मेटिएका ‘माइलस्टोन’ !

आइतबार बैशाख २१, २०८२/ Sunday 05-04-25
Paschim Today

डोटी । बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिका र दुर्गाथली गाउँपालिकाको सिमाना सुडीखोला नजिकै खोड्पे-चैनपुर सडकको छेउमा एउटा कोसेढुङ्गा (माइलस्टोन) छ । माईलस्टोनमा झोता बजारसम्मको दुरी देखाउनु खोजिएको छ । तर, दुरी कति हो देखिँदैन । एफ ४९ संकेतको उक्त माइलस्टोनमा लेखिएको दुरी मेटिएको छ । सोही कोसेढुङ्गाको अर्कापट्टि लेखिएको झनाना पुग्ने दुरी पनि कति हो भन्ने प्रष्ट छैन ।

सडकको दुरी देखाउनकै लागि बैतडीको पाटन–गोठलापानी सडक अन्तरगत थुम भन्ने ठाउँमा राखिएको स्तम्भले पनि थुमदेखि पाटनसम्मको दुरी बताउनु पर्ने हो । तर, त्यो माइलस्टोनमा लेखिएको पनि मेटिएको छ । पाटनको पछाडिको ‘न’ मात्रै देखिएको छ, अरू केही देखिँदैन ।

सडक छेउमा राखिएका यी स्तम्भहरूले एक ठाउँदेखि अर्को ठाउँसम्मको दुरी बताउँछन् । सडक यात्रा गर्ने नयाँ व्यक्तिले एक ठाउँबाट अर्को ठाउँसम्मको दुरी सहजै थाह पाउन यस्ता माइलस्टोन राखिने गरिन्छ, जसलाई किलोमिटर पोष्ट भनिन्छ ।

 

पोष्टहरुले चालक र यात्रुहरूलाई दुरी बताउनुको सट्टा झन् अन्योल पारेका छन् ।

सिलगढी-धनगढी सडकमा रहेका अधिकांश माइलस्टोनहरु पनि मेटिएका बताउँछन् चालक हरिस रोक्का । उनी भन्छन् ‘बाटोमा यात्रुहरूले एक ठाउँबाट अर्को ठाउँको दुरी सोध्छन् बेलाबेलामा, आफूलाई याद हुन्न, किलोमिटर पोष्ट मेटिएका छन् ।’

‘अधिकांश माइलस्टोनहरुको अवस्था यस्तै छ, यसको पुनर्लेखनमा कसैको ध्यान गएको छैन’ दार्चुला सडकमा गाडी हाँक्ने २४ वर्षीय चालक उत्तम बोहरा भन्छन् ‘नयाँ मान्छेलाई यसले झन् अन्योल बनाइरहेको छ ।’ सडक कार्यालयले लामो समयसम्म पनि यस्ता स्तम्भहरूको पुनर्लेखन नगर्दा समस्या भएको उनको भनाई छ । केही माइलस्टोनहरु केटाकेटीले कोतरेर पनि यस्तो भएको उनी बताउँछन् ।

किलोमिटर पोष्ट स्पष्ट नहुँदा चालकलाई पनि प्रेसर हुने गरेको बताउँछन् डडेल्धुरा बझाङ सडकमा गाडी चलाइरहेका डडेल्धुराका नवराज भट्ट । उनी भन्छन् ‘अबको दुरी कति किलोमिटर छ भन्ने थाह भए सोही अनुसार ढुक्कसँग गाडी चलाउन सकिन्छ, नत्र समयमै पुगिन्न कि भन्ने चिन्ता रहिरहन्छ ।’

चालकका लागि मात्रै नभएर यात्रुहरूका लागि पनि माइलस्टोन अति आवश्यक भएको बताउँछन् बझाङ बित्थडका लोकेश बोहरा । ‘यात्रुहरूलाई पनि कति बेला आफ्नो गन्तव्यमा पुग्न सकिन्छ भन्ने चिन्ता भइराख्छ’ लोकेश भन्छन् ‘यदि किलोमिटर कति छ भन्ने थाह भयो भने पुग्ने समयको अनुमान गर्न सक्छन् यात्रुहरूले पनि ।’

माइलस्टोन मात्रै नभएर सडकमा राखिएका ट्राफिक संकेतहरु पनि मेटिएका बताउँछन् चालकहरू । ‘माइलस्टोन भन्दा ट्राफिक संकेत अझ बढी महत्त्वपूर्ण मानिन्छन्’ एक सवारी चालक भन्छन् ‘ती संकेतहरु कतै मेटिएका छन्, कतै ढलेका छन् त कतै हराएका छन् ।’

ट्राफिक संकेतले अगाडिको बाटो कस्तो छ भन्ने सूचना दिने हुँदा चालकले सोही अनुसार आफ्नो सवारी हाँक्ने ती चालकको भनाई छ । उनी थप्छन् ‘ती संकेतहरुको नियमित जाँच गरी सुधार गर्नु पर्ने हो तर वर्षौँ भइसक्दा पनि कसैलाई केही वास्ता हुँदैन ।’