चीनमा अपराजित रहँदै नेपालले जित्यो यू–१९ महिला क्रिकेटको उपाधि
काठ्माण्डौँ : नेपाली यू-१९ महिला क्रिकेट टोलीले चीनमा आयोजित ‘बेल्ट एन्ड रोड सिरिज’ को उपाधि जितेको छ । हङकङसँगको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो ।
चार टोली सहभागी प्रतियोगितामा नेपालले खेलेका ६ मध्ये चार खेलमा जित निकाल्यो भने दुई खेल वर्षाका कारण नतिजाविहीन बने ।
नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ७ विकेटले हराएको थियो । दोस्रो खेलमा चीनसँग वर्षाका कारण नतिजा ननिस्किए पनि त्यसपछिका तीन खेलमा नेपालले लगातार जित निकाल्यो ।
तेस्रो खेलमा हङकङलाई ९२ रनले हराएको नेपालले चौथो खेलमा थाइल्यान्डलाई ५२ रनले पराजित गर्यो । पाँचौँ खेलमा घरेलु टोली चीनलाई ८४ रनले स्तब्ध पार्दै नेपालले उपाधि यात्रा बलियो बनाएको थियो ।
हङकङसँगको अन्तिम खेलमा नेपालले वर्षाले खेल रोकिनुअघि ११ ओभरमा २ विकेट गुमाएर ८८ रन बनाएको थियो । खेल पूरा हुन नसकेपछि दुवै टोलीले अंक बाँडे र नेपाल शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो ।






तपाईको प्रतिक्रिया