान राष्ट्रिय परिचय पत्र र करिब पाँच हजार थान राहदानी जलेर नष्ट भएको बताए । जोशीका अनुसार स्थानीय तह तथा वडा कार्यालयहरूबाट वितरण गर्नुपर्ने एक लाख ६० हजार थान तथा जिल्ला प्रशासनबाट वितरण गर्नुपर्ने करिब ४० हजार थान राष्ट्रिय परिचय पत्र जलेका हुन् । राष्ट्रिय परिचय पत्रका लागि यसअघि वडा कार्यालयहरूबाट पनि नागरिकको विवरण संकलन गरिएको थियो ।
आगजनीबाट जिल्ला प्रशासन कार्यालयको पुरानो र नयाँ दुवै भवन जलेका छन् । राष्ट्रिय परिचय पत्र सेवा सञ्चालनमा रहेको पुरानो भवन आगजनीबाट पूर्ण रूपमा ध्वस्त भएको छ । नयाँ भवनमा पनि ठुलो क्षति पुगेको छ । प्रशासनमा रहेका महत्वपूर्ण अभिलेख र कागजातहरू सदाका लागि नष्ट भएको प्रशासकीय अधिकृत जोशीले बताए । त्यस्तै कम्प्युटर, प्रिन्टरलगायतका सामान पनि जलेर नष्ट भएका छन् ।
प्रशासनले विभिन्न निकायले सहयोगस्वरूप दिएको कम्प्युटर र प्रिन्टरको सहायताले नागरिकता सेवा आइतबारबाट सुरु गरेको छ । तर राष्ट्रिय परिचय पत्र, राहदानीलगायत सेवा भने तत्काल सुरु गर्न सकिने अवस्था नरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जिल्लाका अधिकांश सरकारी कार्यालयमा आगजनी भएको बताए । जिल्लाभरि सरकारी कार्यालय, पार्टी कार्यालय र व्यक्तिका घरसमेत गरी एक सय ३७ वटा भवनमा आगजनी भएको प्रारम्भिक विवरण आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया