विधायन समितिको भ्रमणमा सभापति र सदस्यबीच लफडा, आकस्मिक बैठकपछि मुख्यमन्त्री–सभामुखसमक्ष मेलमिलापको सन्देश

कैलाली । सुदूरपश्चिम प्रदेशको विधायन तथा प्रदेश मामिला समिति ६ गते अन्तरजिल्ला भ्रमणका लागि कैलालीको टिकापुर प्रस्थान गर्यो । भ्रमण आदेश कैलाली जिल्लाको मात्र भए पनि सहमतिमा तस्बिर नखिच्ने गरी बर्दियाको ठकुरद्वारासम्म पुग्ने उनीहरूको योजना थियो ।
दिउँसो प्रदेश सभा सचिवालयकै एउटा सवारीसाधन लिएर सभापति देवानसिंह विष्ट, सदस्यहरू जुना दानी, दमन भण्डारी, जानकी ऐर बम, लक्ष्मी विक इन्दिरा गिरी र केही कार्यालयका कर्मचारीसहित टिकापुर प्रस्थान गरे।
सत्ति भन्सार अनुगमनपछि खाजा खाने भन्दै टिकापुरस्थित बनाना रिसोर्टतर्फ मोडियो भ्रमण टोली । त्यहाँ टिकापुर नगरपालिकाका केही कर्मचारी पनि थिए । खाजा खाने क्रम झन्डै तीन घण्टा बढी चल्यो । समिति सदस्य जानकी बम ऐर र लक्ष्मी विक गाडीमा गए । केही समयसम्म पनि सभापतिसहितका अन्य सदस्यहरू गाडीमा नआएपछि सदस्य लक्ष्मी विकले सभापति देवानसिंह विष्टलाई फोन गरिन् ।
‘तपाईंहरू यही बस्नुहोस्, हामी त लाग्छौँ । हाम्रो भागको पैसा कति हो दिनुहोस् हामी जान्छौँ ’ सदस्यले सभापतिलाई भनिन् ।
जवाफमा सभापतिले उनलाई थर्काउदै भने, ‘तँ सभापति कि म सभापति ? पैसा चाहिएको भए म भएको ठाउँमा आइज ।’
सदस्य विक पनि आगो भइन् । उनले पनि सभापति विष्टलाई तँ सम्वोधन गर्दै भनिन्, ‘बिचबाटैमा अलपत्र पार्ने, रक्सी खाने।’
यसरी दुबैबीच भनाभन र गालीगलौज भयो ।
‘म कहिल्यै रक्सी नखानेलाई तैँले जड्या भन्ने ? ’ सभापति जुरूक्क उठेर आए । सदस्यले फेरी जवाफ फर्काइन्, ‘तैँले नखाए पनि तेरो नेतृत्वमा आएपछि त्यसको जिम्मेवार हुनुपर्दैन ?’
झन्डै हात हालाहालको अवस्था सृजना भएपछि नजिकै रहेका अन्य सांसदहरूले रोकेका थिए ।
‘दुवैले एक अर्कालाई तथानाम भन्दै गाली गर्नुभयो’ त्यहाँ रहेका एक सांसदले भने, ‘दुवैले आफ्नो गरिमा भुल्नु भयो ।’
विवादपछि लक्ष्मी विक सोही गाडी लिएर सिद्धार्थ होटेल फर्किइन् र निजी खर्चमा धनगढी आइइन् । उनी बाहेकका अन्य सांसद र कर्मचारी टिकापुरमै बसे ।
धनगढी पुग्नुभन्दा पहिल्यै मुख्यमन्त्री कमलबहादुर शाहलाई सदस्य विकले त्यहाँ भएको विवादबारे जानकारी गराइसकेकी थिइन् । त्यस विषयमा अर्को दिन छलफल गरौला भन्दै मुख्यमन्त्रीले आश्वस्त तुल्याएका थिए । समितिको औपचारिक भ्रमणमा भएको असभ्य र अशिष्ट हर्कतका विषयमा सभापति विष्टले आकस्मिक बैठक आह्वान गरे ।
‘बैठकमा सभापतिज्यूले आफ्नो कमजोरी भएको स्वीकार गरेपछि समस्या समाधानतर्फ गयो,’ बैठकमा रहेका एक सांसदले भने, ‘पछि दुवै जना एउटै गाडीमा मुख्यमन्त्रीलाई भेट्न जानु भएको थियो ।’
माओवादी केन्द्रकी प्रमुख सचेतक गीता मालको गाडीमा दुवै जना मुख्यमन्त्रीलाई भेट्न पुगेका थिए । मुख्यमन्त्रीसँग घटना साम्य भइसकेको र दुवै मिलिसकेको सन्देश दिएर फर्किए ।
मुख्यमन्त्रीसँगै हुँदा सांसद विकले सभामुख भीम भण्डारीलाई पनि फोन गरेकी थिइन् । तर, त्यहाँ सभामुखसँग कुरा भएन । पछि फेरि सभामुखसँग भेट्न र मेलमिलाप भइसकेको सन्देश दिन दुवैजना सभामुख कक्षमा पुगेका थिए ।
कांग्रेसका तर्फबाट समितिको सभापति भएका देवानसिंह विष्ट संविधान सभा सदस्य पनि हुन् । माओवादीबाट सांसद भएकी लक्ष्मी विक माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हुन् । दुवै हक्की स्वभावका नेताका रूपमा परिचित छन् ।
स्थानीय तहसम्बन्धी विधेयक निर्माण हुँदा पनि दुबैबच सामान्य विवाद हुने गरेको समितिका सदस्यहरू बताउँछन् ।
‘स्थानीय तह सम्बन्धी विधेयकमा सभापतिज्यूले आफूले मात्रै प्रतिवेदन राख्न खोज्दा लक्ष्मी माननीय ज्यूले हामीले पनि पढ्न पाउनुपर्छ भन्नु भएको थियो । सभापतिज्यूले यहीँ पढ्नुहोस्, घर लैजान पाइँदैन भनेपछि पनि सामान्य विवाद भएको थियो,’ ती सदस्यले भने, ‘विगतमा दुबैबीच घोचपेच र विवाद भइरहन्थ्यो टिकापुरमा भने त्यसले उग्ररुप लियो । ’
अर्को पटक पनि स्थानीय तहको विधेयक छलफलकै क्रममा बहिष्कार गर्दै निस्किन लागेकी सांसद विकलाई फेरि बैठकमा बोलाइएको थियो । विगतका सामान्य घटनापछि टिकापुरमा एकैपटक दुवै जनाबीच झन्डै हात हालाहाल जस्तो अवस्था सृजना भएको हो ।
लक्ष्मी विकले भ्रमणको एजेन्डा स्पष्ट हुनुपर्ने, विधायन समितिको काम कर्तव्य र अधिकार अनुसार समिति अगाडी बढ्नु पर्ने बताउँदै आइरहेकी थिइन् । विवादपछि बसेको आकस्मिक बैठकमा पनि सभापतिले समितिलाई रुलिङ गर्न नसकेको भन्दै सदस्यहरूले आलोचना गरेका थिए ।
आकस्मिक बैठकमा सांसदले भने, ‘सभापतिबाट सुरुबाटै कमजोर नेतृत्व भइरहेको छ । त्यहाँ पनि आफ्नो गरीमा भुल्नु भयो । सदस्यज्यूले पनि सभापतिमाथि त्यसरी प्रस्तुत नभएको भए हुन्थ्यो ।’
सदस्य विकले बैठकमा लिखित रूपमा शीर्षकसहितको खर्च विवरण माग गरेकी थिइन् ।
भ्रमणमा भएको विवादबारे लक्ष्मी विकलाई प्रश्न गर्दा उनले आफूले पहिलेदेखि नै समितिमा बोल्ड कुरा राख्दै आएको सभापतिबाट केही कमजोरी हुँदै गएपछि त्यो दिन विवाद भएको बताइन् ।
‘मैले समितिको भ्रमण एजेन्डागत रूपमा हुनुपर्छ, विधायन जिम्मेवारी समिति भएको हुँदा सोही अनुसारको गतिविधि हुनुपर्छ भन्दै आइरहेको थिएँ । त्यो दिन पनि पहिलेदेखि नै मैले भ्रमणको सेड्युल मागेको थिएँ । त्यही विषयमा विवाद भयो,’ उनले भनिन्, ‘उहाँले बैठकमा आफ्नो कमजोरी भएको स्वीकार गरेपछि अहिले सबै ठिक छ ।’
उनले आफू विगतका कुनै पनि भ्रमणमा सहभागी नभएको भन्दै सरकारी भ्रमण खर्च औचित्यपूर्ण, उपलब्धिमूलक तथा पारदर्शी हुनुपर्ने बताइन् ।
यसअघि भएका भ्रमणहरूको औचित्य र खर्च विवरण पेस नगरे अख्तियारसम्म जान सक्ने उनले बैठकमै चेतावनी दिएकी थिइन् । सभापति विष्टले भने त्यस्तो कुनै विवाद नभएको बताए ।
‘त्यस्तो विवाद होइन, कहाँ बस्ने भन्ने कुरामा फरक फरक कुरा आयो । हामी त्यहीँ बस्यौं लक्ष्मी माननीयज्यू धनगढी फर्किनु भयो । फेरी हामी धनगढी पुगेर चिया खायौँझ उनले भने ।
समितिको आकस्मिक बैठक, मुख्यमन्त्री र सभामुखलाई भेटेको विषय पनि उनले सामान्य रहेको बताए । ‘यस्तै कुरा आउँछ भनेर समितिको बैठक राखिएको हो । हामी सांसद हौँ, मुख्यमन्त्री र सभामुख भेट्ने काम भइरहन्छ,झ उनले भने ।
प्रदेश सभा सदस्यहरू दैनिक भ्रमण भत्तामा टिकापुर भ्रमण गएका थिए । एउटा प्रदेश सभा सदस्यको २ हजार ५ सय रुपैयाँले सबै खर्च गर्नुपर्ने हुँदा यस्ता भ्रमणहरूमा बस्न वा खानाको बाहिरबाटै खोजी हुने गर्दछ । प्रदेश सभाको भ्रमणमा स्थानीय तहबाट पनि केही व्यवस्थापन हुन थालेको आशङ्कामा सभामुख भीम भण्डारीले चासो राखेका थिए ।
‘प्रदेश सभाको भ्रमण नितान्त प्रदेश सभाको हुनुपर्छ । स्थानीय तहलाई वा अरू कसैलाई कुनै पनि व्यवस्थापनको लागि आग्रह गरिनु हुँदैन’ उनले आफ्ना कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
तपाईको प्रतिक्रिया