माता अमृतानन्दमयी देवीद्वारा जन्म दिनको अवसरमा नेपालका बाढी पीडितलाई दुई करोड भारतीय रकम सहयोग

मंगलबार असोज २०, २०८३/ Tuesday 10-06-26
Paschim Today

धनगढी । भारतकी माता अमृतानन्दमयी देवीद्वारा जन्म दिनमा नेपालका बाढी पीडितलाई दुई कराेड भारतीय रकम सहयाेग हस्तान्तरण गरेकी छन । जन्मदिन तथा विश्व सेवा दिवसको पावन अवसरमा, नेपालमा गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित पीडितहरूको लागि राहत तथा पुनर्स्थापनाका लागि उनले दुई करोड भारतीय रुपैयाँ सहयोग प्रदान गरेकी हुन।

उक्त राहत रकम नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत महामहिम डा. सुरेन्द्र थापामार्फत हस्तान्तरण गरिएको छ।

माता अमृतानन्दमयीले आफ्नो जन्मदिनलाई सेवा र मानवीय सहयोगसँग जोड्दै विपद्मा परेका नागरिकका लागि सहयोग उपलब्ध गराएकी हुन्।

माता अमृतानन्दमयी देवीको प्रेरणामा भारतमा अमृता अस्पताल सञ्चालन हुँदै आएको छ। अस्पतालले नेपालसहित विभिन्न देशबाट उपचारका लागि आउने बिरामीलाई लक्षित गरी अन्तर्राष्ट्रिय बिरामी सेवा सञ्चालन गर्दै आएको जनाएको छ।

अमृता अस्पतालका सिनियर म्यानेजर तथा इन्टरनेसनल सेल्स एन्ड मार्केटिङ विभागका अभिषेक स्वाँरले बाढी तथा पहिरोबाट प्रभावित नेपाली नागरिकलाई राहत पुर्याउने उद्देश्यले सहयोग उपलब्ध गराइएको बताए।

अमृता अस्पतालले नेपाललगायत विभिन्न मुलुकबाट उपचारका लागि आउने बिरामीका लागि इन्टरनेसनल पेसेन्ट केयर विभागमार्फत विशेष व्यवस्था गर्दै आएको स्वाँरले बताए। उनले नेपाली बिरामीलाई उपचारका क्रममा भाषाको कठिनाइ नहोस् भन्ने उद्देश्यले दोभाषे, परामर्श तथा आवश्यक समन्वयका सेवासमेत उपलब्ध गराउँदै आएको जानकारी दिए।