बाढीको कहर : मृतकको संख्या ४७५ पुग्यो, बेपत्ताको खोजी जारी

शुक्रबार भदौ १२, २०८३/ Friday 08-28-26
Paschim Today

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रवार बिहानसम्म विभिन्न स्थानबाट ४७५ जनाको शव फेला परेको हो ।

प्रहरीका अनुसार सबैभन्दा बढी चितवनमा १७९ जनाको शव फेला परेको छ । त्यस्तै नवलपरासी पूर्वमा ११० जना, गोरखामा ४४ जना, नुवाकोटमा ३७ जना, तनहुँमा २८ जना, धादिङमा २७ जना र रसुवामा १२ जनाको शव फेला परेको छ । बाढीका कारण ठूलो जनधनको क्षति भएपछि सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी कार्यलाई तीव्र बनाइएको छ । सम्भावित जोखिमयुक्त क्षेत्र, नदी किनार तथा बाढीले प्रभावित स्थानमा सुरक्षा निकायका टोली परिचालन गरी बेपत्ताहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्पर्कविहीन व्यक्तिहरूको खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ । उद्धार टोलीले जोखिमपूर्ण क्षेत्रमा समेत खोजी कार्य अघि बढाइरहेको छ । बाढीका कारण कतिपय क्षेत्रमा सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुगेकाले उद्धार तथा राहतमा चुनौती देखिएको छ । प्रभावित क्षेत्रमा उद्धारसँगै विस्थापित तथा संकटमा परेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र आवश्यक राहत सामग्री पुर्‍याउने कामसमेत भइरहेको छ ।

प्रहरीका अनुसार विभिन्न जिल्लाबाट शव फेला पर्ने क्रम जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना छ । सम्पर्कविहीन व्यक्तिहरूको यकिन विवरण संकलन तथा पहिचानको काम पनि भइरहेको छ । प्रशासन र सुरक्षा निकायले बाढी प्रभावित तथा नदी आसपासका क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । साथै, उद्धार तथा खोजी कार्यमा अवरोध नहोस् भनेर जोखिमपूर्ण क्षेत्रमा अनावश्यक आवतजावत नगर्नसमेत आग्रह गरिएको छ ।