तिहार नजिकिएसँगै माटाका भाँडाकुँडाको माग बढ्दै

आइतबार कार्तिक २३, २०८३/ Sunday 11-08-26
Paschim Today

कैलाली । तिहार नजिकिँदै गर्दा बजारमा चहलपहल निकै बढेको छ । झिलिमिली बत्तीले बजार र घरआँगन सजिन थालेका छन् । विद्युतीय बत्तीको प्रयोग बढ्दै गए पनि तिहारको परम्परागत पहिचान बोकेका माटाका दियो र भाँडाकुँडाको व्यापारमा समेत उत्साह देखिएको छ ।

कैलालीका विभिन्न क्षेत्रमा रहेका बजारमा यतिबेला माटाका दियो, कलश तथा अन्य भाँडाकुँडा किन्ने ग्राहकको चहलपहल बढेको छ । विशेष गरी तिहार र छठपर्वलाई लक्षित गरी माटाका सामग्रीको माग बढेपछि व्यवसायीलाई बिक्री गर्न भ्याइ नभ्याइ छ ।

बर्दगोरिया गाउँपालिका–१, बौनिया बजारमा माटाका भाँडाकुँडाको व्यापार गर्दै आएकी कमला बजगाईंले स्थानीय उत्पादनले बजारको माग धान्न नसकेपछि नेपालगन्जबाट समेत सामग्री मगाउनु परेको बताए । उनका अनुसार तिहार नजिकिएसँगै माटाका दियोको माग उल्लेख्य रूपमा बढेको छ । दियोसँगै कलशलगायत पूजामा प्रयोग हुने सामग्री पनि ग्राहकको रोजाइमा पर्ने गरेका छन् ।

तिहारका लागि माटाका दियो किन्न आएका लम्कीचुहा नगरपालिका–१०, चुहाका चन्द्रप्रसाद अधिकारीले एक सयभन्दा बढी दियो किन्ने गरेको बताए। विद्युतीय बत्तीले घर सजाउने चलन बढे पनि परम्परा अनुसार माटाका दियोमा बत्ती बाल्नुको महत्व छुट्टै रहेको उनको भनाइ छ ।

हिन्दु धार्मिक तथा सांस्कृतिक परम्परामा तिहारको दीपावली र छठपूजामा माटाका दियो तथा भाँडाको विशेष महत्व छ । धनधान्यकी देवी लक्ष्मीको पूजा गरी घरआँगनमा दियो बाल्ने चलनले माटाका दियोको माग बढाउने गरेको छ । विद्युतीय बत्तीले झिलिमिली बनाए पनि परम्परागत पूजाआजा र धार्मिक विधिमा माटाका दियोको प्रयोगलाई प्राथमिकता दिने गरिएको छ ।

माटाका सामग्रीको बढ्दो मागले परम्परागत पेसा अँगाल्दै आएका कुमाले समुदायको उत्पादनलाई बजारसम्म पुर्‍याउन सहयोग पुगेको छ । साथै स्थानीय कला, सिप र सांस्कृतिक परम्पराको संरक्षणमा समेत यस्तो व्यापारले योगदान पुर्‍याउँदै आएको छ ।