प्रावि शिक्षकको संघर्ष र सफलताको कथा

तीन छोरा प्रहरीमा अफिसर, एक डाक्टर, एक ईञ्जिनियर

सोमबार बैशाख २९, २०८२/ Monday 05-12-25
दीर्घराज उपाध्याय

धनगढी, ३० बैशाख ।
कसैका लागि धेरै सन्तान बोझ हुन्छन् । विरलैका लागि बरदान । कैलालीको जानकी गाउँपालिका–८ बन्देवीपुरका देवानन्द न्यौपाने र पार्वती न्यौपानेका लागि भने सात सन्तान बरदान भए ।

चार छोरा र तीन छोरी यसरी हुर्किए, न्यौपाने दम्पत्तीले कहिल्यै बोझ महशुस गरेनन ।

अछामको बिकट रामारोशन गाउँपालिका–४ गान्जीका देवानन्द प्राथमिक विद्यालयका शिक्षक थिए । एक दशकअघि सरुवा भएर अछामबाट कैलालीको जानकी गाउँपालिका–८ बन्देवीपुर झरेका देवानन्दले ४४ वर्ष लामो शिक्षण पेशाबाट २०८१ चैत १ गते अवकाश पाए । उनी अवकाश लिदा राष्ट्रिय मावि अमरावतीका प्रावि तहका शिक्षक थिए ।

उनले आफैले पढाउने सामुदायीक विद्यालयमा सबै सन्तानलाई पढाए । अधिकांशले सामुदायीक विद्यालयबाटै एसएलसी उत्तीर्ण गरे ।

सामुदायीक विद्यालयमा पढाई निशुल्क थियो । अनुशासित र पढाईमा उत्कृष्ट भएका कारण एसएलसीपछिको पढाई पनि सबैले छात्रबृतिमा निशुल्क पढे ।

न्यौपाने दम्पत्तीका सातै सन्तान आआफ्नो क्षेत्रमा अब्बल छन् । अभिभावकका लागि यो भन्दा गर्वको कुरा के हुनसक्छ ? तीन छोरा नेपाल प्रहरीको अफिसर छन्, हरेक जिम्मेवारी उत्कृष्ट ढंगले निर्वाह गरिरहेका उनीहरु अब्बल अफिसर मानिन्छन् । एक छोरा ईञ्जिनियर छन्,एक छोरी डाक्टर । स्नातक बाँकी दुई छोरी पनि जागीरे छन् ।

जेठो छोरा सिद्धराज न्यौपाने नेपाल प्रहरीमा नायव उपरीक्षक (डिएसपी) छन् । नेपाल प्रहरीका बिभिन्न अनुसन्धानमा उत्कृष्ट प्रदर्शन गरेका न्यौपाने हाल पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको पिएसओ छन् ।

कैलालीको टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिरबाट प्रथम श्रेणीमा एलएलसी उत्तीर्ण सिद्धले प्रावि र निमावि तहको पढाई सामुदायीक विद्यालयबाट पुरा गरेका थिए ।

‘प्लस टु’का उत्कृष्ट सिद्धले एसएलसीपछिको पढाई छात्रबृतिमै पढे । काठमाण्डौंस्थित नेपाल कमर्श क्याम्पसबाट वीवीएस र त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरको पढाई पुरा गरे । नेपाल ल क्याम्पसबाट एलएलवी पास गरे ।

बुवाको प्रावि तहको शिक्षकको पेशाले पुरै परिवारको खर्च धान्न सकिने अवस्था थिएन । परिवारको जेठो सन्तान । काठमाण्डौं डेराको बसाई ।

बुवाको प्रावि तहको शिक्षकको जागीरले भाईबहिनीहरुको खर्च धान्ने अवस्था थिए । जेठो सन्तान भएकोले उनीहरुलाई पढाउनु र हुर्काउनु पर्ने मेरो जिम्मेवारी । त्यही कारण म जागीर खाने दवावमा थिए । उनी भन्छन्, नेपाल प्रहरीमा भर्ना खुलेको थाह पाएपछि आवेदन भरे । प्रहरीमा चिनेजानेका कोही थिएनन् । न त उनको राजनैतिक पहूँच थियो । आफ्नै क्षमता र बलबुतामा २०६३ साउन १ मा असईमा छनौट भए ।

त्यही वर्ष पुष ३० गते खुला प्रतिस्पर्धाबाट निरीक्षक भए । र, २०७४ मा डिएसपीमा बढुवा भए । प्रहरीमा जागीर खाने उनी न्यौपाने परिवारकै पहिलो सदस्य थिए ।

माहिलो भाई केशर न्यौपानेले पनि २०६९ सालमा असईमा आवदेन दिए । केशर पनि छानिए । एकवर्षमै खुला प्रतिस्पर्धामा निरीक्षक भए । र, २०८० मा प्रहरी नायव उपरीक्षक । हाल उनी जिल्ला प्रहरी कार्यालय सल्यानको प्रमुख छन् ।

अछामको जापास्थित सरस्वती माविबाट एसएलसी गरेका केशरले प्लस टुको पढाई रत्नराज्य लक्ष्मी क्याम्पस काठमाण्डौंबाट पुरा गरे । फर्केर टीकापुर बहमुखी क्याम्पसबाट स्नातक गरे । र, त्रिभुवन विश्वविद्यालयबाट मास्टर्स ।

सिभिल ईञ्जिनियरिङ पढेका साहिलो सीपी न्यौपाने यतिबेला रानी जमरा कुलरिया सिचाई परियोजनामा कार्यरत छन् ।
सरस्वती मावि जापाबाट एसएलसी गरेका सीपीले प्लस टुको त्रिचन्द कलेजबाट गरे । पोखरा ईञ्जिनियरिङ कलेजबाट स्नातक ।
कान्छो मुकेश न्यौपानेले पनि माध्यमिक तहको पढाई सामुदायीक विद्यालयबाटै पुरा गरे । अछामको सरस्वतीमाविबाट एसलएलसी गरेका उनले टीकापुर बहमुखी क्याम्पसबाट प्लस टुको पढाई सके । काठमाण्डौंको ग्लोबल कलेज अफ म्यानेजमेण्टमा बीबीए पढे ।

दुई दाजु प्रहरीमा जागीरे भएपछि उनलाई पनि प्रहरीको त्यो पोशाक र जनताको सेवा गर्ने भावले तान्यो । र, उनी पनि २०७६ मा खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक भए । यतिबेला उनी रुपन्देहीको भैरहवास्थित ईलाका प्रहरी कार्यालय बेलैयाको ईञ्चार्जको जिम्मेवारीमा छन् ।

न्यौपाने दम्पत्तीका तीन छोरीले पनि एसएलसीसम्मको पढाई सामुदायीक विद्यालयबाटै पुरा गरिन् । हिमालय रामाविबाट एसएलसी गरेकी कविताले सेन्ट जेभियर कलेज काठमाण्डौंबाट छात्रवृतिमा प्लस टुको पढाई सकिन । र, गण्डकी मेडिकल कलेज पोखराबाट छात्रवृतिमै एमबीबीएसको पढाई पुरा गरिन् । पढाई सकेर उनी २०८१ असोजदेखि जिल्ला अस्पताल दार्चुलामा कार्यरत छन् ।

न्यौपाने दम्पत्तीका अन्य दुई छोरी पनि स्नातक छन् । निरुता किसान माईक्रोफाईनान्समा कार्यरत छिन् । रामारोशन गाउँ पालिकामा काम गर्ने धर्मिन्द्रा खनाल जागीर छोडेर काठमाण्डौं बस्दै आएकी छिन् ।

देवानन्द भाई मथुरा प्रसाद न्यौपाने पनि शिक्षक हुन् । कालिका आधारभूत विद्यालय धर्मापुरमा पढाउने मथुराका एक छोरा ईञ्जिनियर छन् । अर्को नेपाली सेनामा क्याप्टेन । छोरी किसान माईक्रोफाईनान्समा कार्यरत छिन् ।

प्रहरी र नेपाली सेनामा न्यौपाने परिवारका कोही पनि जागीरे थिएनन । सिद्ध प्रहरीमा जागीर खाने न्यौपाने परिवारकै पहिलो सदस्य थिए । उनी प्रहरीमा जागीरे भएपछि उनका सहोदर तीन भाई मात्र प्रहरीमा भर्ना भएनन । उनका मामाका छोरा पनि प्रहरी भए । काकाका छोरा नेपाली सेनाका क्याप्टेन भए । न्यौपाने परिवारकै अन्य तीन भाई पनि प्रहरीमा असई छन् ।
सन्तान धेरै हुनु समस्या होईन, देवानन्द भन्छन्, मेरा लागि मेरा सन्तान पूँजी हुन् । उनीहरु अनुशासित त थिए नै । कक्षामा कहिल्यै दोस्रो भएनन् । सबै छोराछोरी आआफ्नो क्षेत्रमा अब्बल छन् । मलाई यसैमा गर्व छ ।

एसएलसीसम्म सबै सन्तानलाई आफैले पढाउने विद्यालयमा पढाए । त्यसपछि काठमाण्डौंमा डेरा लिएर सबैलाई पढाए । पढाउदा लागेको ऋण पनि तिरिसके ।

हाम्रो परिवारबाट नेपाल प्रहरीमा कोही पनि थिएन । म जागीर खानै पर्ने दवावमा प्रहरी भर्ना हुन पुगे, सिद्ध भन्छन्, भाईहरु भने मलाई हेरेर प्रहरीमा आकर्षित भए ।

उनी परिवारको संख्या समस्या नहुने तर्क गर्छन् । भन्छन्, ठूलो संख्या समस्या होईन । उत्पादक भए त्यो परिवारको पूँजी हो । तागत हो । हाम्रो परिवारको हकमा पनि त्यही लागु भयो ।

मान्छे कुन भूगोलमा जन्मियो ? कस्तो परिवेश र परिवारमा जन्मियो ? सम्पन्न वा बिपन्न ? सुगम वा बिकट ? त्यसले उसको सफलता निर्धारण गर्दैन, सिद्ध भन्छन्, सफलता त उसको लगनशिलतामा निर्भर हुन्छ । उसको मिहिनेत र अनुशासनमा निर्भर हुन्छ । उसको हुकाई र वातावरणमा निर्भर हुन्छ ।

सात सन्तानका अभिभावक देवानन्द र पार्वतीको सफलताको कथाले भन्छ, सफलता भाग्यमा होईन, कर्ममा निर्भर छ ।
सामुदायीक विद्यालयमा पढ्ने विद्यार्थीहरु कमजोर हुदैनन् । बस्, सोच बलियो हुनुपर्छ, न्यौपाने दम्पत्तीका सन्तानको सफलताले यही सन्देश दिन्छ ।