अफ्रिकाबाट नेपालका बाढीपीडितका लागि एक करोडभन्दा बढी राहत जुट्दै
लागोस, नाइजेरिया । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अफ्रिकामा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए)का राष्ट्रिय समन्वय परिषद् (एनसीसी) तथा नेपाली समुदायले सहयोग संकलन अभियान तीव्र बनाएका छन्।
मातृभूमिमा परेको विपद्मा सहयोग गर्ने उद्देश्यले अफ्रिकाका विभिन्न देशमा रहेका नेपालीले सञ्चालन गरेको अभियानबाट हालसम्म उल्लेख्य रकम संकलन भइसकेको छ। एनआरएनए नाइजेरियाले २६ लाख रुपैयाँ, एनआरएनए कंगोले १५ लाख रुपैयाँ र एनआरएनए घानाले १ लाख ५० हजार रुपैयाँ संकलन गरिसकेका छन्।
यसैगरी केन्या, सेसेल्स, तान्जानिया, दक्षिण अफ्रिका, बोत्स्वाना, इक्वेटोरियल गिनी, मोजाम्बिक, रुवान्डालगायतका देशमा रहेका एनआरएनए शाखा तथा नेपाली समुदाय पनि राहत संकलन अभियानमा सक्रिय छन्। ती देशमा सहयोग संकलन जारी रहेको जनाइएको छ।
यसैबीच, एनआरएनए युगान्डाकी अध्यक्ष रमा अर्यालले १० हजार १०१ अमेरिकी डलर नेपालका बाढीपीडितका लागि सहयोग गर्ने घोषणा गरेकी छन्। एनआरएनए युगान्डाले प्रभावित परिवारका लागि अस्थायी आवास, ग्यास चुल्होलगायत आवश्यक सामग्री समेत सहयोग गर्ने जनाएको छ।
अफ्रिकामा रहेका नेपाली समुदायबाट व्यक्तिगत तथा संस्थागत रूपमा समेत सहयोग जुटिरहेको छ। एनआरएनएका पूर्व कोषाध्यक्ष तथा ‘अफ्रिकाबाट एक करोड राहत सहयोग’ अभियानका अभियन्ता हिक्मत थापाका अनुसार अफ्रिकाका विभिन्न देशमा रहेका एनआरएनए शाखा तथा गैरआवासीय नेपालीबाट एक करोड रुपैयाँभन्दा बढी सहयोग संकलन हुने अपेक्षा गरिएको छ।
संकलित रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरी बाढी प्रभावितको राहत तथा पुनःस्थापनामा प्रयोग गरिने थापाले बताए।
नेपालमा प्राकृतिक विपद्का बेला प्रवासमा रहेका नेपालीले निरन्तर सहयोग गर्दै आएका छन्। अफ्रिकामा रहेका एनआरएनए शाखाले यसअघि भूकम्प तथा कोभिड–१९ महामारीका बेला पनि उल्लेख्य सहयोग जुटाएका थिए।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व कोषाध्यक्ष थापाले विपद्को यस घडीमा अफ्रिकामा रहेका नेपालीहरूको सक्रियताले मातृभूमिप्रतिको ऐक्यबद्धता र मानवीय भावना थप बलियो रूपमा प्रस्तुत गरेको बताए।








तपाईको प्रतिक्रिया