एक महिनाभित्र सञ्चालनमा आउँदै चिसापानी–राजकाँडा केबलकार
धनगढी । कैलालीको चिसापानीबाट राजकाँडा जोड्ने जालपादेवी केबलकार सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्माणाधीन केबलकार एक महिनाभित्र व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।
३.१ किलोमिटर लामो केबलकार लम्कीचुहा नगरपालिका–३ चिसापानीदेखि मोहन्याल गाउँपालिका–७ राजकाँडासम्म निर्माण भइरहेको छ । केबलकार सञ्चालनमा आएपछि कर्णाली पुल र चिसापानी घुम्न आउने पर्यटकका लागि राजकाँडा नयाँ गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।
केबलकारका दुवै स्टेसनका अधिकांश संरचना तयार भइसकेका छन् । निर्माण अन्तिम चरणमा पुगेसँगै चिसापानी र राजकाँडा क्षेत्रमा पर्यटकको आवागमनसमेत बढ्न थालेको आयोजनाका लगानीकर्ता तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् ।
‘केबलकार अबको एक महिनाभित्रै व्यावसायिक सञ्चालनमा आउने तयारीमा जुटेको छ,’ ढकालले फेसबुकमा लेखेका छन्, ‘ठूला पर्यटन पूर्वाधारको पर्खाइमा रहेको सुदूरपश्चिमका लागि यो आयोजना महत्वपूर्ण कोसेढुंगा बन्ने विश्वास छ ।’
कर्णाली पुलको आकर्षण र चिसापानीको प्राकृतिक सौन्दर्यका कारण यहाँ आन्तरिकसँगै भारतीय पर्यटकको पनि आवागमन हुने गरेको छ । केबलकार सञ्चालनले पर्यटकलाई राजकाँडासम्म पुग्न सहज बनाउनुका साथै चिसापानीमा उनीहरूको बसाइ अवधि बढाउने विश्वास गरिएको छ ।
केबलकारलाई केन्द्रमा राखेर चिसापानी र राजकाँडालाई पर्यटकीय गन्तव्यका रूपमा विस्तार गर्ने योजना छ । गुरुयोजनाअनुसार होटल, रिसोर्ट, क्यासिनो, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, पदमार्ग र जालपादेवी मन्दिरलगायत संरचना निर्माण तथा विकास भइरहेको कम्पनीले जनाएको छ ।
व्यवसायी चन्द्रप्रसाद ढकाल र कैलालीका सूर्यबहादुर थापाको करिब सात अर्ब रुपैयाँ संयुक्त लगानीमा आयोजना निर्माण भइरहेको हो । पर्यटकीय पूर्वाधार विस्तारसँगै स्थानीयस्तरमा रोजगारी, व्यवसाय, कृषि उत्पादनको बजार र यातायात क्षेत्रमा आर्थिक गतिविधि बढ्ने लगानीकर्ताको अपेक्षा छ ।







तपाईको प्रतिक्रिया