फैलिँदै तिहार, फेरिँदै शैली
काठमाडौँ : पोखराका २८ वर्षीय राजन गुरुङलाई तिहार भन्नेबित्तिकै देउसी–भैलोको याद आउँछ । उनी रत्नचोक युवा क्लबमार्फत प्रत्यक वर्ष भैलो खेल्दै आएका छन् । विगत ४ वर्षदेखि भैलो खेल्दै आएका उनका लागि प्रत्येक वर्ष नौलो लाग्छ । उनी पहिलेको जस्तो चहलपहल अहिले देख्दैनन् । दसैं सकिएलगत्तै गाउँघरमा सुरु हुने रौनक र झिलिमिली अचेल तिहारका केही दिनमा मात्र सीमित भएको छ । बाजा पनि फेरिएका छन् । परम्परागत बाजाको ठाउँमा अहिले स्पिकर र आधुनिक ड्रम बज्छन् ।
भैलो टोलीमा आबद्ध गुरुङका लागि यी परिवर्तन नयाँ होइनन् । समय र प्रविधिसँगै साधन र प्रस्तुति फेरिनु स्वाभाविक ठान्छन् उनी । तर मौलिकता भने हराउन नहुने उनको मत छ । त्यसैले उनको टोलीले आधुनिक बाजा प्रयोग गरे पनि परम्परागत नृत्य र सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिने प्रयास गरिरहेको छ । ‘प्रविधि र समयसँगै देउसी–भैलोका साधन र शैली फेरिएका छन्, मानिसको चहलपहल र उपस्थितिमा पनि केही कमी आएको छ,’ गुरुङ भन्छन्, ‘तर पुराना पुस्ताको मार्गदर्शन र नयाँ पुस्ताको उत्साहका बीच परम्परागत नृत्य र संस्कृति जोगाउने मौलिक मर्म भने अझै जीवित छ ।’
यता काठमाडौं मनमैजुमा भैलो खेल्दै आएका सुशान्त सुनार भैलोप्रति त्यति चासो राख्दैनन् । ‘पहिले–पहिले हामी साथीहरू सँगै हुन्थ्यौं, रमाइलो हुन्थ्यो, अहिले न साथी छ, न पहिले जस्तो रमाइलो नै,’ उनी भन्छन्, ‘अहिले कोही पनि छैनन् । पहिले जस्तो जाँगर छैन, अब यसपालि त खेल्ने साथीहरू नै छैनन् ।’
संस्कृतिविद् गोविन्द टण्डन देउसी–भैलोको शैलीमा परिवर्तन आएको स्विकार्छन् । उनका अनुसार पहिले मानिसहरू आफैं श्लोक र भाका रचेर गाउँघर पुग्थे । त्यसले मनोरञ्जनसँगै छिमेकीबीचको सम्बन्ध नवीकरण गर्ने अवसर पनि दिन्थ्यो । अहिले भने रेकर्ड गरिएका आधुनिक गीत बजाएर नाच्ने र गाउने चलन बढेको छ । ‘पहिले त आफैंले भाका बनाएर, आफैंले रचेर गाउँ–गाउँमा गएर गाउँथे,’ उनी भन्छन्, ‘अहिले आएर आधुनिक गीतहरू लगाएर नाच्ने–गाउने हुन थालेको छ । त्यो हाम्रो मौलिक चलन होइन ।’
देउसी–भैलोमा आएको परिवर्तन तिहारको बदलिँदो स्वरूपको एउटा उदाहरण मात्रै हो । घर सजाउने तरिकादेखि बालबालिकाको खेलसम्ममा यसको रूपान्तरण देखिन्छ ।
कुनै समय तिहार आउनुअघि घर लिपपोत गर्न कमेरो र रातो माटो खोजेर ल्याउँथे । लक्ष्मीपूजाका लागि घर सफा गर्दा र सजाउँदा त्यही माटो प्रयोग हुन्थ्यो । अहिले पक्की घरको संख्या बढेको छ र बजारमा पाइने रङ प्रयोग गर्न सजिलो भएको छ । ‘लक्ष्मीको पूजा गर्ने भनेपछि कमेरो र रातो माटो खोज्न गाउँका मानिस डाँडातिर जान्थे,’ संस्कृतिविद् टण्डन भन्छन्, ‘अब त्यो परम्परा रहेन । किनभने घरको वास्तुशैली नै परिवर्तन भयो । मानिसले सजिलो खोज्दाखेरि बाल्टीमा रङ कहाँ पाइन्छ भनेर खोज्ने भए ।’
तिहारको बिदामा बालबालिकाले खेल्ने खेल पनि बदलिएका छन् । कुनै समय चंगा उडाउने, डन्डीबियो खेल्ने जस्ता गतिविधि तिहारको मनोरञ्जनसँग जोडिएका थिए । गाउँघरमा बालबालिका समूह बनाएर खेल्थे । अहिले मोबाइल र डिजिटल प्रविधिको विस्तारसँगै मनोरञ्जनको तरिका फेरिएको संस्कृतिविद् टण्डन बताउँछन् । उनी भन्छन्, ‘मानिसहरू मोबाइलमै अलमलिन थालेपछि पहिलेका खेलहरू हराउँदै गएका छन् ।’
तिहारमा गाई र गोरुको पूजा गर्ने परम्परा कृषि जीवनसँग जोडिएको छ । कुनै समय गोरु खेत जोत्न र खेतीपातीका काममा अनिवार्यजस्तै थिए । गाईबस्तु चराइन्थे र तिनको मलमूत्रले खेतबारी मलिलो बनाइन्थ्यो । अहिले कृषिमा यान्त्रिक प्रविधिको प्रयोग बढेको छ, गोरुको प्रयोग घटेको छ, गाईबस्तु पाल्ने र चराउने शैली पनि फेरिएको छ । ‘गोरुबिना त हाम्रो कृषि कर्म चल्ने नै थिएन,’ टण्डन भन्छन्, ‘तर अहिले गोरुको महत्त्वलाई यान्त्रिक प्रविधिहरूले विस्थापित गर्दै गए । गाई चराउन लैजाने चलन घट्यो । गाईलाई दूध दुहुने मेसिनजस्तो बनाएर राख्ने किसिमको परिवर्तन आयो ।’
तिहारको बदलिँदो स्वरूप यसको भौगोलिक फैलावटमा पनि देखिन्छ । पहिले नेपाल र भारतका केही क्षेत्रमा सीमित यो पर्व अहिले नेपालीहरू पुगेका विभिन्न मुलुकमा मनाउन थालिएको छ । अध्ययन र रोजगारीका लागि विदेशिएका नेपालीले आफ्नो परिवेशअनुसार तिहार मनाउने नयाँ अभ्यास सुरु गरेका छन् । ‘हिजो यो पर्व नेपालमा मात्रै सीमित ठाउँमा थियो, भारतका केही ठाउँमा थियो,’ टण्डन भन्छन्, ‘अहिले नेपालीहरू पढाइ र रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा पुगेका छन् । करिब–करिब संसारभरि नै तिहारजस्ता पर्वहरू आफ्नै किसिमले मनाउने गरिएको नयाँ परम्पराको सुरुवात हुँदै गइरहेको छ ।’
टण्डनका बुझाइमा संस्कृति सधैं पुरानै स्वरूपमा रहिरहन सक्दैन । मानिसले सजिलो खोज्दै जाँदा पुराना अभ्यास छाड्छन् र नयाँ अपनाउँछन् । त्यसैले तिहारमा देखिएका सबै परिवर्तनलाई संस्कृति हराएको अर्थमा मात्र बुझ्न नहुने उनको तर्क छ । यी परम्पराहरूसँगै कुनै समय तिहारमा घर सजाउन प्लास्टिकका फूल र सजावटका सामग्री किन्ने चलन सामान्य थियो । अहिले भने वातावरणमैत्री सामग्री रोज्ने र उपहार दिँदा नेपाली हस्तकलाका वस्तु प्राथमिकतामा राख्ने अभ्यास बढ्दै गएको छ । नयाँ पुस्ताले तिहारलाई रमाइलो गर्ने अवसरका रूपमा मात्र नभई वातावरण र समाजप्रति आफ्नो जिम्मेवारी देखाउने पर्वका रूपमा पनि लिन थालेको छ ।
तिहार मनाउने तरिका मात्र होइन, यससँग जोडिएका परम्परा र मान्यतामाथि हेर्ने दृष्टिकोण पनि फेरिँदै गएको छ । नयाँ पुस्ताले परम्पराका नाममा कायम रहेका असमानता, विभेद र अनावश्यक सामाजिक दबाबमाथि प्रश्न उठाउन थालेको छ । दसैंमा असमान परम्पराविरुद्ध आवाज उठाएको जेन–जी पुस्ताले तिहारमा पनि त्यस्ता अभ्यासलाई निरन्तरता दिनुपर्ने ठान्छ । परम्पराका नाममा शोषण, अव्यावहारिक अपेक्षा र उत्सव मनाउनैपर्ने दबाबलाई सामान्य मान्ने गरिएको उनीहरूको बुझाइ छ ।
‘परम्पराका नाममा हामीले शोषण, अवास्तविक अपेक्षा र उत्सव मनाउनुपर्ने दबाबलाई सामान्य बनाएका छौं । यस क्रममा वर्ग, जात र उत्पीडनका प्रश्नलाई अक्सर बेवास्ता गरिन्छ,’ प्रिया सिग्देल भन्छिन्, ‘तिहार मनाउँदै गर्दा पनि परम्पराभित्र लुकेका असमानतामाथि प्रश्न गर्न सकिन्छ ।’
उनका अनुसार तिहार मनाउने शैलीमा आएको परिवर्तन वातावरणीय चेतनासँग पनि जोडिएको छ । पहिले प्लास्टिकका सजावटका सामग्री प्रयोग गर्दा त्यसले वातावरणमा पार्ने असरबारे खासै सोचिँदैनथ्यो । सिग्देलका अनुसार अहिले वातावरणमैत्री विकल्प रोज्ने र नेपाली हस्तकलाका सामग्री उपहार दिने अभ्यास बढ्दै गएको छ । उनी भन्छन्, ‘तिहार यस्तो उत्सव बन्दै गएको छ, जहाँ मानिस र वातावरण दुवैका लागि सुन्दरता र खुसीको ख्याल गरिन्छ ।’






तपाईको प्रतिक्रिया