प्रतिनिधि सभाको बैठकअघि दलहरू आन्तरिक छलफलमा

बुधबार जेठ २२, २०८२/ Wednesday 06-04-25
Paschim Today

काठमाडौं । प्रतिनिधि सभाको बैठक अगाडि दलहरू आन्तरिक छलफलमा जुटेका छन् । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । त्यस अगाडि दलहरू सदनको अवरोधको विषयमा आन्तरिक छलफलमा जुटेका हुन् । सत्तापक्ष भिजिट भिसाबारे उठेको प्रश्नमा गृहमन्त्रीले संसदमा जवाफ दिन पाउनुपर्ने मागमा छ ।

विपक्षी दलहरू गृहमन्त्रीको राजीनामाको मागमा लचक भएका छन् । तर, छानबिन समिति वा आयोग बनाउनुपर्ने उनीहरूको सर्त छ । भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी रुपमा पैसा लिने गरेको र यस्तो कार्यमा गृहमन्त्रालयकै अधिकारीहरूको संलग्नता रहेको आरोप लाग्दै आएको छ । विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकमाथि नै नैतिक प्रश्न उठाएका छन् ।

यो विषयमा कुरा नमिल्दा प्रतिनिधि सभाको बैठकमा निरन्तर अवरोध भइराखेको छ । प्रतिनिधि सभाको बैठकमा अवरोध हुँदा बजेटमाथिको छलफल प्रभावित भएको छ । विपक्षी दलहरू भिजिट भिसाका नाममा अनियमितता भइराखेको सरकारले स्वीकार गरेर छानबिनका लागि तयार भए सदनको अवरोध खुल्ने बताइरहेका छन् ।

तर, सत्तापक्ष गृहमन्त्रीले आफूमाथि उठेका प्रश्नमा जवाफ दिएपछि मात्रै छानबिन गर्ने वा नगर्ने भन्ने विषयमा छलफल हुन सक्ने तर्क गरिरहेका छन् । यी दुई थरी मतका बीचमा मिलन बिन्दु के हुन सक्छ भनेर दलहरू आन्तरिक छलफलमा रहेका हुन् ।

सभामुख देवराज घिमिरेले सभाको बैठक अगाडि प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दैछन् । उक्त बैठकमा सहमति जुटे आजै प्रतिनिधि सभामा गृहमन्त्रीले जवाफ दिनेछन् ।

संसद सचिवालयकाअनुसार प्रतिनिधि सभामा बोल्नका लागि गृहमन्त्रीले यसअगाडि नै समय मागिसकेका छन् । समय मागिसकेकाले दलहरूबीच सहमति भएको खण्डमा गृहमन्त्रीले संसद्मा बोल्न पाउनेछन् ।